आँपको अचारदेखि आँपबारे छलफलसम्म, सुरु भयो ‘म्याङ्गो फेस्ट’

समर्थ रञ्जित
२०८१ असार ७ गते १४:४२ | Jun 21, 2024
आँपको अचारदेखि आँपबारे छलफलसम्म, सुरु भयो ‘म्याङ्गो फेस्ट’


काठमाडौं। काठमाडौंमा आज नेपाल आँप फेस्ट सुरु भएको छ। ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔँ’ भन्ने नाराका साथ प्रथम नेपाल आँप फेस्ट २०८१ को वालनट बिस्ट्रो पानीपोखरीमा उद्घाटन गरिएको छ।

Tata
GBIME
NLIC

किसान भेन्चर र काठमाडौं अर्गानिक्सले संयुक्त रुपमा फेस्टको आयोजना गरेको हो। फेस्ट ९ गतेसम्म संचालन हुनेछ।

उक्त फेस्टमा सर्लाही, सप्तरी र सिराहाका ५० किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्‍न प्रजातिका आँपहरू प्रदर्शनी गरिएको आयोजकले जनाएको छ। फेस्टमा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध छन्।

सबै आँपहरू सिधा किसानबाट खरिद गरेर ल्याइने हुँदा ताजा र सस्तो पाइने आयोजकको दाबी छ। मेलामा प्राकृतिक रुपमा पाकेका र पकाइएका आँपहरू मात्र उपलब्ध छन्।

फेस्टको प्रमुख उद्देश्य नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानहरूलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्‍याउनु रहेको आयोजकले बतायो।

फेस्टमा विभिन्‍न कम्पनीका १० वटा स्टलहरू छन्, जहाँ अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायत आँपका विभिन्न उत्पादनहरू पनि प्रदर्शनीमा छन्।