भक्तपुरको नलिञ्चोक हेलिप्याडमा हेलिकप्टर ल्यान्ड, अब ह्याङ्गर हब विस्तार गरिने

बिजमाण्डू
२०८१ असार ७ गते १०:३१ | Jun 21, 2024
भक्तपुरको नलिञ्चोक हेलिप्याडमा हेलिकप्टर ल्यान्ड,  अब ह्याङ्गर हब विस्तार गरिने


काठमाडौं । नागरिक उड्डयन प्राधिकरण अन्तर्गत निर्माण भएको नलिञ्चोकस्थित हेलिप्याड आजदेखि संचालनमा आएको छ। आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले हेलिप्याडको उद्घाटन गरेका हुन्।

Tata
GBIME
NLIC

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा सो हेलिप्याड निर्माणको ठेक्का उमा एण्ड कम्पनीलाई दिएको थियो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार १५ करोड रुपैयाँमा सम्झौता भएको सो ठेक्कामा हेलिप्याड निर्माण एक वर्षभित्रै काम पुरा गर्नु उल्लेख थियो।

हेलिप्याड स्थानान्तरण भएसँगै त्यहाँ सेना, नेपाल वायुसेवा र हिमालय एयरलाइन्सका लागि ह्याङ्गर हब विस्तार गर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ‘एयर ट्राफिक कन्जेसन’ कम गर्ने उद्देश्यले नलिञ्चोकको ३३ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न स्थायी हेलिप्याड निर्माण गरेको हो। नयाँ हेलिप्याडमा एक पटकमा २७ हेलिकप्टर पार्किङ गर्न सकिनेछ।

सुरुआती चरणमा हेलिप्याड तयार पार्नका लागि १५ करोड रुपैयाँ खर्च गरिने र दोस्रो चरणको भवन संरचनाका लागि कम्तिमा थप १५ करोड रुपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ।

यो हेलिप्याड संचालनमा आएसँगै नेपालका कुनै पनि गन्तव्यमा हेलिकप्टर सेवा संचालनका लागि सहज र सुविधा हुने जनाइएको छ।

हेलिप्याड एरियामा इन्धनका लागि एउटा स्थायी ट्याङ्क, फायर फाइटिङका लागि आवश्यक छुट्टै कक्ष, यात्रुका लागि सानो टर्मिनल भवन, हेलिकप्टर कम्पनीहरुका लागि कार्यालय, कन्फेक्सनरी सप, मर्मत संभारका लागि ह्याङ्गर लगायतका सम्पूर्ण संरचनाहरु तयार हुनेछन्। यस हिसाबले यो ‘मिनि एयरपोर्ट’को सुविधासहितको हुनेछ।

हाल रहेको हेलिकप्टरको पार्किङ क्षेत्रनजिकै बुद्ध एयरले आफ्नो ह्याङ्गर संचालनमा ल्याइसकेको छ। अब यससँगै एयरबस ३२०, ३३० सिरिजका लगायत जहाज अट्ने ह्याङ्गरका लागि ठाउँ दिने तयारी रहेको प्राधिकरणले जनाएको छ।

यसअन्तर्गत प्राधिकरणले ट्यासी वे, लाइटिङ लगायतको व्यवस्था गरिदिनेछ भने ह्याङ्गर वायुसेवा कम्पनी आफैंले तयार गर्नुपर्ने प्रावधान रहेको छ। प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले आफ्नै ह्याङ्गर निर्माणका लागि चासो देखाइसकेका छन्।

हाल सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेल लगायत हेलिकप्टर कम्पनीका करिब तीन दर्जन हेलिकप्टरहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बाहिर बेस रही संचालनमा छन्।