
काठमाडौं। बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जा बढाएका छन्। बैंकहरुले स्किम ल्याएर व्यक्तिगत आवासीय कर्जा विस्तार गरेका हुन्।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासीय घर कर्जातर्फ ४१ अर्ब १९ करोड रुपैयाँ लगानी कर्जा गरेका छन्।
व्यक्तिगत आवासीय घर कर्जातर्फ गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ लगानी गरेकामा वैशाख मसान्तमा आइपुग्दा ३ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरुले मात्रै यस्तो कर्जा ३३ अर्ब रुपैयाँ बढाएका छन्। गत असार मसान्तमा २ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह गरेका वाणिज्य बैंकले वैशाख मसान्तमा आइपुग्दा त्यस्तो कर्जा ३ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँ पुर्याएका छन्।
समग्रमा कर्जा प्रवाहको वृद्धि ५ प्रतिशतमुनि रहँदा वाणिज्य बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जा ११.९२ प्रतिशतले बढाएका छन्। एकल अंकको स्थिर ब्याजदर स्किमले व्यक्तिगत आवासीय कर्जा बढेको बैंकरहरुले बताएका छन्।
सम्रग ऋण लगानीमा देखिएको सुस्तताका कारण राष्ट्र बैंकले व्यक्तिगत आवासीय घर कर्जामा खुकुलो नीति लिएपछि बैंक तथा वित्तीय संस्थाले स्किम ल्याएर लगानी बढाउन थालेका हुन्।
नबिल बैंकले ७ वर्षे अवधिको ‘नबिल ढुक्क घर कर्जा’ ८.९९ प्रतिशत, सिद्धार्थ बैंकले ५ वर्षे अवधिको घर कर्जा ९.९९ प्रतिशत र ग्लोबल आइएमई बैंकले ५ वर्षे अवधिको आवासीय कर्जा ९.९९ प्रतिशत ब्याजदरमा दिइरहेका छन्। अरु बैंकले पनि घर कर्कजाको स्किम चलाइरहेका छन्।
स्किम ल्याएर १५ वाणिज्य बैंकले यस्तो कर्जा बढाउँदा ५ बैंकको भने खुम्चिएको छ।
एनआईसी एसिया बैंकले आवासीय कर्जा सबैभन्दा धेरै ३८.४२ प्रतिशतले बढाएको छ। उसले १० महिनामा १७ अर्ब ५ करोड रुपैयाँ आवासीय कर्जा प्रवाह गरेको छ। यो रकम वाणिज्य बैंकहरुले १० महिनामा प्रवाह गरेको रकमको ५१.२५ प्रतिशत हो।
नबिल बैंकले ४ अर्ब ४९ करोड, ग्लोबल आइएमईले ३ अर्ब २१ करोड र सिद्धार्थ बैंकले २ अर्ब ४३ करोड आवासीय कर्जा बढाएका छन्। आवासीय कर्जा धेरै बढाउनेमा एनआईसी एसिया पछि सिद्धार्थ बैंक छ। उसले २७.७९ र नबिल बैंकले २१.६८ प्रतिशतले व्यक्तिगत आवासीय कर्जा बढाएका छन्।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय आवासीय घर कर्जामा केन्द्रीय बैंकले लिएको खुकुलो नीतिका कारण बैंकहरुलाई व्यवसाय बढाउन सहज भएको बताउँछन्।
व्यक्तिगत आवासीय कर्जाको जोखिम भार कम हुँदा पुँजी कोषको दबाब भएका बैंकहरुलाई व्यवसाय गर्न मद्दत पुगेको उनको भनाई छ।
‘यो वर्ष अधिकांश बैंकहरुलाई पुँजी कोषको दबाब परेको छ। रिकभरीमा समस्या बढ्दै गइरहेको अवस्थामा जोखिम भार धेरै भएको ठाँउमा लगानी बढाउने अवस्था देखिंदैन,’ उनले भने, ‘केन्द्रीय बैंकले आवासीय कर्जामा डेढ करोडको कर्जाको सीमा २ करोड पुर्याएका कारण कर्जा बढाउन सहयोग पुगेको हो। यसमा स्थिर ब्याजदरले पनि ठूलो काम गरेको छ।’
नेपाल बैंकले १० महिनामा आवासीय कर्जा १२.५२ प्रतिशत अर्थात १ अर्ब ४ करोड रुपैयाँ बढाएको छ।
गत आर्थिक वर्ष आवासीय कर्जाको वृद्धि अपेक्षा गरे अनुसार नभएपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्याएको थियो।
गत वर्ष यस्तो कर्जाको वृद्धिदर ३.१ प्रतिशतमा सीमित थियो। चालु आवमा हरेक महिना आवासीय ऋणको वृद्धिदर बढेको देखिन्छ। व्यक्तिगत आवासीय घर कर्जा साउनमा ३.२, भदौमा ४.९, असोजमा ७.७, कात्तिकमा ८.२, मंसिरमा ८.५, पुसमा ९.४, माघमा ९.३, फागुनमा १०.४, चैतमा ११.१ र वैशाखमा ११.८ प्रतिशतले बढेको छ।
एनआईसी एसिया बैंकका डेपुटी सीइओ अर्जुनराज खनियाले घट्दो ब्याजदर र बैंकहरुले ल्याएको स्थिर ब्याजदरको स्किमले आवासीय कर्जा बढेको बताए। ‘कर्जाको माग सुस्त रहेका बेला एकल अंकको स्थिर ब्याजदर स्किमले आवासीय कर्जा बढ्न पुगेको छ,’ उनले भने।
प्रभु, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड र हिमालयन बैंकको आवासीय कर्जा लगानी भने खुम्चिएको छ।