वर्षामा सडक खन्न रोक, असार १ गतेदेखि भदौ मसान्तसम्म स्वीकृति नपाइने

बिजमाण्डू
२०८१ जेठ ३० गते ०९:३१ | Jun 12, 2024
वर्षामा सडक खन्न रोक, असार १ गतेदेखि भदौ मसान्तसम्म  स्वीकृति नपाइने


काठमाडौं। हरेक वर्ष जस्तै यसपटक पनि वर्षायाममा सडक खन्ने स्वीकृति नपाइने भएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै यस्तो जनाएको हो।

Tata
GBIME
NLIC

सूचनामा भनिएको छ, ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०८१ असार १ गतेदेखि भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन। कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ।’

वर्षायाममा सडक खन्ने स्वीकृति दिँदा सडक झन बिग्रने गरेकाले यस्तो व्यवस्था गर्ने गरिएको छ। तर सरकारका विभिन्न निकायबीच समन्वय नहुँदा कालोपत्रे गरिएलगत्तै धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खनेको देख्न पाइनु नौलो छैन।

काठमाडौं उपत्यकासँगै विभिन्न स्थानमा बिजुलीका तार भूमिगत गर्ने काम चलिरहेको छ। जसलाई सडक सुपरिवेक्षण कार्यालयको बन्देज लागू भएको अवस्थामा तीन महिना काम रोकिने छ।