काठमाडौं। नियमित उडान गर्नका लागि बुद्ध एयरलाई सिक्किमको पाकयोङ विमानस्थलले फेरि प्रस्ताव गरेको छ। गत साता दोस्रो पटक प्रस्ताव आएपछि बुद्धले आफ्नो तर्फबाट सम्भाव्यता अध्ययन थालेको छ।
सिक्किमको पाकयोङ विमानस्थलको भौगोलिक संरचना, लोड पेनाल्टी, सञ्चालन खर्च, धावनमार्ग लगायत विषयमा अध्ययन गरिरहेको बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले जानकारी दिए।
काठमाडौं र भद्रपुरमध्ये एक ठाउँबाट सिक्किममा उडान गर्नका लागि बुद्धले सम्भाव्यता अध्ययन गरिरहेको हो। प्राविधिकका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकयोङ विमानस्थलसम्मको उडान दूरी ५० मिनेटको छ।
‘पाकयोङ विमानस्थल तयारी भएको सुरुवाती चरणमै पनि हामीलाई नियमित उडान गर्न प्रस्ताव आएको थियो। दोस्रो पत्र आएपछि अहिले सम्भाव्यता अध्ययनको काम गरिरहेका छौं। अध्ययन प्रतिवेदन अर्को साता आउँछ। त्यसपछि उडान गर्ने/ नगर्ने टुंगो लाग्नेछ,’ जोशीले भने।
यस्तो छ पाकयोङ विमानस्थल
पाकयोङ विमानस्थल भारतमा उच्चस्थानमा रहेका पाँचमध्ये एक विमानस्थल हो। भारतको उत्तर-पूर्वतर्फ रहेको यो विमानस्थल सन् २०१८ अक्टोबर ४ बाट सञ्चालनमा आएको हो। २०१ एकडमा रहेको यो विमानस्थल समुद्र सतहदेखि ४ हजार ६४६ फिट उचाइमा छ।
यो विमानस्थल चीनबाट ६० किलोमिटर दूरीमा अवस्थित छ। हाल यो विमानस्थलमा स्पाइस जेटले नियमित उडान गर्दै आएको छ।
१.७५ किलोमिटर धावनमर्ग रहेको विमानस्थलमा ११६ मिटर लम्बाइको ट्याक्सी-वे छ। विमानस्थलले बुद्ध एयरलाई पठाएको प्रस्तावअनुसार उडान हुन सके दुवै मुलुकको पर्यटन प्रवर्धनमा टेवा पुग्ने छ।
नेपाल-सिक्किम ओहोरदोहोर गर्ने यात्रुले अहिले बस र निजी सवारीसाधन प्रयोग गर्दै आएका छन्। नियमित उडान सुरु भए यात्रुलाई सहज हुनेछ। तेस्रो देशका पर्यटकले पनि भ्रमणका लागि हवाई सेवा प्रयोग गर्न सक्ने छन्।
आन्तरिक उडान गर्दै आएका निजी क्षेत्रका नेपाली वायुसेवामध्ये हाल बुद्धले मात्र अन्तर्राष्ट्रिय नियमित उडान गर्दै आएको छ। यो कम्पनीले सातामा सोमबार र शुक्रबार काठमाडौं-बनारस उडान गर्दै आएको छ।
आउँदो सेप्टेम्बरबाट बनारसमा सातामा तीन उडान गर्ने बुद्ध एयरको तयारी छ। बुद्धले जनकपुरबाट अयोध्यामा पनि नियमित उडान गर्न चाहेको छ।
कम्पनीसँग हाल १४ वटा एटीआर-७२ र ३ वटा एटीआर-४२ जहाज छन्।