
काठमाडौं। २८५ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना माथिल्लो तमोरमा लगानी जुटेको छ। निजी क्षेत्रबाट लगानी गर्न लागिएको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा विभिन्न ८ वटा वित्तीय संस्था लगानी गर्न तयार भएका छन्।
५५ अर्ब १५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजनामा बैंक तथा वितीय संस्थाले एभरेष्ट बैंकको नेतृत्वमा ३८ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएका हुन्। आयोजनामा कृषि विकास, प्रभु, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंक कामना सेवा र गरिमा विकास बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गर्ने छन्।
ऋण लगानी गर्ने सम्बन्धमा बिहिबार काठमाडौंमा सम्झौता भएको छ। सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रि रघुवीर महासेठ र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र प्रवर्धक कम्पनी तमोर इनर्जीबीच सम्झौता भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने भनिएपनि उनी कार्यक्रममा सहभागी भएनन्। यस्तै ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत पनि अनुपस्थित थिए।
प्रवर्धक कम्पनीका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगाना र ऋण लगानीकर्ता बैंकका तर्फबाट एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौतामा हस्ताक्षर गरे।
आयोजनामा १६ अर्ब ५५ करोड रुपैयाँ स्वपुँजीमार्फत जुटाइने प्रवर्धक कम्पनी तमोर इनर्जी प्रालिले जनाएको छ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद बिक्री सम्झौता(पीपीए) गरिसकेको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा पर्ने आयोजनामा ५७ मेगावाट क्षमताका ५ वटा पेल्टन टर्बाइन जडान हुनेछन्।
८ लाख घनमिटर पानी सञ्चित गर्ने क्षमताको मुख्य पोखरी, करिब ८.७ किलोमिटर लामो भूमिगत हेडरेस टनेल र भूमिगत पावरहाउस फक्ताङलुङ गाउँपालिकामा रहने छन्। टेलरेस भने फुङलिङ नगरपालिकामा रहनेछ। आयोजना २०८५ जेठ १९ सम्म निर्माण गरिसक्ने लक्ष्य छ।
आयोजनाबाट वार्षिक १६५५ गिगावाटआवर विद्युत उत्पादन हुने अनुमान छ। आयोजनाबाट उत्पादित विद्युत २२० केभीको करिब १५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा जोडिने छ।
तमोर इनर्जीले अहिले ३७.५ मेगावाट क्षमताको तमोर-५ र २१ मेगावाट क्षमताको पालुनखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उसले निर्माण गरेका ४४ मेगावाटको सुपर मादी, १५ मेगावाटको हेवा खोला ए र १ मेगावाटको पाती खोला जलविद्युत आयोजना हाल सञ्चालनमा छन्।