समय यस्तो आयो की पर्स घरमै वा कतै छुट्यो, साथमा कागजी नगद छैन भने पनि पैसाको लेनदेन असहज छैन। कागजी नोट नभए पनि मोबाइल साथमा भए कारोबार चल्छ। मोबाइल बैंकिङ एप र डिजिटल वालेटले यो सहजीकरण गरिदिएको हो।
एटीएमबाट पैसा झिक्न पनि अब डेबिट/क्रेडिट कार्ड चाहिँदैन, कार्डलेस प्रविधि मोबाइलमै आधारित छ। भुक्तानी कारोबार डिजिटल प्रविधिमा निकै बढेपछि मुलुकमा डिजिटल बैंक स्थापनाको आवश्यकता चर्चामा छ।
नेपाल राष्ट्र बैंकबाट जारी गत आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा नेपालमा पूर्ण डिजिटल बैंक स्थापना गर्न प्रचलित सम्बन्धित कानुनहरुमा संशोधन तथा अन्य विशेष ऐन तर्जुमा र संस्थागत संरचना तयार गर्न आवश्यक कार्य गरिने उल्लेख भएको थियो।
यस लेखमा नेपालमा डिजिटल बैंक स्थापना सम्बद्ध केही सान्दर्भिक विषयहरुको चर्चा गरिएको छ।
डिजिटल बैंक र डिजिटल बैंकिङ : बुझ्नुपर्ने भिन्नता
सुरुमै प्रष्ट पारौं कि चर्चा गर्न खोजिएको विषय डिजिटल बैंक (डिजिटल-वन्ली) हो, न कि डिजिटल बैंकिङको । मोबाइल बैंकिङका माध्यम वा वालेटबाट कोही कसैलाई विद्युतीय रुपमा रकम भुक्तानी वा रकमान्तर गरिदियो डिजिटल बैंकिङ भइहाल्यो। त्यस्तै, हामीकहाँ केही बैंकहरुले सानो सानो रकमको, मानौं २ लाख रुपैयाँ सम्मको कर्जा मोबाइल एपबाटै माग गर्न सकिने र तत्कालै उपलब्ध हुने व्यवस्था पनि मिलाइसकेका छन्। यसरी हेर्दा डिजिटल बैंकिङ त अहिले धेरथोर उपलब्ध भइरहेकै छ र हामी त्यसको उपभोग पनि गर्दैछौं।
यहाँ चर्चा गर्न खोजिएको चाहिँ पूर्ण डिजिटल (डिजिटल-वन्ली) बैंक अर्थात् भौतिक संरचनाभित्र बसेर परम्परागत ढंगले गरिने बैंकिङ नगर्ने तर डिजिटल बैंकिङको मात्र काम गर्ने संस्थाको हो।
खासमा के हो डिजिटल बैंक ?
सिधा अर्थमा भन्नुपर्दा डिजिटल बैंक (यदाकदा भर्चुअल बैंक वा निओ बैंक पनि भन्ने गरिएको) भनेको त्यस्तो बैंक हो, जसले आफ्ना बैंकिङ सेवा सुविधाहरु केवल डिजिटल प्लेटफर्म अर्थात् विद्युतीय मञ्चका माध्यमबाट मोबाइल, आइप्याड/ट्याबलेटहरुमा उपलब्ध गराउँदछ। यसका सेवा सुविधाहरु २४×७ अर्थात् निरन्तर र तत्काल (रियल टाइममा) उपलब्ध हुने गर्दछ। यसमा भव्य भौतिक संरचनाको कल्पना गरिएको हुँदैन, बरु पूरै बैंक नै मानौं एउटा मोबाइलमा समाहित भएको मानिन्छ। भनेपछि, खाता खोल्न, रकम जम्मा गर्न, रकमान्तर गर्न, कर्जा लिन आदि तोकिएका सुविधाहरु आफू जहाँ छ, त्यहीँबाटै लिन सकिन्छ। कहीँ जानु परेन, कसैलाई भौतिक रुपमा भेटघाट तथा कागजी लेनदेन गर्नु परेन।
परम्परागत शैलीको बैंकिङमा रमाइरहेका हामीहरुको मनमा स्वाभाविक प्रश्न उठ्छ त्यस्तो पनि बैंक हुन्छ? कसरी विश्वास गर्ने? तर भइरहेकै छ। विश्व बैंकिङ बजारमा यस्ता डिजिटल बैंकको पदचाप परिसकेको छ र द्रुत गतिमा अघि बढ्दो पनि छ। उदाहरणका लागि स्टार्लिङ, मन्जो, रेभोलुट नाम गरेका बेलायती डिजिटल बैंकहरु हुन्।
कार्य परिवेश तथा प्रकृति कस्तो हुने ?
डिजिटल बैंकहरुमा अत्यन्तै सुदृढ र मजबुत सूचना तथा कम्प्युटर प्रणाली जडान गरिएको हुन्छ र यसलाई हरप्रकारको आक्रमणबाट अभेद्य बनाउन भरपूर प्रयास गरिएको हुन्छ। यिनीहरुको तथ्यांक प्रशोधन र भण्डारण भर्चुअल/क्लाउड-बेस्ड हुने गरेको मानिन्छ। यिनीहरुको तथ्यांकहरु निरन्तर र तत्काल अद्यावधिक भइरहेका हुन्छन् र, सोही बमोजिम सेवाग्राहीहरुलाई आवश्यक सूचना सम्प्रेषित गरिरहेका पनि हुन्छन्।
सेवाग्राहीले पनि इन्टरनेट आदिका माध्यमद्वारा विश्वका जुनसुकै कुनाबाट बैंकले उपलब्ध गराएका सेवा सुविधा लिन सक्दछन्। विशेषतः सानो स्तरको (नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा मानौं ५ लाख रुपैयाँ सम्मको) रकमको कारोबार र बिल भुक्तानीहरु गर्ने कारोबारहरुमा यस्ता बैंकहरुले विशिष्टिकृत सेवा दिन सक्दछन्।
आकर्षणका खास बुँदाहरु
बैंक स्थापनाका लागि भौतिक संरचना लगायतमा ठूलो लगानी गर्न नपर्ने, कार्यालय सञ्चालन खर्चहरु न्यून हुने र यसरी समग्र लागतमा बचत हुन जाने, फलस्वरुप सेवाग्राहीले न्यून रकममै सेवा सुविधा उपभोग गर्न पाउने, तुलनात्मक रुपमा सस्तो ब्याजदरमै ऋण पाइने, छिटो छरितो ढंगले काम सम्पादन भइजाने, आफ्नो माग सुहाउँदो जहाँकहीँबाट जुनसुकै बखत सेवा सुविधा लिन पाइने इत्यादि यस प्रकारका बैंकका प्रमुख आकर्षण हुन्।
साथै, आधुनिक प्रविधिसँग सिधै जोडिएको विषय हुनाले नित नवीनतम खोज कार्य भइ सोको प्रतिफल समग्र बजारले पाउने, बैंकमा पहुँच नभएका वा बैंक जान झन्झट् मान्नेहरु (खास गरी-जेनरेसन जी) लाई समेत एक उपयुक्त बैंकिङ विकल्प भएकाले वित्तीय समावेशीकरणमा सहयोग पुग्न जाने, बजारमा स्वस्थ प्रतिष्पर्धा बढ्न गइ दक्षता अभिवृद्धि हुने र बैंकिङ क्षेत्रमा एक नयाँ मानक नै स्थापना हुन जाने इत्यादि यसका अन्य प्रमुख आकर्षणहरु हुन्।
व्यवसायिक भनिने घराना तिनै हुन्, प्रवृत्ति त्यही हो। नपाउँदासम्म ‘देशमा गरि खान दिएनन्’ भन्ने पाएको भोलिपल्ट ‘यो के बेथिति गरेको होला’ भन्दै उपदेश दिन तम्सने।
चुनौती के के छन् ?
प्रथमतः मानवीय संवेदनाकै कुरा गरौं। अहिलेसम्म हामीले जानेको बुझेको बैंक भनेको एउटा निश्चित सुरक्षा घेराभित्र रहेको स्थायी भौतिक संयन्त्र, जहाँ गएर प्रत्यक्ष भेटघाटमार्फत नगद राख्ने झिक्ने लगायतका बैंकिङ कारोबार गर्न सकियोस्, केही परेको कुरा राख्न सकियोस् भन्ने हो। अब, त्यस्तो वस्तुगत परिस्थिति नहुने र यान्त्रिक वातावरणकै मात्र भर पर्नुपर्ने भएपछि विश्वासको संकट त किंचित महसुस हुने नै भयो। ट्याक्सी चढ्दा त घर कहाँ हो, कति कमाइ हुन्छ भनि चालकसँग गफिनुपर्ने हामीलाई, मानौं मोबाइल मेसेजकै भरमा आफ्नो कमाइ फुत्त राखिदिन सकसै होला।
अब अर्कोतर्फ, डिजिटल बैंक सम्बन्धित ऐन कानुन नीतिनियम तर्जुमा नभएको, भर्चुअल कारोबारलाई कानुनी मान्यता दिने प्रचलन स्थापित भइनसकेको, ग्राहकका विशिष्ट पहिचानका लागि आधारस्तम्भ नबनिसकेको र यसरी एउटा इकोसिस्टम तयार नभएको अवस्था छ। बजारमा एक अर्को धार के पनि छ भने हामीलाई छुट्टै डिजिटल बैंक किन चाहियो? विद्यमान बैंकहरुले नै अहिले उपलब्ध डिजिटल बैकिङ कारोबारलाई अझै परिष्कृत र फराकिलो बनाउँदै लगे भइगयो त।
हुन पनि हामीकहाँ चल्ने हावा यस्तो छ कि नयाँ डिजिटल बैंकका लागि अनुमतिपत्रको विषय प्रवेश नहुँदै बजारमा एउटा अस्वाभाविक उभार देखिन थाल्दछ। व्यवसायिक भनिने घराना तिनै हुन्, प्रवृत्ति त्यही हो। नपाउँदासम्म ‘देशमा गरि खान दिएनन्’ भन्ने पाएको भोलिपल्ट ‘यो के बेथिति गरेको होला’ भन्दै उपदेश दिन तम्सने।
कसो गर्दा उचित ?
प्रविधिमा नयाँ नयाँ आयाम थपिदै जानुपर्दछ र यसमा कहिँ कतैबाट अवरोध पर्न हुन्न। आइपरेका विषयलाई यथोचित सम्बोधन गर्दै समग्र प्रणालीको हितमा समाहित र सम्बर्धन गर्दै जानुपर्दछ। बैंकिङ कारोबार गर्दै गर्दा कसैले आत्मीय भावना, परम्परागत मूल्य मान्यताको बढी अपेक्षा राख्लान् भने कसैले छिटो छरितोपनमा जोड देलान्। यो स्वभाविक पनि हो। फेरि एकले अर्कोलाई नकार्न पर्दछ भन्ने पनि होइन।
सानातिना दैनिक कारोबारका लागि डिजिटल बैंक उपयुक्त हुन सक्दछ भने घरजग्गा किन्ने, ठूला ठूला लगानी कारोबार गर्ने हो भने विद्यमान प्रचलित बैंक नै उपयुक्त हुन सक्दछ। यसरी स्वस्थ सहअस्तित्व नै वर्तमानको अपरिहार्यता पनि हो।
कँडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।