कुलमानले औद्योगिक क्षेत्रमा बढाए लोडसेडिङ, दैनिक १५ घण्टासम्म बिजुली नहुँदा कसरी चलिरहेका छन् उद्योग?

जनक वली
२०८१ जेठ ११ गते ०६:१२ | May 24, 2024
कुलमानले औद्योगिक क्षेत्रमा बढाए लोडसेडिङ, दैनिक १५ घण्टासम्म बिजुली नहुँदा कसरी चलिरहेका छन् उद्योग?

काठमाडौं । दैनिक १५ घण्टासम्म बिजुली कटौती हुन थालेपछि उद्योग मारमा परेका छन्। भैरहवा, वीरगंज, विराटनगर लगायत औद्योगिक क्षेत्रका उद्योग मारमा परेका हुन्।

Tata
GBIME
NLIC

भारतबाट सीमित समयका लागि बिजुली आयात हुने र आन्तरिक उत्पादन पनि नबढेका कारण नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा अहिले दैनिक १२ घण्टा लोडसेडिङ गर्दै आएको छ।

वीरगंज औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा बिजुली दिने तालिका प्राधिकरणले बनाएको छ। तर, त्यसमा पनि तीन घण्टा थप बिजुली काटिन्छ। हाल उद्योगले दैनिक ९ घण्टा मात्रै बिजुली पाइरहेका छन्।

वीरगंज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष हरि गौतमले दैनिक ९ घण्टा बिजुली आइरहेको र त्यसले सबै उद्योगको उत्पादन प्रणाली तहसनहस भएको बताए।

‘दैनिक तीन सिफ्टमा उद्योग चल्छन्। त्यसका लागि कामदार राखिएको हुन्छ। तर अहिले प्राधिकरणले बिजुली दिन नसकेपछि दुई सिफ्टमा पनि चलाउन सकेका छैनौं,’ उनले भने, ‘बिजुलीका कारण धेरै उद्योग समस्यामा परेका छन्।’

उनका अनुसार प्रसारण लाइन नभएकाले बिजुली आपूर्ति हुन सकेको छैन। उद्योगका लागि दैनिक ३०० मेगावाट बिजुली चाहिने भए पनि प्रसारण लाइन नहुँदा डेढ सय मेगावाट मात्रै आपूर्ति भइरहेको गौतमले जानकारी दिए।

बिजुली कम गरिँदा सिमेन्ट, छड, औषधि, कुखुराको दानादेखि खाद्यान्न उद्योगसम्म प्रभावित भएका छन्। वीरगंजजस्तै हालत विराटनगरको पनि छ।

मोरङ- सुनसरी औद्योगिक कोरिडरका उद्योगले दैनिक १२ घण्टा बिजुली पाउँदैनन्। मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले बिजुली अभावले सबै उद्योगको उत्पादन ५० प्रतिशतले कटौती भइरहेको जानकारी दिए।

उनका अनुसार पूर्वाञ्चलमा दैनिक २६० मेगावाट बिजुली चाहिन्छ। तर, प्राधिकरणले डेढ सय मेगावाटभन्दा बढी दिन सकेको छैन।

राठीले बिजुली आपूर्ति सहज नहुँदा उत्पादन लागत बढेको भन्दै विदेशी सामानसँग प्रतिस्पर्धा गर्न थप चुनौती थपिएको बताए। उनका अनुसार बिजुलीकै कारण कामदार व्यवस्थापन पनि जटिल बनेको छ।

‘बिजुली नभएपछि कामदार फूर्सदिला भएका छन्। उनीहरुलाई कामविनै तलब दिनु परेको छ,’ उनले भने, ‘कामदार निकालौं भने भोलिका दिनमा फेरि चाहिन्छ।’

यस्तै, अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले भैरहवा क्षेत्रमा पनि दैनिक कम्तिमा १२ घण्टा लोडसेडिङ भोग्नु परिरहेको बताए। उनका अनुसार बिजुली नहुँदा उद्योगको उत्पादन ७० प्रतिशतसम्म घटाउनु परेको छ।

‘निर्माण सामग्री चैत, वैशाख, जेठमा बढी बिक्री हुने हो। यही बेला १२ घण्टा लोडसेडिङ भइरहेको छ,’ उनले भने, ‘आर्थिक मन्दीले समस्यामा परेका बेला प्राधिकरणले बिजुली नदिएर थप संकटमा पारेको छ।’