यो वर्ष नाडा इभी अटो शो नहुने, भदौ अन्तिमतिर नाडा अटो शोमात्रै गर्ने तयारी



बिजमाण्डू
२०८१ जेठ १० गते १०:२४ | May 23, 2024
यो वर्ष नाडा इभी अटो शो नहुने, भदौ अन्तिमतिर नाडा अटो शोमात्रै गर्ने तयारी

काठमाडौं। यो वर्ष नाडा इभी अटो शो नहुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको गत वैशाख ९ गते बसेको कार्यसमिति बैठकले नाडा इभी अटो शो गर्ने तयारी गरेको थियो।

Tata
GBIME
Zonsen

त्यही अनुसार नाडाले यसका लागि दुई वटा मिति तय गरी अटो व्यवसायीहरूसँग सुझाव संकलन अर्थात सर्वे गरेको थियो। उक्त सर्वे अनुसार यही अवस्थामा दुई वटा अटो शो लगातार गर्न नसकिने निचोड आएपछि नाडा इभी अटो शो आयोजना गर्ने कुराबाट पछि हटेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए।

‘हामीले इभी अटो शो गर्न साथीहरूसँग छलफल र सर्वे गरेका थियौँ। तर उक्त छलफल र सर्वे अनुसार अब इभी अटो शो भन्दा भदौ अन्तिमतिर हुने नाडा अटो शो नै गर्दा बेस्ट हुने प्रतिकृया आएको छ,’ उनले भने, ‘जुन अटो शो गरेपनि अब इभीको बाहुल्यता धेरै हुने भएकाले वर्षौदेखि गरिँदै आएको नाडा अटो शो नै गर्ने तयारी छ।’

गत वर्ष २०७९ असोज ६ गतेदेखि नाडा इभी शो आयोजना गरिएको थियो। यस्तै, २०८० भदौ मा नाडा अटो शोको आयोजना गरिएको थियो। उक्त अटो शोमा पनि सबैभन्दा धेरै इभीको प्रर्दशनी गरिएको थियो।

यो पटकको नाडा अटो शोमा पनि त्यही अनुसार इभीमय हुने निश्चित छ। नयाँ-नयाँ मोडलको इभी गाडी भित्रिने क्रम बढ्दो छ।