
काठमाडौ। चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले विद्युतीय माइक्रो किङलङको नयाँ शोरुम काठमाडौंको पानीपोखरीमा संचालनमा ल्याएको छ। शोरुमको किङलङका चेयरम्यान लिउ झिजुनले मंगलबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेका हुन्।
यसअघि कम्पनीले नक्सालमा रहेको भाटभोटेनी नजिकको शोरुमबाट उक्त गाडीहरु बिक्री गर्दै आइरहेको थियो। तर उक्त स्थानमा हिरो बाइक तथा स्कुटर बिक्री गर्ने भएपछि पानीपोखरीमा नयाँ शोरुम निर्माण गरिएको हो।
उक्त शोरुमबाट किङलङ १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी ४ वटा भेरिएन्टमा उपलब्ध हुनेछ। यी गाडीहरुका सीएएटीएल ब्याट्री प्रविधिको प्रयोग गरिएको छ। यसमा भएका ब्याट्री प्याकहरुले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा भएको मोटरले ३१० एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ।
किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ५०.२३ केडब्लुएचको ब्याट्री प्रदान गरिएको छ। साथै उक्त गाडीमा एबिएस, इबिडी, १८० एमएम, ग्राउण्ड क्लियरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसीजस्ता विशेषता रहेका छन्।
किङलङ १६ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ५३.५८ केडब्लुएचकोको ब्याट्री प्रयोग गरिएको छ। साथै गाडीमा १५ इन्चको टायर पाउन सकिन्छ। यसमा पनि एबीएस, सेन्ट्रल लकिङ, एसी, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर विथ बजर, एभीएएस. जस्ता विशेषताहरू उपलब्ध छ।



किङलङ १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेगमेन्ट अन्तर्गत पर्द्छ। यसमा ७७.२८ केडब्लुएचकोको ब्याट्री राखिएको छ। साथै, गाडीमा २२० एमएमको ग्राउण्ड क्लियरेन्स, १६ इन्चको टायर, एबीएस, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर, एभीएएस, सेन्ट्रल लकिङ, एसी, एलईडी, डीआरएल विथ प्रोजेक्टर हेडल्याम्प जस्ता विशेषताहरू छन्।
किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ब्याट्री र मोटरमा २ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलहरुमा ४ लाख किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टी पाउन सकिने कम्पनीले जनाएको छ।