काठमाडौं। संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसले संसदमा गरिरहेको अवरोधलाई हटाउने विषयमा कुराकानी भएको घिमिरेको सचिवालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको कांग्रेसले धन्यवादको प्रस्ताव टेबुल गर्न दिएको थिएन। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ।
समिति गठनलाई लगातार टार्दै आएको सरकार नीति तथा कार्यक्रम प्रस्तुतिको कार्यसूची नै बिथोलिने संशयमा थियो। बाक्लो छलफल चलिरहँदा नीति तथा कार्यक्रम प्रस्तुत गर्न भने कांग्रेस लचिलो बनेको थियो। मंगलबार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि भने कांग्रेस सांसदहरु दुवै सदनमा नाराबाजीमा उत्रिएका थिए। जसले दुवै सदनका बैठक स्थगित भएको थियो।
नीति तथा कार्यक्रममा ‘सहकारी’को विषय नै नछुनु सहकारीको रकम अपचलन गर्नेलाई जोगाउने सरकारको नियत देखिएको प्रतिक्रिया कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दिएका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको मागमा असहमति जनाउँदै आएको सरकारले संसद बैठक नियमित गराउन पुनः छलफल गर्ने संकेत देखिएको छ।