दिल्लीसँग पराजित भएपछि लखनउ बाहिरियो, राजस्थान बन्यो प्लेअफ पुग्ने दोस्रो टोली

बिजमाण्डू
२०८१ जेठ २ गते ०७:०३ | May 15, 2024
दिल्लीसँग पराजित भएपछि लखनउ बाहिरियो, राजस्थान बन्यो प्लेअफ पुग्ने दोस्रो टोली
दिल्लीका कप्तान ऋषभ पन्त र लखनउका केएल राहुल। तस्बिर: आईपीएल

राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्न सफल भएको छ। गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टलाई हराएसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको राजस्थान प्लेअफ पुग्ने पक्का भएको हो।

Tata
GBIME
NLIC

शीर्षस्थानको कोलकाता नाइटराइर्स यसअघि नै प्लेअफ पुग्ने पक्का भइसकेको छ। योसँगै प्लेअफको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा रोचक बनेको छ।

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा गएराति सम्पन्न खेलमा घरेलु टोलीले लखनउलाई १९ रनले हराएको थियो।

उक्त खेलमा लखनउका कप्तान केएल राहुलले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो। दिल्लीका लागि अभिषेक पोरलले ५८, साइ होपले ३८ तथा ऋषभ पन्तले ३३ रन बनाउँदा त्रिस्टन स्टुब ५७ र अक्षर पटेल १४ रनमा अविजित रहे।

बलिङतर्फ लखनउका नवीन उल हकले २ विकेट लिँदा अश्रद खान र रवि विश्नोइले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउ ९ विकेट गुमाएर १८९ रनमा समेटियो। लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाउँदा अश्रद खानले अविजित ५८ तथा क्रुणाल पाण्ड्याले १८ रन बनाए पनि अन्य ब्याटर नचल्दा टोलीलाई लक्ष्यसम्म लैजान सकेनन्।

बलिङतर्फ दिल्लीका इशान्त शर्माले ३ विकेट लिँदा खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र त्रिस्टन स्टुब्सले समान १ विकेट लिए।

जितसँगै दिल्लीको प्लेअफ सम्भावना झिनो गणीतिय रुपमामात्र जीवित छ। १४ वटै खेल खेलेको दिल्लीको अंकतालिकामा १४ अंक छ। १३ खेलबाट १२ अंक बनाएको लखनउको भने प्लेअफको सम्भावना सकिएको छ।

आईपीएलमा आज राजस्थान रोयल्स र पञ्जाव किंग्स भिड्दैछन्। राजस्थान प्लेअफमा पुगिसकेको र पञ्जाव बाहिरिसकेको अवस्थामा यो खेलले समीकरणमा ठूलो प्रभाव पार्दैन।