गोयन्का ग्रुप खेलकुदमा लगानी गर्ने व्यापारिक घरानामध्येमा पर्छ। इण्डियन सुपर लिग क्लब मोहन बगान फुटबल क्लब, आईपीएल क्लब लखनउ सुपर जायन्ट र दक्षिण अफ्रिकाको टी-२० लिगमा डर्बान सुपर जायन्ट गोयन्का ग्रुप मातहतका हुन्।
दुई संस्करण आईपीएल खेलेको राइजिङ पूणे सुपर जायन्ट पनि यही समूहको स्वामित्वमा थियो। खेलकुदबाहेक यो समूहले इनर्जी, रिटेल, मनोरञ्जन लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। फोर्ब्सका अनुसार सञ्जीव गोयन्काको नेटवर्थ ३.४९ बिलियन अमेरिकी डलर छ।
गोयन्का ग्रुपले आईपीएलमा एकपछि अर्को गरी आलोचना बेहोरिरहेको छ। सन् २०१७ मा कन्ट्रोभर्सीमा परेको गोयन्का ग्रुप यसपालिको आईपीएलमा फेरि विवादित बनेको छ।
सन् २०१७ मा हर्ष गोयन्का आफ्नो टोली राइजिङ पुणेमा कप्तान महेन्द्रसिंह धोनीसँगको व्यवहारले आलोचित बनेका थिए। उनकै भाइ सञ्जीव गोयन्का अहिले लखनउ सुपर जायन्टका कप्तान केएल राहुलसँगको व्यवहारले विवादमा परेका छन्। सञ्जीव लखनउ सुपर जायन्टका मालिक हुन्।
केएल राहुलसँगको कन्ट्रोभर्सी के हो?
हर्षका भाइ सञ्जीवको केएल राहुलसँगको कन्ट्रोभर्सी जारी संस्करणको आईपीएलमा आएको हो। मे ८ मा सनराइजर्स हैदराबादविरुद्धको खेलमा लखनउ सुपर जायन्टले १० विकेटले पराजित भयो। नराइजर्स हैदराबादले लक्ष्य भेट्टाउन १० ओभर पनि पूरै खेल्नु परेन।
खेलपछि एउटा क्लिप सार्वजनिक भयो जसमा सञ्जीव केएलप्रति आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए। केएलसँगको प्रस्तुतिलाई ‘गैरव्यावसायिक’ र ‘अपरिपक्व’ भनेर क्रिकेट वृत्तमा सञ्जीवको आलोचना भइरहेको छ।
भारतीय सञ्चारमाध्यमले यो संस्करणपछि राहुलले कप्तान छाड्ने दाबी गरिरहेका छन्। पीटीआईको एक रिपोर्ट अनुसार सन् २०२५ को मेघा अक्सनअघि लखनउले राहुललाई रिटेन गर्ने सम्भावना कम छ।
‘दिल्लीसँगको खेलका लागि पाँच दिनको ग्याप छ। अहिलेसम्म केही निर्णय त भएको छैन तर राहुल बाँकी दुई खेलमा ब्याटिङमा मात्र केन्द्रित हुने सोचमा रहेको र व्यवस्थापनले यसलाई सहज हिसाबले लिएको बुझिएको छ,’ स्रोतको हवाला दिँदै पीटीआईले लेखेको छ।
के थियो धोनीसँगको कन्ट्रोभर्सी?
सन् २०१७ मा पूणे सुपर जायन्टले कप्तान महेन्द्रसिंह धोनीलाई एकाएक हटायो। आईपीएलमा त्यतिबेला पूणे सुपर जायन्टको दोस्रो वर्ष वर्ष थियो। क्लब व्यवस्थापनले धोनीलाई हटाएर स्टिभ स्मिथलाई कप्तान बनायो।
‘धोनीले पद त्यागेका होइनन्। हामीले स्टिभ स्मिथलाई आगामी सिजनका लागि कप्तान नियुक्त गरेका हौं। स्पष्टरूपमा भन्नुपर्दा, हाम्रो गत सिजन राम्रो थिएन। हामी युवा खेलाडीले टोलीको नेतृत्व गरुन् भन्ने चाहन्छौं,’ हर्षले त्यसबेला भने।
उनले धोनीप्रति अपमानजनक ट्वीट गर्दै स्मिथलाई कप्तान बनाउने निर्णय सही भएको बताए। ‘स्मिथले जंगलको राजा को हो? भनेर प्रमाणित गरेका छन्। उनले कप्तानी इनिङ्स खेलेर धोनीलाई छायाँमा पारेका छन्। उनलाई कप्तान नियुक्त गर्ने सही कदम,’ उनले ट्वीट गरेका थिए।
यो ट्वीटले हर्षले सामाजिक सञ्जालमा आलोचना खेप्नुपर्यो। त्यसबेला चेन्नइ सुपर किंग्स र राजस्थान रोयल्स बेटिङ स्क्यान्डलमा दुई वर्ष प्रतिबन्धमा पर्दा धोनी पूणे पुगेका थिए।
टीम मालिक र खेलाडीबीचको सम्बन्ध
सञ्जीव केएलबीचको कन्ट्रोभर्सीलाई लिएर सामाजिक सञ्जाल तातिरहँदा टिम मालिक र खेलाडीबीचको सम्बन्ध कस्तो हुने? भन्ने बहस चलिरहेको छ।
कोलकाता नाइट राइटर्सका पूर्व टिम डाइरेक्टर जोय भट्टाचार्य भारतीय अखबार इकोनमिक टाइम्समा क्रिकेटको कमर्स र व्यावसायिकता फरक भएको भन्दै सञ्जीवले लाइन क्रस गरेको मान्छन्।
‘अधिकांश समय सञ्जीव बोलिरहेका थिए। उनको बडी ल्याङ्ग्वेज र एक्सप्रेसन हेर्दा थाहा हुन्थ्यो उनी स्पस्ट रुपमा पराजयको स्पष्टीकरण मागिरहेका थिए,’ उनी लेख्छन्, ‘टिम मालिक र खेल टोलीबीचको रेखा कोर्न सँधै गाह्रो हुन्छ। लाखौँ डलर लगानी गरेका र ठूलो प्यासन राखेको टिम मालिकसँग धैर्यता र सहिष्णुता मात्र अपेक्षा गर्नु पनि तार्किक हुँदैन।’
क्रिकेट मात्र नभएर अन्य खेलमा पनि मालिक र खेलाडीको सम्बन्ध विवादित भएका उदाहरण छन्।
धेरैजसो मालिक टिमको समस्या हल गर्नमा मात्र केन्द्रित हुने गर्छन्। खेलको प्राविधिक पाटो भने खेल ‘प्रोफेसनल’लाई नै जिम्मा दिएर आफू सेरेमोनियल हेड जस्तो बन्ने गरेका छन्।
धेरैजसोले प्राविधिक कामको निर्णयको अधिकार म्यानेजर र कोचमा निहित गर्ने गर्छन्। केही टिम मालिक हरेक निर्णयमा हावी हुने गरेका उदाहरण पनि छन्।
इटालियन सिरी ए क्लब एसी मिलानका ओनरल सिल्भियो बर्लुस्कोनी हुन् या अमेरिकन फुटबल क्लब कारोलिना प्यान्थर्सका डेभिड टेपर्स, उनीहरु टिममा माइक्रोम्यानेजमेन्ट गर्न रुचाउँछन्।
आईपीएलकै सन्दर्भमा हेर्दा अक्सन प्रकृयाले गर्दा खेलाडी छनोटमा सिधै टिम मालिक नै जोडिन्छन्। कुन खेलाडीलाई कति मूल्य तिर्ने भन्ने निधो मालिकले गर्छन्। आफूले लगानी गरे अनुसार खेलाडीले प्रदर्शन गर्न नसक्दा मालिक निराश हुनुलाई कतिपयले स्वाभाविक भन्ने गरेका छन्।