काठमाडौं आइपुगिन् जापानी विदेशमन्त्री कामिकावा, आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता

बिजमाण्डू
२०८१ बैशाख २३ गते १२:२८ | May 5, 2024
काठमाडौं आइपुगिन् जापानी विदेशमन्त्री कामिकावा, आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं। जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा काठमाडौं आइपुगेकी छन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आएकी हुन्।

Tata
GBIME
Nepal Life

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्ने कार्यतालिका छ।

हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ। उनले नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएकी छन्।

अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको थप विकासका लागि दृढतापूर्वक सहयोग गर्ने पनि उनले बताएकी छन्।

‘हालसालै छिचोलिएको नागढुंगा सुरुङमार्ग नेपालकै पहिलो पहाडी सडक सुरुङ हो र यो निर्माण सम्पन्न भएपछि सडक यातायात सञ्जाललाई सहज बनाई तीव्र गतिमा बढिरहेको ट्राफिक व्यवस्थापनको मागलाई सम्बोधन गर्नुका साथै यात्राको समय पनि घट्न जानेछ,’ उनले नेपाल आउनु अघि जारी गरेको लेखमा उल्लेख छ।

यससँगै, सडक सुरक्षामा सुधार भइ क्षेत्रीय, सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याइ समग्र नेपालको थप विकासमा दृढताका साथ सहयोग पुर्‍याउने उनले उल्लेख गरेकी छन्।