
काठमाडौं। उपभोगमा कमीले आयात घट्दा त्यसले समग्र अर्थतन्त्रमै असर परिरहेका बेला चैत महिनामा समेत खासै सुधार हुन नसकेको तथ्यांक सार्वजनिक भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष चैतमा १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ।
पुसको तुलनामा माघ, माघको तुलनामा फागुन र फागुनको तुलनामा चैतमा आयातमा सामान्य सुधार भएको छ। माघ महिनामा १ खर्ब २९ अर्ब र फागुनमा १ खर्ब ३२ अर्ब आयात भएकामा चैतमा त्यसभन्दा केही बढीको आयात भएको छ।
फागुनको तुलनामा चैतको आयात ५ अर्बले बढी हो।
यो आर्थिक वर्ष कुनै महिनामा पनि आयात डेढ खर्ब नाघ्न सकेको छैन। दशैं तिहारका कारण असोज महिनामा १ खर्ब ४८ अर्बको आयात भएकामा त्यसपछि निरन्तर घटेको थियो। कात्तिक महिनामा आयात १ खर्ब ५ अर्बमा सीमित भएको थियो। माघदेखि आयातमा झिनो सुधार देखिएको थियो।
आर्थतन्त्रका जानकारहरुले आर्थिक गतिविधि बढाउन मासिक कम्तिमा २ खर्बको आयात हुनुपर्ने बताउँदै आएका छन्।
आयात बढ्न नसक्नुलाई बजारमा आर्थिक शिथिलता कायम रहेको रुपमा अर्थ्याउने गरिएको छ। उपभोगमा नै कमीले आयात घटेको भन्दै उद्योगी व्यवसायीले लगानी बिस्तार गर्न मानिरहेका छैनन्। भएका उद्योग नै क्षमताको आधा मात्र सञ्चालन भइरहेका छन्।
लगानीयोग्य रकम बैंकमा थुप्रिन पुगेको छ। बैंकहरुले ब्याजदर निरन्तर घटाए पनि उद्योगी व्यवसायीले ऋण लिन मानिरहेका छैनन्। बैंकिङ प्रणालीमा साढे ५ खर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएर बसेको छ।
यसले एकातिर रोजगारी खुम्चिएको छ भने अर्कातिर राजस्वको लक्ष्यमा सरकारलाई गम्भीर धक्का लागेको छ। सरकारले चालु वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा त्यसको ५० प्रतिशत उठाउनै ९ महिना लागेको छ।
व्यवसाय विस्तार गर्न नसक्दा बैंकहरुको मुनाफामा १३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँको आयात भएको छ। यो आयात पोहोर ९ महिनाको तुलनामा २.८४ प्रतिशतले कम हो। गत आर्थिक वर्ष ९ महिनामा १२ खर्ब १ अर्ब ५० करवडको आयात भएको थियो।
आयात मात्र होइन, निर्यात पनि खुम्चिएकै छ। यो वर्ष ९ महिना जम्मा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको वस्तु तथा सेवा निर्वात भएको छ। यो निर्यात गत आर्थिक वर्ष चैतसम्मको तुलनामा ३.६६ प्रतिशतले कम हो।
पोहोर ९ महिनामा १ खर्ब १८ अर्ब २७ करोडको वस्तु तथा सेवा निर्यात भएको थियो। निर्यात खुम्चिनुले पनि रोजगारी कटौतीमा परेको र उत्पादन घटेको देखाउँछ।