अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेनटेटिभ्स्’ले युद्ध लडिरहेको युक्रेन र इजरायललाई सहयोग गर्नेबारे प्रस्तावित प्याकेज पारित गरेको छ। ९५ बिलियन अमेरिकी डलर (१२६ खर्ब रुपैयाँ भन्दा बढी) को आर्थिक सहायता दिने प्याकेज पारित भएको छ।
सो प्याकेज अन्तर्गत रसियासँग युद्ध लडिरहेको यक्रेनलाई ६१ बिलियन अमेरिकी डलर (८१ खर्ब रुपैयाँ) पाउनेछ। यो प्याकेज स्वीकृत नभए विश्व थप संकटमा जाने चेतावनी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले दिएका थिए। प्याकेज पारित भए पछि भने उनले अमेरिकालाई धन्यवाद व्यक्त गरेका छन्।
प्याकेजमा इजरायललाई २६.४ बिलियन अमेरिकी डलर (३५ खर्ब रुपैयाँ) सैन्य सहयोग दिने पनि संलग्न रहेको छ। ९.१ बिलियन अमेरिकी डलर (१२ खर्ब रुपैयाँ) भने इजरायलको आक्रमणले धवस्त बनेको गाजामा मानवीय सहयोगका लागि छुट्याइएको छ।
यस्तै, चीनलाई टक्कर दिन अमेरिकी इन्डो प्यासेफिक रणनीतिका साझेदार देशलाई पनि सहयोग रकम सोही प्याकेजमा स्वीकृत भएको छ। ताइवानसहितका देशलाई ८.१ बिलियन अमेरिकी डलर (१० खर्ब) सहयोग गर्ने प्याकेजमा उल्लेख छ।
अब यो प्याकेजको प्रस्ताव सिनेटमा जानेछ। त्यहाँबाट पारित भएपछि राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन्।
अमेरिकाले युक्रेनलाई सहायता दिन नहुने भन्दै पछिल्लो समय आवाज उठिरहेको छ। यही वर्ष अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा यो मुद्दाले प्राथमिकता पाउने विश्लेषण गरिएको छ।
यता, इजरायललाई समर्थन गरेकोमा भने अमेरिकाको चर्को आलोचना भइरहेको छ। हजारौं बालबालिकाको इजरायली आक्रमणमा मृत्यु भएका छ। सर्वसाधारण मारिँदा अमेरिकाले उल्टै इजरायललाई नै सहयोग गरिरहेको भन्दै बाइडेन विरुद्ध प्रदर्शन पनि भएको छ।
अमेरिकाकै बलमा इजरायलले गाजामा नरसंहार मच्चाइरहेको आरोप लाग्दै आएको छ। केही रकम मानवीय सहायताको नाममा छुट्टाएर अमेरिका सो आरोपबाट पन्छिन खोजेको देखिन्छ।
यस्तै, अमेरिकी संसदले टिकटकमाथि देशभर प्रतिबन्ध लगाउने वा प्लेटफर्म बिक्री गर्न दबाब दिने उद्देश्यले ल्याइएको विधेयक पनि पारित गरेको छ।