सुप्रिम सहकारीको पैसामा जीबीको रजाइँ, १० कम्पनीमा रकम ट्रान्सफर, रविको नाममा झण्डै दुई करोड

सविन ढकाल
२०८१ बैशाख ३ गते २०:३९ | Apr 15, 2024
सुप्रिम सहकारीको पैसामा जीबीको रजाइँ, १० कम्पनीमा रकम ट्रान्सफर, रविको नाममा झण्डै दुई करोड

काठमाडौं। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गरेको हो।

Tata
GBIME
Nepal Life

सरकारी वकिल कार्यालय रुपन्देहीले सोमबार २८ जना प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। अभियोगमा प्रहरीले केहीलाई फरारका रुपमा मुद्दा अघि बढाएको छ। जसमध्ये एक गोर्खा मिडिया प्रालि (ग्यालेक्सी टिभी) का अध्यक्ष गितेन्द्र बाबु राई (जीबी) समेत रहेका छन्। जीबी सहकारीका पूर्व अध्यक्ष पनि हुन्।

अभियोगपत्र अनुसार सहकारीको रकम विभिन्न दश कम्पनीमा कानुन विपरीत ट्रान्सफर भएको पाइएको छ। ती अधिकांश कम्पनी जीबी नेतृत्वका छन्। रकम हिनामिनामा बहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि जोडिएका छन्। कूल ८६ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना मुद्दामा पनि जीबी प्रतिवादी छन्। फरारकै सूचीमा उनीविरुद्ध मद्दा दायर भएको छ। कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशमाथि पनि मुद्दा दायर भएको छ। दिपेश अनुसन्‍धानकै सिलसिलामा पक्राउ परेका थिए। पुन सहकारीका पूर्व सचिव हुन्। गत साउनमा भएको ६१ किलो सुन तस्करीमा पनि प्रहरीले पुनमाथि अनुसन्धान जारी छ।

सुप्रिमको रकम हिनामिनामा गैरकानुनी रुपमा विभिन्न व्यक्ति र कम्पनी जोडिएको प्रहरी अनुसन्धानले देखाएको छ। प्रचलित कानुन विपरीत सहकारीको रकम व्यक्ति र कम्पनीको नाममा ट्रान्सफर भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ।

गोरखा मिडिया नेटवर्क प्रालिको नाममा जीबीलाई १० करोड २० लाख रुपैयाँ पठाएको अभियोगपत्रमा उल्लेख गरिएको छ। त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा पनि १ करोड ९६ लाख रुपैयाँ पठाएको देखिएको हो।

जीबीमाथि मुद्दा दायर भए पनि गृहमन्त्री लामिछानेमाथि अनुसन्धान समेत भएन। अनुसन्धान गर्ने प्रहरी चलाउने मन्त्रालयको कमाण्ड समेत लामिछानेले नै सम्हालिरहेका छन्। लामिछानेको नाममा सहकारीको रकम आएको र फिर्ता भएको पनि अभियोगपत्रमा उल्लेख छ। तर उक्त रकम बिना धितो लिइएको प्रहरी अनुसन्धानमा उल्लेख छ। रवि बचत सदस्य मात्र भएको उल्लेख अभियोगपत्रमा छ।

सहकारीको रकम हिनामिनामा प्रत्यक्ष जोडिएको र छानबिन गर्ने मन्त्रालयको नेतृत्वमा रहेको भन्दै नेपाली कांग्रेसले संसदले उक्त विषय उठाउँदै आएको छ। कांग्रेसले उक्त प्रकरण छानबिनका लागि संसदीय समिति समेत माग गरेको थियो। तर राजनीतिक सहमति नहुँदा कांग्रेसको माग यथावत् राखेरै संसदको अधिवेशन अन्त्य भएको छ।

सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्क, जीबी ग्रुप अफ कम्पनी प्रालि, नेचर नेष्ट प्रालि, गोर्खा गुप्र अफ कम्पनी प्रालि, ग्रेजी स्पोन रेष्टुरेन्ट प्रालि, नेक्सन म्युजिक बार प्रालि, नोबडी पोडक्सन प्रालि, मन्दरा स्पा एण्ड वलनेस सेन्टरलगायत छन्।

जीबीको संलग्नता रहेका सबै कम्पनीमा बिना धितो ऋण प्रवाह भएको हो। विभिन्न व्यक्तिका नामबाट कम्पनीमा रकम जम्मा भएको अभियोगपत्रमा उल्लेख छ।