
काठमाडौं। एक वर्षमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको औसत ब्याजदर २.८९ प्रतिशत विन्दुले घटेको छ। ब्याजदर घटेपछि सेयर धितो कर्जा बढ्न थालेको छ।
चालु आर्थिक वर्ष ८ महिनामा मार्जिन प्रकृतिको सेयर धितो कर्जा ८ अर्ब ७० करोडले थपिएर ७६ अर्ब १२ करोड ७० लाख रुपैयाँ पुगेको छ।
अघिल्लो फागुनमा बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जाबापत ५८ अर्ब ५२ करोड रुपैयाँ प्रवाह गरेका थिए। त्यो बेलामा यस्तो कर्जाको औसत ब्याजदर १४.५२ प्रतिशत थियो।
एक वर्षमा सेयर धितो कर्जाको औसत ब्याजदर २.८९ प्रतिशत विन्दुले घटेर ११.६३ प्रतिशतमा झरेको छ। अल्पकालमा नाफा लिन सकिने र जोखिम भार कम रहेका कारण बैंकहरूले सेयर कर्जामा लगानी बढाइरहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए।
‘एकातिर सेयर धितो कर्जाको जोखिम भार कम छ। त्यसमा पनि तत्काल बैंकलाई पुँजी कोषको दबाब भए पनि सेयर ऋण अफलाेड गर्न सकिन्छ। त्यसकारण पनि पछिल्लो समय समग्र कर्जाको वृद्धिदर अपेक्षाजनक नरहेपनि सेयर कर्जा बढेको छ,’ उनले भने।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड पुर्याएको छ।
त्यसैगरी, ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र ५० लाख माथिको कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारिएको छ।
बैंकमा अधिक तरलता भएका कारण सेयर कर्जा बढेको एनआईसी एसिया बैंकका कर्जा विभाग प्रमुख अर्जुनराज खनियाले बताए।
‘अहिले अधिकांश बैंक पुँजी कोष कम भएका कारण ऋण घटाउनु पर्ने दबाबमा छन्,’ उनले भने, ‘तर पनि सेयर धितो कर्जाको जोखिम भार कम हुँदा यसमा लगानी गरिरहेका हुन्।’
पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको सेयर धितो कर्जाको वृद्धि १४.८१ प्रतिशत बढेको छ। सोही अवधिमा १३ वाणिज्य बैंकको सेयर धितो कर्जा बढाउँदा आधा दर्जन बैंकको वृद्धि भने नकारात्मक देखिएको छ। स्टान्डर्ड चार्टर्ड बैंकले भने सेयर कर्जा प्रवाह गरेको छैन।
प्रभु, एनएमबि, लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर कर्जा घटेको छ।
पछिल्लो एक वर्षमा नेपाल एसबिआई बैंकको सेयर कर्जाको वृद्धि सबैभन्दा धेरै ३६१ प्रतिशत छ। साथै, एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको वृद्धि पनि उच्च देखिएको छ।
बैंकहरुले प्रवाह गरेको सेयर कर्जाको स्थिति
बैंक | २०८० फागुन (रु. दश लाखमा) | २०७९ फागुन (रु. दश लाखमा) | फरक (प्रतिशतमा) |
नेपाल | ३,९३२.९७ | 3,५६०.५९ | ३८.८२ |
राष्ट्रिय वाणिज्य | ३,१९३.८९ | ४,१२४.६१ | १.७० |
नबिल | ११,७१९.८८ | ८,००८.१८ | ४६.३५ |
नेपाल इन्भेष्टमेन्ट मेगा | २,१३७.३३ | ४,०४६.२१ | -४६.९३ |
स्टान्डर्ड चार्टर्ड | – | – | – |
हिमालयन | २,२७७.६२ | ३,०९२.७६ | -२६.३६ |
नेपाल एसबिआई | १२१.५३ | २६.3४ | ३६१.३९ |
एभरेस्ट | १,८३२.३६ | ८०९.११ | १४०.०७ |
एनआईसी एशिया | ३,३१७.८६ | १,२३१.१९ | २५८.८३ |
माछापुच्छ्रे | ३७५.३३ | ६४८.५ | -२६.६९ |
कुमारी | ३,१३९.८३ | ३,५३५.२४ | १७.१० |
लक्ष्मी सनराइज | ३,२३१.३९ | ४,०२४.४४ | -१९.७१ |
सिद्धार्थ | ५,१८९.६३ | ३,७८५.१७ | ३७.१० |
कृषि विकास | १,२३५.२० | १,१६०.७७ | ७.२७ |
ग्लाेबल आइएमई | ६,७३६.०३ | ६,३६६.०८ | ५.९७ |
सिटिजन्स | ३,३३३.८१ | ३,८६४.१५ | १२.१५ |
प्राइम कमर्सियल | ३,१३३.७१ | ३,१९४.०६ | २९.७६ |
एनएमबि | ९७३.१३ | १,४१३.१२ | -३१.०६ |
प्रभु | ३,२७९.९१ | ४,०9७.७७ | -१९.९६ |
सानिमा | १,६०२.३१ | १,४३९.१५ | ११.३४ |
जम्मा | ६७,१२७.०६ | ५८,४२७.४४ | १४.८९ |