धुलिखेलमा रिसोर्ट खोल्ने तयारीमा अभिनेता हरिवंश आचार्य, पहिलो चरणमा कफी सप

बिजमाण्डू
२०८० चैत्र २८ गते २०:०६ | Apr 10, 2024
धुलिखेलमा रिसोर्ट खोल्ने तयारीमा अभिनेता हरिवंश आचार्य, पहिलो चरणमा कफी सप
धुलिखेल १२ स्थित पाटीचौरमा कफी सपका लागि तयार पारिएको टहरा

काठमाडौं। अभिनेता हरिवंश आचार्यले आफ्नो पुर्ख्यौली थलो धुलिखेल शंखुस्थित पाटीचौरमा रिसोर्ट खोल्ने तयारी गरेका छन्। रिसोर्टका लागि आचार्यले पूर्वाधार तयार पार्न थालेका छन्।

Tata
GBIME

रिसोर्टअघि कफी सप तयार गर्ने गरी आफू अघि बढेको आचार्यले बताए। ‘कफी सपका लागि एकतल्ले टहरा तयार भइसकेको छ,’ आचार्यले भने, ‘मैले पाएका अवार्डहरु पनि राखेर चाँडै सञ्चालनमा ल्याउने योजना बनाएको छु।’

कफी सपका लागि तयार पारिएको टहराबाट आकाशे पानी संकलन गर्ने गरी अन्डरग्राउन्ड ट्यांकीसमेत बनाइएको छ। कफी सपमा पढ्नका लागि किताबहरु समेत उपलब्ध हुनेछन्।

उनी कफी सप पछि रिसोर्ट खोल्ने योजनामा छन्। ‘अब बिस्तारै रिसोर्ट बनाउने तयारीमा लागेको छु,’ महाजात्रा फिल्म प्रचारको दौरानका क्रममा केही समय निकालेर मीरा सेन्टरको वार्षिकोत्सवका लागि धुलिखेल पुगेका आचार्यले भने।

उनले आफ्नो पुर्ख्यौली थलोमा मीरा सेन्टर प्रिस्कुल समेत सञ्चालनमा ल्याएका छन्। दिवंगत पत्‍नी मीरा आचार्यको नाममा स्थापना भएको सेन्टरमा अहिले ४७ बालबालिका छन्।

मीरा सेन्टर नजिकै रिसोर्ट खोल्न लागिएको हो। सुन्तलाको पकेट क्षेत्र मानिने यहाँ सुन्तला फार्मसमेत छ। काभ्रेको प्रसिद्ध नमोबुद्ध नजिकै रहेकोले यो स्थान रिसोर्टका लागि उपयुक्त देखिएको आचार्य बताउँछन्।