पर्यटन बोर्डको सीइओ बन्ने दौडमा आधा दर्जनभन्दा बढी, दाबेदार को-को ?

वसन्तराज उप्रेती
२०८० चैत्र २५ गते १५:०१ | Apr 7, 2024
पर्यटन बोर्डको सीइओ बन्ने दौडमा आधा दर्जनभन्दा बढी, दाबेदार को-को ?

काठमाडौं। नेपाल पर्यटन बोर्डको रिक्त प्रमुख कार्यकारी पदका लागि आधा दर्जनभन्दा बढी व्यक्तिले लबिङ थालेका छन्। बोर्डले आवेदन मागेसँगै पूर्व सीइओदेखि बहालवाला कर्मचारी र व्यवसायीसम्मले लबिङ थालेका हुन्।

Tata
GBIME

बोर्डले शनिबार १२ दिनको समय तोकेर आवेदन खुलाएको थियो।

बोर्डका पूर्वसीइओ दीपकराज जोशी, निर्देशक हिक्मत सिंह ऐर र लक्ष्मण गौतम, परामर्शदाता प्रवेश अर्याल र तिलक लामा लगायतले लबिङ थालेका छन्। वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी बजेट परिचालन गर्ने भएकाले बोर्डको सीइओका लागि दौडधुप चलेको हो।

पूर्वसीइओ जोशीले पर्यटन क्षेत्र आफ्नो प्राथमकितामा रहेका कारण बोर्डमा फेरि नेतृत्व गर्ने इच्छा रहेको बताए। ‘व्यक्तिगत रुपमा पर्यटन क्षेत्र मेरो प्यासन हो,’ उनले भने, ‘काम गर्ने अवसर पाएको अवस्थामा एउटा स्पष्ट मार्गचित्र बनाएको छु।’

बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, पूर्व निर्देशक काशीराज भण्डारी, ठाकुर देवकोटा, राजाराम गिरी लगायत पनि इच्छुक देखिएका छन्। देवकोटा तारागाउँ विकास समितिका सदस्य हुन्। माओवादी केन्द्र निकट उनी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अहिले माओवादीसँग रहेकाले आफूले नियुक्त पाउनेमा आशावादी छन्।

निर्देशक ऐरले प्रमुख कार्यकारी पदका लागि डेढ वर्षदेखि गृहकार्य गर्दै आएका छन्। गिरीले पनि लबिङ थालिसकेको बोर्ड सम्बद्ध स्रोतले बतायो। उनी लण्डन क्याफेका संचालक हुन्। उनी प्राय: बेलायतमा बस्छन्। प्रेमबहादुर आले पर्यटनमन्त्री हुँदा गठन गरिएको पर्यटन पुनर्उत्थान समितिमा गिरीले संयोजकका रुपमा काम गरेका थिए।

स्रोतका अनुसार प्रबन्धक श्रेष्ठलाई सीइओ बनाउन एउटा समूह नै लागेको छ। गत माघमा ४ वर्षे कार्यकाल पूरा गरेका डा. धनञ्जय रेग्मीको समेत रि इन्ट्रीको चर्चा छ। उनले भने दोहोरिने सम्भावना नरहेको बताए। ‘मेरो नाममा हल्ला धेरै भएको हो। बधाई पनि धमाधम आइरहेको छ। तर म आउने मनस्थितिमा छैन,’ उनले भने।   

माघ तेस्रो सातादेखि रिक्त बोर्डको प्रमुख कार्यकारी २५ दिनभित्र नियुक्ति गर्ने तयारी छ। आवेदक न्यूनतम ३५ र अधिकतम ६० वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यता कम्तिमा स्नातकोत्तर तोकिएको छ। पर्यटन क्षेत्रमा काम गरेकालाई प्राथमिकता पाउनेछन्। पर्यटन सचिव अध्यक्ष रहने सञ्चालक समितिले बोर्डको कार्यकारी प्रमुख नियुक्त गर्ने व्यवस्था छ।

मन्त्रिपरिषद् बैठकले बोर्डमा रिक्त ३ सदस्य नियुक्त गरे लगत्तै प्रमुख कार्यकारीको नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो। सरकारले गत साता बोर्डको सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरेको थियो।