काठमाडौं। नेपाली बीमा क्षेत्रमा आगामी आर्थिक वर्षदेखि ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)-१७ इन्स्योरेन्स कन्ट्रयाक्ट’ लागू हुने भएको छ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान(आइएफआरएस) बमोजिम एनएफआरएस-१७ लागू गराउन राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग छलफल गरिसकेको छ।
एनएफआरएस-१७ लागू गर्न लेखामान बोर्ड, प्राधिकरण, इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल, नेपाल बीमक संघ र जीवन बीमक संघले एसियन ओसियानियन स्ट्यान्डर्ड सेटर्स ग्रुप र कोरियन एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डसँग छलफल गरिसकेका छन्। कोरियाले एनएफआरएस-१७ लागू गरिसकेको छ। पाकिस्तानमा लागू हुने अन्तिम चरणमा छ।
लेखामान बोर्ड, प्राधिकरण र बिमकहरुले अन्तर्राष्ट्रिय संस्थासँग प्राविधिक सहायताका विषयमा सोमबार र मंगलबार अन्तर्क्रिया गरेका हुन्। एनएफआरएस-१७ लागू गर्दा अपनाउनु पर्ने प्राविधिक विषय र कार्यान्वयनपछि देखिएका समस्याबारे अन्तर्क्रिया गरिएको हो।
प्राधिकरणले एनएफआरएस-१७ लागू गर्ने विषयमा यसअघि लेखामान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र बिमकसँग दुई पटक छलफल गरिसकेको थियो।
बीमा क्षेत्रमा अहिले एनएफआरएस-४ लागू छ। यसलाई परिमार्जन गरेर एनएफआरएस-१७ लागू गरिने भएको हो।
लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले एनएफआरएस-१७ लागू पछि बीमा कम्पनीको वित्तीय प्रतिवेदनमा पारदर्शिता र जवाफदेहिताको स्तर सुधार हुने बताए।
‘प्रारम्भमा कठिनाइ र थप लागत भएपनि यसले बीमा उद्योगलाई दीर्घकालीन रूपमा फाइदा पुग्छ,’ उनले भने, ‘बीमा कम्पनीको वित्तीय प्रतिवेदनमा पारदर्शिता र जवाफदेहिताको स्तर सुधार हुन्छ।’ कार्यान्वयनमा आउने समस्या समाधानका लागि बोर्ड तयार रहेको उनले बताए।
प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले एनएफआरएस-१७ कार्यान्वयनको विकल्प नरहेको बताए। ‘एनएफआरएस-१७ कार्यान्वयनको विकल्प छैन। प्राधिकरण र बोर्डले गरेको छलफलले प्राविधिक रुपमा सहज हुनेछ,’ उनले भने।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडलले कम्पनीहरुले आगामी वर्षदेखि एनएफआरएस-१७ कार्यान्वयन गर्नुपर्ने बताए। ‘बीमा क्षेत्रमा आगामी आर्थिक वर्षदेखि लागू हुने एनएफआरएस-१७ कम्पनीहरुले कार्यान्वयन गर्नुपर्छ। यसले नेपाली बीमा उद्योगलाई अन्तर्राष्ट्रिस्तरको बनाउँछ,’ उनले भने।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले एनएफआरएस-१७ ले बीमा क्षेत्रलाई थप परिष्कृत बनाउने बताए। ‘बीमा कम्पनीमा एनएफआरएस-१७ लागू गर्दा कम्पनीलाई थप पारदर्शी र परिष्कृत बनाउन मद्दत गर्छ,’ उनले भने।
जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलले प्राविधिक जनशक्तिको अभाव र उच्च लागतका बाबजुद कम्पनीहरु एनएफआरएस-१७ कार्यान्वयनमा तयार रहेको बताए। ‘एक्चुअरी भ्यालुएसन, प्रडक्टको मूल्यांकन लगायत प्राविधिक जनशक्तिको कमी छ। त्यसका बाबजुद कम्पनीहरु कार्यान्वयनका लागि तयार छन्,’ उनले भने।