
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनका लागि व्यवसायीलाई दु:ख नदिने आश्वासन दिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटमा अर्थमन्त्री पुनले राजस्व संकलनका लागि व्यवसायीलाई दु:ख नदिने बताएका हुन्।
ढकालले पछिल्ला दिनमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको जानकारी मन्त्रीलाई पुनलाई गराएका थिए। सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनको भनाइ थियो।
ढकालले निजी क्षेत्रले सुव्यवस्थितरुपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने भन्दै सचेत हुन आग्रह गरेका छन्।
अध्यक्ष ढकालले देशमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे। उनले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताउँदै लगानी सम्मेलन हुन गइरहेकाले अर्थमन्त्री पुनलाई स्वदेशी लगानीकर्ताहरुलाई सम्मान गर्नुपर्ने र सरकारले व्यवसायीको मनोबल बढाउन विशेष पहल गर्नुपर्ने राय व्यक्त गरेका थिए।
जवाफमा अर्थमन्त्री पुनले व्यवसायीले उठाएका विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिएका छन्। उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधैं तत्पर रहेको बताउँदै अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए।
मन्त्री पुनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार गर्नु रहेको बताएका छन्।