सर्वोत्तम सिमेन्टको आइपीओ बिक्रीबाट बाहिरियो रकम, नेप्से र कारोबार रकम दुवै घट्यो

बिजमाण्डू
२०८० चैत्र २० गते १५:३७ | Apr 2, 2024
सर्वोत्तम सिमेन्टको आइपीओ बिक्रीबाट बाहिरियो रकम, नेप्से र कारोबार रकम दुवै घट्यो


काठमाडौं। सर्वोत्तम सिमेन्टको आइपीओ हात पारेकाहरु बेचेर बाहिरिएपछि त्यसको असर सेयर बजारमा परेको छ। मंगलबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ।

Tata
GBIME
NLIC

नेप्से १.८५ अंकले घटेर २०१०.२१ विन्दु कायम भएको छ। बैंक, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहले बजार घटाएका हुन्। हाइड्रोपावर क्षेत्रका लगानीकर्ताले सबैभन्दा धेरै ०.७९ प्रतिशतले गुमाएका छन्।

६१ लाख ३१ हजार कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको छ। यो कारोबार रकम सोमबारको तुलनामा ५८ करोडले कम हो।

गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १४ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

सर्वोत्तम सिमेन्टको सेयर मूल्य १.७० प्रतिशतले घटेपछि प्रति कित्ता ९२५ रुपैयाँ कायम भएको छ। यो कम्पनीको सोमबार ४७ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार ९ करोड ५७ लाख रुपैयाँको मात्र कारोबार भयो।

कारोबारमा आएका ३१२ मध्ये १२७ कम्पनीको सेयर मूल्य घटेको छ।

१०९ कम्पनीको सेयर मूल्य बढेको छ। गुँरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर प्रति कित्ता १,६३३.५० रुपैयाँ पुगेको छ।