
काठमाडौं। चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। साउनदेखि चैत १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाले २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष साढे ११ प्रतिशत अर्थात ५ अर्ब ६१ अर्ब कर्जा विस्तारको लक्ष्य राखेकामा साढे ८ महिनामा लक्ष्यको साढे ३६ प्रतिशत मात्र परिचालन भएको हो।
२ खर्ब ५ अर्ब कर्जामध्ये १ खर्ब ८४ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुले प्रवाह गरेका हुन्।
यो तथ्यांकले चालु वर्ष राष्ट्र बैंकले लिएको लक्ष्य अनुसार कर्जा प्रवाह नहुने देखाउँछ। चैतपछि बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह भन्दा असुलीमा केन्द्रित हुन्छन्।
बैंक तथा वित्तीय संस्थाबाट गत असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकामा चैत १७ गतेसम्म आइपुग्दा ५० खर्ब ८४ अर्ब पुगेको छ।
बजारमा माग घटेर उद्योग व्यवसाय नै क्षमता अनुसार नचलेकाले कर्जा प्रवाह निकै सुस्त बनेको बैंकरहरुको भनाइ छ। कर्जा प्रवाह निकै सुस्त हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिन पुगेको छ।
कर्जा प्रवाह सुस्त हुँदा निक्षेप भने उल्लेख्य मात्रामा बढेको छ। साढे ८ महिनामा निक्षेप ४ खर्ब ३४ अर्ब रुपैयाँ थपिएको छ।