जापानलाई पछि पार्दै भारत विश्वको तेस्रो ठूलो कार बजार, वार्षिक बिक्री ४२ लाख नजिक

बिजमाण्डू
२०८० चैत्र २० गते ०९:४१ | Apr 2, 2024
जापानलाई पछि पार्दै भारत विश्वको तेस्रो ठूलो कार बजार, वार्षिक बिक्री ४२ लाख नजिक


काठमाडौं। भारत पछिल्लो समय प्यासेन्जर कार बिक्रीमा लागि संसारको तेस्रो ठूलो देश बनेको छ। सोमबार ठूला अटोमोबाइल कम्पनीहरूले मार्च २०२४ र आर्थिक वर्ष २०२३-२४ को बिक्री तथ्यांकहरू सार्वजनिक गरेका थिए। जसले भारतीय कार बजारमा स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुभी) को प्रभुत्व कसरी बढ्दै गइरहेको देखाएको छ।

Tata
GBIME
NLIC

भारत प्यासेन्जर कारको तेस्रो ठूलो बजार बनेको छ। आर्थिक वर्ष २०२३-२४ मा कुल बिक्री ४२.३ लाख युनिट छ। जापानलाई पछि पार्दै भारतले यो स्थान हासिल गरेको हो। भारतले पछिल्लो दुई वर्षमा बिक्रीमा विश्वका दुई कार बजारहरू (पहिलो जर्मनी र अहिले जापान) लाई उछिनेको छ।

अब लामो समयसम्म भारतको आर्थिक वृद्धिदर ७/८ प्रतिशतमा रहने सम्भावना रहेकाले भारतीय कार बजारको हिस्सा अझै बढ्न सक्छ। देशको सबैभन्दा ठूलो कार कम्पनी मारुती सुजुकीको यसमा सबैभन्दा ठूलो हिस्सा छ। जसको भारतीय कार बजारमा हिस्सा ४२ प्रतिशत पुगेको छ। गत वर्ष कम्पनीको कुल बिक्री पहिलो पटक २० लाख नाघेको थियो र २१.३५ लाख गाडी थिए। नेपालमा भने मारुती सुजुकी र हुन्डाईलाई पछि पार्दै टाटा प्यासेन्जर भेहिकलको बजारमा सबैभन्दा धेरै बिक्री गर्ने कम्पनी बनेको छ।

मारुती सुजुकीका कार्यकारी समितिका नयाँ सदस्य शशांक श्रीवास्तवले नयाँ कारको कुल बिक्रीको ५०.६ प्रतिशत एसयुभी रहेको बताए। कुनै समय मध्यमवर्गका लागि आकर्षणको केन्द्र बनेका ह्याचब्याक कारको बिक्री ६ प्रतिशतले घटेको छ। उनी भन्छन्, ‘२०२३/२४ भारतीय कार उद्योगका लागि धेरै राम्रो रह्यो तर अघिल्लो वर्षको आधार धेरै उच्च भएकाले २०२४/२५ मा मात्र एक अंकको बिक्री वृद्धि हुनेछ।’

टाटा मोटर्सले सन् २०२३-२४ मा ५ लाख ७३ हजार ४९५ यात्रुवाहक कार बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो। हुन्डाई मोटर्सले गत वर्ष ७ लाख ७७ हजार ८८६ कार बिक्री गरेको छ, जुन कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो बिक्री परिमाण भएको बताइएको छ।