लगातार तेस्रो खेलमा पनि मुम्बई इण्डियन्स पराजित, शीर्षमा उक्लियो राजस्थान

बिजमाण्डू
२०८० चैत्र २० गते ०६:३९ | Apr 2, 2024
लगातार तेस्रो खेलमा पनि मुम्बई इण्डियन्स पराजित, शीर्षमा उक्लियो राजस्थान
मुम्बई इण्डियन्सका बलर जसप्रीत बुमराह। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हराएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा घरेलु टोली राजस्थानसँग ६ विकेटले पराजित भएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले ९ विकेट गुमाएर १२५ रनको सामान्य स्कोरमात्र बनाउन सक्यो। मुम्बईको शीर्ष क्रमका ४ मध्ये तीन ब्याटर रन नजोड्दै आउट हुँदा सुरुबाटै दवाबमा आएको थियो। रोहित शर्मा, नमन धीर र डेवाल्ड ब्रेभिसलाई ट्रेन्ट बोल्टले डकआउट गराइदिँदा २.२ ओभरमै मुम्बई १४-३ को अवस्थामा पुगिसकेको थियो। मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ३४, तिलक वर्माले ३२,  टिम डेभिडले १७ तथा इशान किशनले १६ रन बनाउँदै सम्मानजनक स्कोरसम्म पुर्‍याउन योगदान गरे।

मुम्बईको ब्याटिङ धराशायी बनाउन ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले समान ३ विकेट लिँदा नान्द्रे बर्गरले २ तथा आभेस खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेट गुमाएर १५.३ ओभरमा लक्ष्य भेट्टायो। रोयल्सका लागि रियान परागले सर्वाधिक अविजित ५४ रन बनाउँदा रवि चन्द्रन अश्विनले १६, जोस बटलरले १३, सञ्जु सामसनले १२ तथा यशस्वी जसवालले १० रनको योगदान दिए।

बलिङतर्फ मुम्बईका आकाश मधवालले ३ विकेट लिँदा केवेना मफकाले १ विकेट लिए।

आईपीएलको इतिहासमा सर्वाधिक सफल टोली मध्येको मुम्बई इण्डियन्सको जारी संस्करणमा यो लगातार तेस्रो हार हो। मुम्बईले यसअघि सनराइजर्स हैदराबाद र गुजरात टाइटन्ससँग हार ब्यहोरेको थियो। जारी प्रतियोगितामा एउटै खेल नजितेको मुम्बई अंकतालिकाको पुछारमा छ।

राजस्थान रोयल्सको भने जारी सिजन यो लगातार तेस्रो जित हो। यसअघिका खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपरजायन्टलाई हराएको राजस्थान ६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्ग्लुरु र लखनउ सुपर जायन्ट साँझ पौने ८ बजे बेङ्ग्लुरुमा भिड्नेछन्।