
चीनमा दर्ता भएर सञ्चालित ड्रोनको संख्या सन् २०२३ सम्म १० लाख २७ हजार पुगेको छ। चीनको नागरिक उड्डयन प्राधिकरणले जनारी गरेको तथ्यांक अनुसार एक वर्षमा ड्रोन दर्ता गराउनेको संख्या ३२.२ प्रतिशतले बढेको हो।
पछिल्लो समय चीनमा ड्रोनको प्रयोग बढ्दै गइरहेको छ। भविष्यमा ड्रोनको प्रयोग थप बढ्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ। ‘सिभिल ड्रोन’ हरु प्रयोग आउने दिनमा उद्योगहरुले धेरै गर्ने जनाइएको छ।
एरोस्पेस नलेज म्यागेजिनका सम्पादक वाङ यानिनले चीन सबै प्रकारको ड्रोन निर्माण गर्न सक्षम भएको भन्दै उद्योगको तीव्र विकासलाई यसले सहयोग पुर्याउने बताए।
सन् २०२३ मा चीनमा सिभिल ड्रोनहरु २३.११ मिलियन घण्टा उडेको रेकर्ड भएको थियो। कृषि, पशुपालन, माछापालन, फोटोग्राफी, मनोरञ्जन लगायतका क्षेत्रमा सिभिल ड्रोलको व्यापक प्रयोग हुने गर्छ।
मानवस्रोतको प्रयोगबाट लाग्ने समय ड्रोनको प्रयोगबाट बच्ने भएकाले विभिन्न क्षेत्र ड्रोनको प्रयोगतर्फ आकर्षित भएका छन्। पछिल्लो समय सुरक्षाको दृष्टिकोणमा पनि चीनमा ड्रोनको प्रयोग भइरहेको छ।
हाल विभिन्न नयाँ प्रविधि प्रयोग गरेर बनेका ड्रोनहरु परीक्षण र प्रमाणीकरणको प्रक्रियामा रहेको जनाइएको छ। चीनले हाल ड्रोन निर्यातमा कडाई गरिरहेको पनि जनाइएको छ।