सेयर बजारमा रियल सेक्टरका चार सिमेन्ट कम्पनी, लगानीका लागि कस्तो छ वित्तीय अवस्था ?

सुनिल कुँवर
२०८० चैत्र १४ गते १८:१७ | Mar 27, 2024
सेयर बजारमा रियल सेक्टरका चार सिमेन्ट कम्पनी, लगानीका लागि कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं। बैंक तथा वित्तीय संस्थाको वर्चस्व रहेको सेयर बजारमा रियल सेक्टरको हिस्सा न्यून छ। सूचीकृत २७१ कम्पनीमध्ये उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी ९ वटा मात्रै हुन‍्।

Tata
GBIME
Nepal Life

उत्पादनमूलक क्षेत्रमा पनि सिमेन्ट कम्पनीको बाहुल्यता छ। पछिल्लो समय आइपीओ निष्कासन गरेर सूचीकृत हुनेमा उत्पादन तथा प्रशोधन क्षेत्रका सिमेन्ट कम्पनी थपिंदै गएका छन्।

अहिलेसम्म बजारमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनी हुन्- शिवम्, घोराही, सोनापुर र सर्वोत्तम। पछिल्लो समय यी कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिन्छ। कारोबार रकमका आधारमा शिवम् र सोनापुर कम्पनी शीर्ष स्थानमा रहँदै आएका छन्।

बुधबार २ अर्ब २३ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच हुँदा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट पहिलो स्थानमा रह्यो। यो कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भयो। यस्तै ७ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको सोनापुर सिमेन्ट तेस्रो स्थानमा रह्यो।

कारोबार रकमका आधारमा यी कम्पनी शीर्ष ५ को सूचीमा परेको बुधबार पहिलो पटक होइन। मंगलबार २ अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्ट ९ करोड ३१ लाखसहित सर्वाधिक कारोबार हुने सूचीमा पहिलो र ८ करोड ५७ लाखको सेयर किनबेचसहित सोनापुर दोस्रोमा थिए।

उत्पादनमूलक क्षेत्रका कम्पनीको संख्या र सेयर भोलूम तुलनात्मकरुपमा कम भएका कारण पनि लगानीकर्ता सिमेन्ट कम्पनीतर्फ आकर्षित भएको देखिन्छन्।

चैत ६ देखि दोस्रो बजारमा कारोबार सुरु भएको सर्वोत्तम सिमेन्टको मूल्यमा लगातार छैटौं दिन पोजेटिभ सर्किट लागेको छ।

पहिलो पटक बुक बिल्डिङ विधिमार्फत प्रति कित्ता ३६०.९० रुपैयाँमा आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९८४.६० रुपैयाँ पुगिसकेको छ। कम्पनीको पहिलो कारोबार ५५६ रुपैयाँमा सुरु भएको थियो।

आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा बुझाएको वित्तीय विवरण र प्रक्षेपित व्यवसायको अनुमानलाई आधार मान्ने हो भने कम्पनीको व्यवसाय र प्रतिफलमा सुधार हुँदै जाने देखिन्छ। तर, सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष तेस्रो त्रैमास सकिन लाग्दासमेत दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन।

कम्पनीले बोर्डमा बुझाएको वित्तीय विवरणमा उसले गत वर्ष २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ। त्यत्तिखेर प्रति सेयर आम्दानी ५.२८ र प्रति सेयर नेटवर्थ १८५.३६ रुपैयाँ थियो।

सर्वोत्तमले चालु आर्थिक वर्ष ८२ करोड ८४ लाख रुपैयाँ कमाउने अनुमान गरेको छ। आगामी असार मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १७.८२ रुपैयाँ र प्रति सेयर नेटवर्थ २०७.२२ रुपैयाँ पुग्ने प्रक्षेपण छ।

कुनैबेला सेयर बजारमा हटकेक बनेको अर्को कम्पनी हो- शिवम् सिमेन्ट। सेयर बजारमा सूचीकृत भएको पहिलो सिमेन्ट कम्पनी शिवमको सेयर मूल्य २०७८ साउनमा प्रति कित्ता २११० रुपैयाँसम्म पुगेको थियो।

अहिले यस कम्पनीको सेयर मूल्य प्रति कित्ता ५२५ रुपैयाँ छ। चालु वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा कम्पनीले ६ महिनामा १४ करोड ८५ लाख रुपैयाँ कमाएको छ। प्रति सेयर आम्दानी ५.९१ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८७.६९ रुपैयाँ छ। ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको शिवमको सेयर मूल्य पछिल्लो एक वर्षमा ६८० रुपैयाँसम्म पुगेको र ३८९.८०  रुपैयाँसम्म झरेको देखिन्छ।

लगानीकर्तालाई आर्थिक वर्ष २०७६/७७ मा २४.२१, २०७७/७८ मा २९ र २०७८/७९ मा १०.५३ प्रतिशत नगद लाभांश दिएको कम्पनीले पोहोरको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर बाँडेको छ।

पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रमा सुस्तता छ। निर्माण क्षेत्र चलायमान नहुँदा सिमेन्ट कम्पनीको व्यवसाय बढ्न सकेको छैन। आर्थिक गतिविधिमा सुस्तताका बाबजुद कम्पनीले नाफा कमाएको छ।

गत असोजमा प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजीको सिमेन्ट कम्पनी सोनापुरको सेयर मूल्य अहिले प्रति कित्ता ४८० रुपैयाँ छ। कम्पनीको सेयरको भाउ सर्वाधिक ५७५ रुपैयाँसम्म पुगेको थियो।

चालु वर्ष ६ महिनामा कम्पनीको खुद नाफा १४ करोड ७८ लाख रुपैयाँ ऋणात्मक छ। त्यस्तै, प्रति सेयर आम्दानी ९.६२ रुपैयाँ ऋणात्मक छ।

कम्पनीको ६ महिनामा सञ्चालन आम्दानी ७० करोड रुपैयाँ छ। उसले ऋण दायित्वअनुसार व्यवसाय गर्न नसकेको देखिन्छ। दीर्घकालीन ऋण ३ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीका अन्य सूचक पनि नाजुक छन्।

नाफा देखाएर प्रिमियममा आइपीओ निष्कासन गरेको कम्पनी ६ महिनामै घाटामा जाँदा नियामक धितोपत्र बोर्डमाथि प्रश्न उठेको छ।

‘आइपीओ निष्कासन अघि र पछिको वित्तीय विवरण म्यानुपुलेसन भयो कि भन्ने आशंका हो। तर, वित्तीय विवरण सीएहरुले पनि हेरेको हुन्छ,’ बजारका एक विश्लेषकले भने, ‘त्यसैले विवरणमै शंका गर्नभन्दा पनि कम्पनीले व्यवसाय कसरी गरिरहेको छ भन्ने लगानीकर्ताको मुख्य चासो हो। कम्पनीको वित्तीय विवरणले पारदर्शिता पनि देखाउँछ।’

गत असोजमा प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको घोराही सिमेन्टको सेयर मूल्य अहिले प्रति कित्ता ५१३ रुपैयाँ छ।

प्रति कित्ता ४३५ रुपैयाँमा आइपीओ बिक्री गरेको कम्पनीको सेयर मूल्य ६१४ रुपैयाँसम्म पुगेको थियो। यो वर्ष ६ महिनामा घोराहीको खुद नाफा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ। प्रति सेयर आम्दानी ९.१६ रुपैयाँ छ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रुपैयाँ छ। दीर्घकालीन ऋण ६ अर्ब १७ करोड रुपैयाँ छ। यो वर्ष ६ महिनामा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

‘सिमेन्ट कम्पनीले आफ्ना उत्पादन भारतमा निर्यात गर्न थालेका छन्। देशभित्र विकास निर्माणका धेरै काम बाँकी नै रहेकाले सिमेन्टको खपत बढ्ने देखिन्छ,’ बजारका एक जानकारले भने, ‘सिमेन्ट कम्पनीको व्यवसाय तत्काल त्यति राम्रो नदेखिए पनि भारतमा निर्यात बढेकाले दीर्घकालीनरुपमा उच्च प्रतिफल आश गर्ने ठाउँ छ।’