बौद्धको ‘मण्डला स्टोर’ देखाउँदै बैंक खातासमेत नभएका नरेशको करोडौंको कारोबार, हुन्डीदेखि सुन तस्करीसम्म

सविन ढकाल
२०८० चैत्र १४ गते ०९:०७ | Mar 27, 2024
बौद्धको ‘मण्डला स्टोर’ देखाउँदै बैंक खातासमेत नभएका नरेशको करोडौंको कारोबार, हुन्डीदेखि सुन तस्करीसम्म

काठमाडौं। कुनै कम्पनी नै नभइ करोडौंको कारोबारमा सक्रिय नरेश अग्रवाल अहिले सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासतमा छन्। मुलुकका अन्य ‘हाइ प्रोफाइल’ अभियुक्तजस्तै उनका लागि सुविधायुक्त अस्पताल हिरासतमा रुपान्तरित भएको छ। लामो समयदेखि नेपालभित्र व्यवसायमा सक्रिय उनी अपराधको केसमा मुछिए पनि प्रतिवादीबाट उम्किँदै आएका थिए।

Tata
GBIME
Nepal Life

‘चार/पाँच वर्षअघि एउटा सुन प्रकरणमा अग्रवालको नाम अनुसन्धानमा जोडिएको थियो। तर, उनी प्रतिवादी बनेको देखिएन। मिसिलमा भने उनको नाम छ,’ राजस्व अनुसन्धान विभागका एक कर्मचारीले उनको पहुँचमाथि संकेत गर्दै भने।

नरेशलाई चिन्नेहरुलाई थाहा छ, उनी नेपाली नागरिक होइनन्। दार्जिलिङ कालिङपोङ स्थायी ठेगाना बताए पनि उनको परिवार लामो समयदेखि काठमाडौंमा बस्दै आएको छ।भारतीय नागरिक रजिष्ट्रेसन नम्बर १७२७/२००४, भारतीय राजदूतावास काठमाडौंको देखियो। सतहमा हेर्दा कपडादेखि मालाको कारोबार गर्ने देखिन्छ।

बौद्धमा बौद्धमार्गीका लागि चाहिने कपडादेखि गहनासम्म पाइने ‘मण्डला स्टोर’ नाम गरेको पसल छ। मण्डला स्टोर उनका छोरा अभिषेकको नाममा दर्ता छ। कुनै समय उनका छोराबुहारीले उक्त स्टोर सम्हालेका थिए। नरेशलाई चिन्नेहरुले थाहा पाएको कारोबारको केन्द्र यही बौद्धको स्टोर नै हो। यसबाहेक कम्पनी रजिष्ट्रारको कार्यालयमा अग्रवालका नाममा कुनै पनि कम्पनी दर्ता भएको देखिदैन। बौद्धमा रहेको स्टोरको आकारभन्दा ठूलो आर्थिक कारोबारले उनीमाथि पर्याप्त संशय गर्ने आधार दिन्छ। सँगै प्रश्न पनि यति धेरै रुपैयाँ कसरी आयो?

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार सतहमा स्टोर देखिए पनि उनको भित्री व्यापार अर्कै देखिन्छ। ती अधिकृतको दाबीलाई मान्ने हो भने उनी हुन्डी, क्रिप्टो  र सुन तस्करीमा संलग्न छन्। रोचक चाहिँ गैरकानुनी कारोबारमा संलग्न रहँदारहँदै पनि उनी प्रहरी फन्दाबाट सधैं बच्न सक्नु हो।

बारम्बार अवैध गतिविधिमा नाम जोडिए पनि उनी अनुसन्धानको घेराबाहिरै थिए। गत माघ ४ गते राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीबाट उनलाई समात्यो। उनको डेरामा छापा मारियो। उनलाई चिन्नेले उनी बस्दै आएको घर उनकै भन्ने दाबी गर्छन् तर अनुसन्धानका क्रममा त्यस्तो देखिएन।

‘हामीले घरको पनि अनुसन्धान गरेका थियौं। तर, उसको नाममा देखिएन,’ अनुसन्धानमा खटिएका ती अधिकृतले सुनाए।

सोही दिन उनको घरबाट प्रहरीले १ करोड ९९ हजार नगद बरामद गर्‍यो। त्यस्तै, १ हजार ९९४ अमेरिकी डलर पनि फेला पार्‍यो। कहाँबाट आयो करोडौं नगद?

अनुसन्धान टोलीसामु नरेशले जेलाई स्रोतका रुपमा बताए, विश्वासयोग्य थिएन। त्यसपछि राजस्वको टोलीले उनलाई पक्रियो र अनुसन्धान थाल्यो। चलाखीपूर्ण रुपमा उनले बयान दिएका थिए – ‘एक वर्षदेखि रकम स्टोर गरेर राखेको।’ त्यसको कारण पनि उनले दिए – बैंक खाता छैन। साथीभाइमार्फत् दिएको सापटीको रकम।

उनले जे बयान दिए त्यसले उनको कारोबार गैरकानुनी देखायो। बयानमा उनले भनेका छन्, ‘सापटीको रकम हालसम्म सबैजसो फिर्ता गरेका छन्। व्यापार गर्ने व्यक्तिले इमर्जेन्सी पेमेन्ट गर्न रकम अभाव हुँदा मबाट लैजाने भएकाले बढीमा एक हप्तासम्म राख्ने गर्छन्। मबाट धेरैमा ५ देखि १० लाख सापटी लैजाने गर्दछन्। उनीहरूले पैसा फिर्ता गर्दा आफ्नो खुसीले १ लाखमा १ हजारजति दिने गर्छन्,’ बयानमा अग्रवालले भने।

अभियोगपत्रमा उल्लेखित अंश

एक सातामा १ लाख ऋणमा १ हजार आम्दानी ! यसबाट आकलन हुन्छ उनको धन्दा कस्तो थियो भन्ने। आफूलाई बिरामी बताउँदै बयानमा उनले घरबाटै कारोबार गर्दै आएको स्वीकारेका छन्। शक्तिशाली नरेश सहजै पक्राउ परेका भने होइनन्।

प्रहरीले हुन्डी कारोबारीको गिरोह नै पक्राउ गरेको थियो, जसले ‘पोले’पछि मात्रै अनुसन्धान उनीतिर बढ्यो।

हुन्डी कारोबारको अभियोगमा प्रहरीले दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीलाई नियन्त्रणमा लिएको थियो। जसको बयानले अग्रवाल अनुसन्धानको घेरामा परेका थिए। दिवस कार्कीले ६ महिना अघिदेखि अग्रवाललाई चिनेको र १० पटकसम्म रकम लेनदेन भएको बयान दिएका थिए। उनी माघ ४ गते बेलुका ७ बजेतिर कीर्तिपुरको खसी बजारबाट समातिएका थिए। फोन कल, बरामद सामान, प्रतिवादीको बयानको आधारमा अग्रवाल हुन्डी कारोबारमा छन् भन्ने खुलेपछि उनी समातिए। राजस्व अनुसन्धान विभागबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको थियो।

विभागको अनुसन्धानमा दिवस कार्कीको नाममा खोलिएका बैंक खाताहरुमा सन् २०२१ जनवरीदेखि सन् २०२४ फेब्रुअरी सम्म ६ करोड ९० लाख ५७ हजार जम्मा भएकोमा ६ करोड ८८ लाख ६८ हजार ५३ रुपैयाँ खर्च भएको देखिएको थियो। राजस्व अनुसन्धान विभागले कार्कीका साथबाट २१ लाख ६३ हजार २९० रुपैयाँ फेला पारेको थियो। सो रकम नरेशले दिएको अनुसन्धानमा देखियो। नरेशले दिवसको बैंक अकाउन्ट चलाउने गरेको अनुसन्धानमा खुल्यो।

नरेशसँग भेटिएको विदेशी मुद्राको स्रोतका रुपमा उनले ‘विदेशीले बौद्धमा सामान किन्दा दिएको नगद र श्रीमतीको संकलन’ भनेर चलाखीपूर्णरुपमा बयान दिएका छन्। बयानका क्रममा उनले सावधानी अपनाइरहेको अनुसन्धान गर्नेहरुले बुझेका छन्। उनको प्रयास सहज तरिकाले प्रक्रिया पूरा गरेर थुनामुक्त हुने देखिन्छ।

हुन्डीको कारोबार र सँगै केही रकम चोरिएको विषय समेत नजोडिएको भए उन्मुक्त हुने उनको उपायले काम गर्न सक्थ्यो। उनको केही रकम चोरिएको भए पनि प्रहरीमा उजुरी गरेका छैनन्। चोरीको रकमको स्रोत खुल्ने आधार नभएपछि उनले उक्त विषयलाई कोट्याउन नचाहिरहेको अनुसन्धानकर्ताको दाबी छ। राजस्व अनुसन्धानले पनि यस विषयमा जानकारी लिएको थियो। तर, त्यसलाई पुष्टि गर्ने प्रमाण संकलन गर्न सकेको छैन।

अदालतबाट सवा करोड रुपैयाँ धरौटी!

उनीविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी विनिमयको अवैध कारोबारमा जिल्ला अदालतमा १ करोड २५ लाख बिगो माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा फागुन १५ गते अदालतले १ करोड २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। तर, उनले धरौटी रकम बुझाएनन्। यसैबीच एसबीआइ बैंक ग्यारेन्टी बसेपछि उनी थुनामुक्त भए।

तर, लगत्तै उनी समातिए। यसपटक सम्पत्ति शुद्धीकरण विभागले उनलाई नियन्त्रणमा लियो। उनको गाडी जफत गरेर अहिले थप अनुसन्धान गरिरहेको छ। उनी फेरि हिरासतमा छन्, तर अस्पतालमा। यसअघि राजस्व अनुसन्धान विभागबाट पक्राउ पर्दा पनि बिरामी भन्दै उनी अल्का अस्पतालमा भर्ना भएका थिए।

‘इन्सुलिन लिने रहेछन्। पक्राउ गरेर ल्याएपछि नै लल्याकलुलुक भएपछि डर लागेर अस्पतालमा नै राखेका हौं। साँच्चै बिरामी हुन् कि अभिनय गरे भन्ने पत्तो भएन,’ अनुसन्धानमा खटिएका एक अधिकृतले सुनाए।

अग्रवाल यसअघि पनि सम्पत्ति शुद्धीकरणमा परेका थिए। सात वर्षअघि २०७३ साउनमा उनलाई अदालतले सफाइ दिएको थियो। त्यतिखेर उनीविरुद्ध स्रोत नखुलेको २८ लाख रुपैयाँलाई लिएर अनुसन्धान गरिएको थियो। सफाइ पाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट २८ लाख ७६ हजार ५ सय फिर्ता पाएका थिए। त्यही रकम घरमा नै राखेको उनको दाबी थियो। तर, विभागको अनुसन्धानमा उनले घरमा रकम राखेको देखिएको छैन।

त्यसो त उनको बयानमा स्रोत खुलाउन २८ लाख रुपैयाँ दाजु मामनचन अग्रवालले दिएको समेत बताएका छन्। दाजुको पनि पसल छ।

विशेष अदालतमा पनि साढे ८ करोडको मुद्दा

चैत ६ गते सम्पत्ति शुद्धीकरणले विशेष अदालतमा नरेश अग्रवालसहित चार जना विरुद्ध अभियोगपत्र दायर गरेको छ। अदालतमा व्यापारी अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्की विरुद्ध मुद्दा दायर भएको हो। उनीहरू चारविरुद्ध फरक-फरक बिगो र सजाय दाबीसहित अभियोगपत्र दायर भएको छ।

अग्रवालसँग ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो दाबी गरिएको छ। अग्रवालका नाममा रहेको बा १९ च १०१७ को होन्डाको कार समेत सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा (१) को खण्ड (क) बमोजिम जफत गर्न अनुरोध गरिएको छ।

त्यस्तै, अर्का प्रतिवादी दिवस कार्कीको हकमा ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ बिगो माग गरिएको छ। दीपक शाह ठकुरीको हकमा भने ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ बिगो माग छ। मनमोहन साह कलवारसँग पनि ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो छ।

उनी साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको ६१ किलो सुन प्रकरणमा पनि शंकाको घेरामा रहेका व्यक्ति हुन्। तर, उनीमाथि त्यस विषयमा अनुसन्धान नै भएन। अहिले फेरि उनीमाथि सुन र क्रिप्टो करेन्सी लगायतका विषयलाई लिएर अनुसन्धान हुने भएको छ।