विपद् पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि एनसेललाई सरकारको सम्मान

बिजमाण्डू
२०८० चैत्र ९ गते १३:०२ | Mar 22, 2024
विपद् पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि एनसेललाई सरकारको सम्मान

काठमाडौं। नेपाल सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सम्मान गरको छ। बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिल चन्द्र तिवारीले एनसेललाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका हुन्।

Tata
GBIME
Nepal Life

एनसेलले पूर्व सूचना प्रणाली सञ्‍चालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्‍याएको योगदानका लागि उक्त कदर पत्र प्रदान गरिएको हो। पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ।

गत पुसमा मात्र एनसेलले जल तथा मौसम विज्ञान विभागसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेर सहकार्यलाई थप विस्तार गरेको थियो। जस अन्तर्गत पूर्व सूचना प्रणालीमा अब १३ वटा जोखिमहरु समेटिएका छन्।

यसै अनुरुप एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरूका बारेमा पूर्व सूचना प्रवाह गर्दै आएको छ। यसमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात प्रकोप रहेका छन्।

सन् २०१८ मा पनि जल तथा मौसम विज्ञान विभाग र सोसाइटी अफ हाइड्रोलोजिष्ट एन्ड मेटिओरोलोजिस्ट (सोहम), नेपालले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि डा. ऋषि राम शर्मा विपद् पूर्वतयारी तथा प्रतिकार्य पुरस्कार प्रदान गरेको थियो।

कदर पत्र ग्रहण गरेपछि उत्साह प्रकट गर्दै एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले भने, ‘जल तथा मौसम विज्ञान विभागसँग पूर्व सूचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा हामी खुसी छौँ र यो कदर पत्रका लागि हामी आभारी छौँ। हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता अनुरुप यो सहकार्य गरिरहेका छौं। सम्भावित विपद्‍बाट आम नेपालीको जनधन जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ। हामी सारा नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छौं र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरु गर्दै जाने छौं।’

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सूचित गर्दै आ-आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसैगरी विपद् पूर्व तयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरूलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्‍याउँछ।

सन् २०१६ देखि एनसेलले निरन्तर बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ। २०२३ मा एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो।