काठमाडौं । बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ मार्फत दिन थालेको छ।
नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह तालसहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको हो।
नगरपालिकाको नक्सामा ती गन्तव्यको पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए। ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ पर्यटकीय स्थलमा टाँस गर्ने र उक्त स्थानको विषयमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने उनको भनाइ छ।
‘थुप्रै पर्यटकीयस्थल बागलुङ नगरपालिका भित्र छन्। जसमध्ये नगरपालिकाले पहिलो चरणमा ११ गन्तव्यको विषयमा जानकारी दिन डिजिटल माध्यमबाट व्यवस्था मिलाएका छौं। घुम्न आएका पर्यटकहरु उक्त गन्तव्यको विषयमा अनविज्ञ भइरहेको सन्र्दभमा तत्कालीन पर्यटकीयस्थलमा टाँसिएको क्यूआर कोड स्क्यान गरि जानकारी लिन सक्नेछन्,’ उनले भने।
नगरपालिकाले पर्यटन शीर्षकमा विनियोजन गरेको तीन लाख बजेटमध्ये सारंग डट कमको सहकार्यमा पर्यटकीय स्थलको जानकारी डिजिटल माध्यमबाट दिन थालिएको हो। नगरपालिकाले आगामी वर्ष थप प्राथमिकताका आधारमा पर्यटकीय गन्तव्यको क्यूआर कोड बनाउँदै लैजाने जनाएको छ।
सो कार्यले धार्मिक तथा ऐतिहासिक महत्वको उजागरमा थप सहयोग पुग्ने बताइएको छ। अङ्ग्रेजीमासमेत अनुवाद गरिएकाले पर्यटकीय स्थानको विषयमा विदेशी पर्यटकलाई समेत सहज हुने नगरप्रमुख वसन्त कुमार श्रेष्ठको विश्वास छ। उनका अनुसार नगरपालिकाले कालिका मन्दिरमा पनि क्यूआर कोड टाँसेर पर्यटकीयस्थलको आधुनिक जानकारी दिने तयारी थालेको छ।
‘हरेक कुरा डिजिटल बन्न आवश्यक छ। पर्यटकीय स्थलमा किन आउने भन्ने जानकारी पर्यटकलाई समेत हुन आवश्यक छ। उक्त क्यूआर स्क्यान प्रत्येक होटल तथा पर्यटन व्यवसायीले राख्नुपर्ने व्यवस्था गरेका छौं। पर्यटकले महत्वका आधारमा आफैँ अध्ययन गरेर भ्रमणमा जान सक्नेछन्।’
नगरपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्यमा कालिका मन्दिर, बागलुङ–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट, मालिका, बागलुङ–८ सिँगानाको कोत घर, बागलुङ–११ को रायडाँडाको बौद्ध गुम्बा, पर्यटकीय गाउँ भुकुण्डेको बराह ताल, कुडुँलेको शालग्राम सङ्ग्रहालय, बलेवा भैरवस्थान मन्दिर, मालढुङ्गाको कृष्ण गण्डकी परियोजना, उपल्लाचौरको गौरिधाम शिव मन्दिर र तित्याङको मनकामना मन्दिरको जानकारी डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।