काठमाडौं। राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदले पद तथा गोपनियताको शपथ लिएका छन्।
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले सोमबार संघीय संसद् भवनमा एक समारोहबीच नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।
सपथ लिनेमा कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाय, नारायणदत्ता भट्ट र बलदेव बोहरा छन्।
यस्तै माओवादीका झक्कुप्रसाद सुवेदी, पूजा चौधरी, मनरुपा शर्मा, विष्णुबहादुर विश्वकर्मा, रेनु चन्द र श्रीकृष्ण अधिकारी, एकीकृत समाजवादीका घनश्याम रिजाल र सावित्री मल्ल तथा एमालेकी रुक्मिणि कोइरालाले सपथ लिएका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको ६ वर्षे कार्यकाल आइतबार सकिएको थियो। उनीहरुको कार्यकाल सकिनुअघि नै माघ ११ गते निर्वाचन गरी १९ सदस्य चुनिएका थिए। बाँकि १ जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ।
राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बनेको छ। नवनिर्वाचित सांसदले सपथ लिएसँगै उसँगको सिट संख्या १७ पुगेको छ।
नेपाली कांग्रेस १६ सिटसहित दोस्रो दल हो।
नेकपा एमाले भने सिट संख्याका आधारमा तेस्रोमा झरेको छ। उसँग १० सांसद छन्। नेकपा एकीकृत समाजवादी ८ सांसदसहित चौथो दलमा कायमै छ।