नाफामुखी भएको भन्दै च्याटजीपीटी बनाउने ओपनएआईविरुद्ध इलन मस्कले हाले मुद्दा

बिजमाण्डू
२०८० फागुन २० गते ०६:५३ | Mar 3, 2024
नाफामुखी भएको भन्दै च्याटजीपीटी बनाउने ओपनएआईविरुद्ध इलन मस्कले हाले मुद्दा
Photo : Startauto

इलन मस्कले च्याट जीपीटी निर्माण कम्पनी ‘ओपनएआई’ विरुद्ध मुद्दा हालेका छन्। सन् २०१५ मा आफूले कम्पनी खडा गर्न सहयोग गरेको बेला तय भएको सहमति विपरीत ओपनएआईले काम गरेको मस्कको दाबी छ।

Tata
GBIME

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानविरुद्धसमेत दायर मुद्दामा मस्कले कम्पनी ‘गैर नाफामुखी’ हुने उद्देश्यबाट पछि हटेको दाबी गरिएको छ।

मानव सभ्यतालाई फाइदा हुने काममा लाग्ने उद्देश्य विपरीत ओपनएआई धेरैभन्दा धेरै नाफा कमाउनतिर लागेको मस्कले आरोप लगाएका छन्।

मानिसले गर्न सक्ने कुनै पनि काम गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को निर्माण गर्न ओपनएआई गैर नाफामुखी  कम्पनीका रुपमा स्थापना भएको थियो। जसको अर्थ सो कम्पनीको उद्देश्य पैसा कमाउने होइन। मस्कले यसैलाई आधार मानेर मुद्दा हालेका हुन्।

मस्कले अल्टम्यान र अर्का सहसंस्थापक जर्ज ब्रोकम्यानसँग कम्पनी खोल्दा गरिएका सहमति पालना नभएको बताएका छन्।  

‘ओपनएआई स्थापना गर्दा जुन कुराको समझदारी भएको थियो त्यसैमा कायम रहेर काम गर्न भन्दै मुद्दा दर्ता भएको हो। ओपनएआईको उद्देश्य मानवीय सहायताका लागि आर्टिफिसियल जेनरल इन्टेलिजेन्स निर्माण गर्नु हो, कुनै खास व्यक्ति वा विश्वको ठूलो प्रविधि कम्पनीलाई फाइदा दिनु होइन,’ दर्ता भएको निवेदनमा उल्लेख छ।

ठूलो प्रविधि कम्पनी भने यहाँ माइक्रोसफ्टलाई लक्षित गरिएको हो। हाल च्याटजीपीटीमा माइक्रोसफ्टको दबदबा बढेको मस्कको बुझाइ छ।

गत बुधबार वाल स्ट्रिटजर्नलले च्याटजीपीटी निर्माण कम्पनीले लगानीकर्तालाई भ्रममा राखेको बारे नियामक निकायले छानबिन गरिरहेको उल्लेख गरेको थियो। त्यसपछि मस्कले यो मुद्दा हालेका हुन्।

मस्कले एक्स (पहिला ट्वीटर)मा ओपनएआई विरुद्ध किन मुद्दा हालेको भन्ने भिडियो पनि साझा गरेका छन्। जसमा उनले ओपनएआई नाफामुखी भएको बताएका छन्।