मन्त्रिपरिषद्को निर्णय एक महिनामा कार्यान्वयन, एनएसी उपाध्यक्ष राईले सम्हाले जिम्मेवारी

बिजमाण्डू
२०८० फागुन १८ गते १७:४० | Mar 1, 2024
मन्त्रिपरिषद्को निर्णय एक महिनामा कार्यान्वयन, एनएसी उपाध्यक्ष राईले सम्हाले जिम्मेवारी
विक्रम राई

काठमाडौं। नेपाल वायु सेवा निगम (एनएसी)मा उपाध्यक्ष नियुक्त गर्ने निर्णय एक महिनामा बल्ल कार्यान्वयन भएको छ। उपाध्यक्ष विक्रम राईले मन्त्रिपरिषद्‍ले निर्णय गरेको महिना दिन पुगेपछि पद्‍भार ग्रहण गर्न पाएका छन्।

Tata
GBIME

मन्त्रिपरिषद् बैठकले गत माघ १८ गते राईलाई एनएसीको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। एनएसीको इतिहासमै पहिलो पटक उपाध्यक्ष नियुक्त गरिएको हो।

निर्णय कार्यान्वयनमा एनएसीका अध्यक्ष युवराज अधिकारीले आलटाल गर्दै आएका थिए। उनले राईको नियुक्तिलाई आफ्नो जिम्मेवारी खोस्ने तयारीका रुपमा लिएका छन्। निगमका एक उच्च अधिकृतले पनि राईलाई सरकारले कार्यकारी अधिकार दिने सम्भावना रहेको बताए।      

नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा ४ को उपदफा ४ मा संचालकहरुमध्येबाट सरकारले अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्न सक्ने तथा निजको कार्यावधि सरकारको इच्छाअनुसार हुने व्यवस्था छ।

उपदफा ५ मा सरकारले चाहेमा अध्यक्ष, उपाध्यक्ष वा कुनै संचालकलाई महाप्रबन्धकको काम कर्तव्य सुम्पी कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी संचालकको रुपमा नियुक्त गर्ने सक्ने व्यवस्था छ। निगममा अहिले महाप्रबन्धक छैनन्। अधिकारी कार्यकारी अध्यक्षका रुपमा कार्यरत रहँदै सरकारले उपाध्यक्ष नियुक्त गरेको हो ।