बैंकर पक्राउपछि बैंकिङ क्षेत्र आतंकित, ‘डुबेको ऋणमा समाउने हो भने सबै बैंकर जेलमा हुन्छन्’

सुदर्शन सापकोटा
२०८० फागुन १५ गते १८:३३ | Feb 27, 2024
बैंकर पक्राउपछि बैंकिङ क्षेत्र आतंकित, ‘डुबेको ऋणमा समाउने हो भने सबै बैंकर जेलमा हुन्छन्’

काठमाडौं। देउराली सहकारीका सञ्चालकलाई दिएको ऋणमा हिनामिना गरेको आरोपमा बैंकरहरु पक्राउको समाचार प्रकाशित भएपछि बिजमाण्डूमा एउटा फोन आयो।

Tata
GBIME
Nepal Life

समाचारमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तुलसीराम गौतम, मनोज न्यौपानेसहित ११ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको विषय उल्लेख थियो। सेञ्चुरी मर्जरपछि प्रभु बैंक भइसकेको छ।

एक वाणिज्य बैंकमा कार्यरत ती महिला कर्मचारीले फोनमा भनिन्- हाकिमको निर्देशनमा साइन गर्नु पर्ने हुन्छ। साइन गरिएको पनि छ। त्यसका आधारमा पक्राउ गर्न मिल्छ? 

सेञ्चुरी र प्रभु दुवैमा संलग्न नरहेकी ती कर्मचारी अर्कै बैंकको कर्जा विभागमा कार्यरत छिन्। हाकिमको निर्देशन र दबाबमा साइन गरेका कर्मचारीलाई समाउनु हुँदैन भन्ने उनको भनाइ छ।

लगत्तै बिर्तामोडबाट अर्का एक बैंकरले फोनमा चासो राखे- कस्तो ऋण दूरुपयोगमा पक्राउ गरेको हो? 

उनले लगत्तै अर्को प्रश्न गरे- हिजोको भ्यालुएसन (धितोको मूल्यांकन) आज घट्यो भनेर त पक्राउ गरेको होइन नि?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मंगलबार देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाइँका निजी कम्पनीहरुमा धितोले खाम्नेभन्दा बढी ऋण दिएको र त्यो ऋण डुबेको आरोपमा गौतम, न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ।

न्यौपाने अहिले प्रभु बैंकमा वरिष्ट डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्। पक्राउ परेका अन्य कर्मचारीमा सबिन घिमिरे, अनुपमा श्रेष्ठ मानन्धर, सुनील बस्नेत, सुभाष श्रेष्ठ, दीलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ हुन्। तीमध्ये चार जना बहालवाला र ५ जना भर्खरै अवकाश भएका कर्मचारी हुन्।

ऋण लगानीमा तत्कालीन प्रमुख कार्यकारीसहित अन्य कर्मचारी (जो, अधिकृत स्तरका पनि छन्) को संलग्नता देखिएको भन्दै सीआईबीले पक्राउ गरेको हो।

बैंकर पक्राउपछि बैंकिङ क्षेत्र नै आतंकित बनेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृतदेखि तल्लो तहका कर्मचारीसम्म आत्तिएका छन्।

‘ऋण डुब्यो वा उठेन भनेर पक्राउ गर्न थालियो भने त सबै बैंकरलाई थुन्नु पर्ने हुन्छ’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘बैंकहरुको खराब ऋण साढे तीन प्रतिशत त्यसै त पुगेको होइन, डुबेरै हो। ऋण डुब्यो भन्दैमा थुन्ने हो भने को जोगिएला र?’

उनको चिन्ता छ- ऋण डुबाएको भन्दै थुन्ने हो भने बैंकिङ प्रतिको विश्वास डगमगाउँछ। ‘अनुसन्धान सकेर, अदालतमा मुद्दा हाल्दा हुन्थ्यो। फटाइँ नै गरेको हो भनेर अदालतले फैसला गरेपछि कानुन अनुसार थुन्ने बाटो थियो। तर यहाँ थुनेर आतंकित गर्न खोजियो’ ती बैंकरले भने।

अहिलेको पक्राउको वास्तविकता के हो भन्ने आधिकारिक रुपमा नआउँदा बैंकरहरु आत्तिएका हुन्। अहिले प्रहरीले ऋण दूरुपयोगमा बैंकरको संलग्नता देखिएकाले पक्राउ गरिएको प्रतिकृया दिएको छ। यसबाहेक केही पनि खुलाएको छैन।

बैंकरहरु ‘कस्तो विषयमा प्रहरीले समाएको हो’ भन्नेमा प्रष्ट नहुँदा आत्तिएका हुन्। ‘अहिले भ्यालुएसन (धितो मूल्यांकन) को कुरा आएको छ। हिजो सबैथोक राम्रो हुँदा धितो पनि राम्रो थियो र मूल्य बढी आएको थियो होला,’ अर्का एक बैंकरले भने, ‘आज बजार चलेको छैन। त्यसैले सबैको दाम घट्दा धितो पनि घटेको होला। यस्तोमा भ्यालुएसन घट्यो भनेर समाउने हो भने त सबै बैंकर जेलभित्र हुन्छन्।’

नेपाल राष्ट्र बैंक र बैंकर्स संघले अहिलेको विषयमा सदस्य बैंकका कर्मचारीलाई स्पष्ट जवाफ दिएर भरोसा दिलाउनु पर्ने बैंकरहरु बताउँछन्। ‘ठूला हाकिमहरुले गरेको कुरा सानालाई थाहा पनि हुँदैन। यदि विरोध जनाइयो भने उसको सरुवा हुन्छ वा बढुवा रोकिन्छ,’ बिजमाण्डूमा फोन गर्ने ती कर्मचारीले भने, ‘हाकिमले भनेपछि साइन गर्न कर लाग्छ। तर त्यत्तिका भरमा पक्राउ पर्नु पर्ने अवस्था आउँछ भन्ने के थाहा हुन्छ र?’

एकथरी बैंकर बैंकिङ प्रणालीलाई नै सक्नका लागि अहिले गतिविधिहरु भइरहेको बताउँछन्। उनीहरु भन्छन्- बैंक डुब्दैछ भन्ने दुर्गा प्रसाइँलाई समाउन छाडेर बैंक जोगाउनेहरुलाई पक्राउ गर्नुले राज्यको भूमिकामाथि सन्देह पैदा भएको छ।