गगनले संसद्‍मै मागे मन्त्री बस्नेतको राजीनामा, रवि लामिछाने र संसद् महासचिवलाई निलम्बन गर्न माग

बिजमाण्डू
२०८० फागुन १४ गते १३:५५ | Feb 26, 2024
गगनले संसद्‍मै मागे मन्त्री बस्नेतको राजीनामा, रवि लामिछाने र संसद् महासचिवलाई निलम्बन गर्न माग

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका मन्त्री मोहन बस्नेतलाई सरकारबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा गगनले स्वास्थ्यमन्त्री बस्नेतलाई सरकारबाट हटाउन माग गरेका हुन्।

Tata
GBIME

‘अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झन्डा छोपेर घर पठाइदिउँ,’ गगनले भने। ललितपुरको गोदावरीमा सम्पन्‍न महासमिति बैठकमा पनि दाग लागेका मन्त्रीलाई घर पठाउन गगनले सुझाएका थिए।

यसैगरी गगनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि सांसद पदबाट निलम्बन गर्न माग गरेका छन्। उनले संसद्‍का महासचिव पद्म प्रसाद पाण्डेयलाई पनि हटाउनुपर्ने धारणा राखे।

‘अनि सहकारी ठग्ने, दुई/चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर हुन्‍न घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं,’ गगनले भने।

ग्यालेक्सी टेलिभिजनको सञ्‍चालनताका लामिछानेले जिबी राईसँग मिलेर सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ। यसबारे रवि र गगनको यसअघि नै संसद्‍मा दोहोरी चलेको थियो। यता संसद्‍का महासचिव पाण्डेयलाई पनि दुईवटा नागरिकता बनाएको आरोप लागेको छ।

यस्तो गर्न सके संसद्‍मा आएका मुद्दामा राम्रोसँग छलफल गर्न सकिने उनको भनाइ थियो।

‘अलिअलि सफा गर्न सके यहाँ मजासँग मिटरब्याजका बारेमा, दुध किसानले मूल्य नपाएको बारेमा, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिएला,’ संसद्‍मा जारी पछिल्लो गतिविधिलाई लक्षित गर्दै गगनले भने, ‘हैन भने यताकोले उताकोलाई देखाउने दोहोरी चलिनै रहन्छ।’