क्यानडासँगको सिरिजमा नेपालको क्लिन स्वीप, दुई शतकसँगै साझेदारीमा पनि बन्यो कीर्तिमान

बिजमाण्डू
२०८० माघ २९ गते १६:२० | Feb 12, 2024
क्यानडासँगको सिरिजमा नेपालको क्लिन स्वीप, दुई शतकसँगै साझेदारीमा पनि बन्यो कीर्तिमान

काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न तेस्रो खेलमा क्यानडालाई ९ विकेटले हराउँदै नेपाल घरेलु मैदानमा क्लिनस्वीप गर्न सफल भएको हो।

Tata
GBIME

यसअघि पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटले क्यानडाविरुद्ध जित निकालेको थियो।

यो सिरिजलाई विश्वकप लिग २ को तयारीका रुपमा दुवै टोलीले लिएका थिए। लिग २ अन्तर्गतको सिरिजमा नेपालले बिहीबार नामिबियाविरुद्ध खेल्नेछ।

एकै इनिङ्समा पहिलो पटक दुई शतक

सोमबार टस हारेर ब्याटिङमा उत्रिएको क्यानडाले नेपाल सामू २३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४४.३ ओभरमा १ विकेट गुमाएर सजिलै लक्ष्य भेट्टाउन सफल भयो।

नेपालबाट ओपनिङमा आएका कुशल भुर्तेल १३ रन बनाएर खेलिरहँदा डिलियन हेइलिगरले बोल्ड आउट गर्न सफल भए। इन्निङ्सको सुरुमै अम्पायरको चेतावनीबीच क्यानडाका खेलाडी पिचमा हिँडेपछि नेपालले पाँच पेनाल्टी रन पाएको थियो। तर, त्यसपछि आएका भीम सार्कीले अनिल कुमार साहसँग कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्‍याए।

शतक प्रहार गरेपछि भीम सार्की। तस्बिर: क्यान

यी दुईजनाले १८९ रनको साझेदारी गरे। यसअघि सबैभन्दा ठूलो साझेदारी कुशल भुर्तेल र आशिफ शेखको नाममा थियो। ती दुईले जिम्बावेविरुद्ध १७१ रनको साझेदारी गरेका थिए।

त्यस्तै, नेपाली क्रिकेट टोलीबाट एकै इन्निङ्समा पहिलो पटक दुई शतक बनेको छ।  

अनिल १२४ बलमा १२ चौका र २ छक्काको सहायतामा ११२ रन बनाउँदै अविजित रहे। उनी यही महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्। क्यानडाविरुद्धको सिरिजको दोस्रो खेलबाट नेपाली टोलीमा पुनरागमन गरेका उनले उक्त खेलमा पनि कीर्तिमानी अर्धशतक बनाएका थिए। उक्त खेलमा उनी नेपालका लागि सबैभन्दा छिटो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने खेलाडी बनेका थिए।

यस्तै, भीम सार्की १२९ बलमा ११ चौका र १ छक्काको सहायतामा १०१ रन बनाउँदै अविजित रहे। दुवैजनाले पहिलोपटक शतक प्रहार गरेका हुन्।

क्यानडाको इन्निङ्स

यसअघि टस हारेर सुरुवाती ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो।

अघिल्लो खेलमा भन्दा ४ जना खेलाडी परिवर्तन गरेको नेपाली टोलीबाट आज हेमन्त धामीले डेब्यू गरे। डेब्यु खेलमै उनले सर्वाधिक ३ विकेट लिन सफल भए। उनैले पहिलो विकेटका रुपमा ४ रन बनाएका ओपनर आरोन जोन्सनलाई देव खनालबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।

दोस्रो विकेट अर्का युवा खेलाडी आकाश चन्दले लिए। उनले १३.६ ओभरमा २२ रन बनाएका श्रीमन्था विजयारत्नेलाई रोहित पौडेलबाट क्याचआउट गराउँदा नेपालको बलिङमा औसत् सुरुवात रह्यो।

क्यानडाविरुद्ध फिल्डिङमा नेपाली टोली। तस्बिर: क्यान

तेस्रो विकेट कुशल मल्लले लिए। निकोलस किर्टनलाई १८.१ ओभरमा मल्लको बलमा भीम सार्कीले क्याचआउट गरे।

क्यानडाका लागि अर्धशतक बनाएका नवनीत धलिवाल ५० रनमा ललित राजवंशीको बलमा क्याचआउट भए। त्यस्तै दोस्रो ठूलो स्कोर बनाएको हर्ष थकरलाई ३६.५ ओभरमा कुशल मल्लले एलबीडब्लु आउट गराउँदा स्कोर बोर्डमा क्यानडा १३४-५ को अवस्थामा थियो।

मध्यक्रममा आएर क्यानडाको इनिङ्स उकास्न सहयोग गरिरहेका श्रेयस मोभ्भालाई हेमन्त धामीले पभेलियन फर्काए। ४५.४ ओभरमा धामीको बलमा कुशल भुर्तेलले सजिलै क्याच गरेका थिए।

४७.५ ओभरमा ४५ रन बनाएका निखिल दत्त रनआउट हुँदा नेपालले थप दबाब बनाउन सफल भयो। ४८.३ ओभरमा डिलियन हेलिगर धामीको बलमा आरिफबाट क्याचआउट भए।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले समान १ विकेट लिए। क्यानडाका कप्तान साद बिन जफर ३१ र शाहिद अहमज्दाइ ५ रनमा अविजित रहे।