नेपाललाई २ सय ३३ रनको लक्ष्य, डेब्यु खेलमै हेमन्त धामीले लिए तीन विकेट

बिजमाण्डू
२०८० माघ २९ गते १३:१४ | Feb 12, 2024
नेपाललाई २ सय ३३ रनको लक्ष्य, डेब्यु खेलमै हेमन्त धामीले लिए तीन विकेट
तस्बीर: क्यान

काठमाडौं। क्यानडाले नेपालसामू २ सय ३३ रनको चुनौती प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको हो।

Tata
GBIME
NLIC

अघिल्लो खेलमा भन्दा ४ परिवर्तन गरेको नेपाली टोलीबाट आज हेमन्त धामीले डेब्यू गरे। डेब्यु खेलमै उनले सर्वाधिक ३ विकेट लिन सफल भए। उनैले पहिलो विकेटका रुपमा ४ रन बनाएका ओपनर आरोन जोन्सनलाई देव खनालबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।

दोस्रो विकेट अर्का युवा खेलाडी आकाश चन्दले लिए। उनले १३.६ ओभरमा २२ रन बनाएका श्रीमन्था विजयारत्नेलाई रोहित पौडेलबाट क्याचआउट गराउँदा नेपालको बलिङमा औशत सुरुवात रह्यो।

तेस्रो विकेट कुशल मल्लले लिए। निकोलस किर्टनलाई १८.१ ओभरमा मल्लको बलमा भीम सार्कीले क्याचआउट गरे।

क्यानडाका लागि अर्धशतक बनाएका नवनीत धलिवाल ५० रनमा ललित राजवंशीको बलमा क्याचआउट भए। त्यस्तै दोस्रो ठूलो स्कोर बनाएको हर्ष थकरलाई ३६.५ ओभरमा कुशल मल्लले एलबीडब्लु आउट गराउँदा स्कोर बोर्डमा क्यानडा १३४-५ को अवस्थामा थियो।

मध्यक्रममा आएर क्यानडाको इनिङ्स उकास्न सहयोग गरिरहेका श्रेयस मोभ्भालाई हेमन्त धामीले पभेलियन फर्काए। ४५.४ ओभरमा उनको धामीको बलमा कुशल भुर्तेलले सजिलै क्याच गरेका थिए।

४७.५ ओभरमा ४५ रन बनाएका निखिल दत्त रनआउट हुँदा नेपालले थप दवाब बनाउन सफल भयो। ४८.३ ओभरमा डिलियन हेलिगर धामीको बलमा आरिफबाट क्याचआउट भए।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले समान १ विकेट लिए। क्यानडाका कप्तान साद बिन जफर ३१ र शाहिद अहमज्दाइ ५ रनमा अविजित रहे।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

आजको खेलमा जित निकाले नेपालले क्लिन स्वीप गर्न सफल हुनेछ भने क्यानडाले जित यो सान्त्वना जित हुनेछ।