अमेजोनको ५ करोड स्टक बिक्री गर्ने योजनामा जेफ बेजोस, उपहारमा दिइरहेका छन् सेयर



बिजमाण्डू
२०८० माघ २८ गते १५:२९ | Feb 11, 2024
अमेजोनको ५ करोड स्टक बिक्री गर्ने योजनामा जेफ बेजोस, उपहारमा दिइरहेका छन् सेयर
Photo: AP Photo/John Locher, File

जेफ बेजोसले यसै हप्ता अमेजोन डट कम इंकको १ करोड २० लाख कित्ता सेयर बिक्री गरेका छन्। सन् २०२१ पछि बेजोसले पहिलो पटक कम्पनीको सेयर बेचेका हुन्

Tata
GBIME
Zonsen

नियामक निकायबाट प्राप्त विवरणका अनुसार उनले बुधबार र बिहीबार गरेर २ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको सेयर बिक्री गरेका हुन्।

बेजोसले आगामी १२ महिनामा अमेजोनको करिब ५ करोड सेयर बिक्री गर्ने योजना बनाएको अमेजोनले फेब्रुअरी २ मा खुलासा गरेको थियो। सेयरको मूल्य वृद्धि भइरहेको समयमा बिक्री गरेकाले बेजोस विश्‍वको सबैभन्दा धनी व्यक्ति बन्‍ने सम्भावना रहने गल्फ न्युजले उल्लेख गरेको छ।

ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार यस वर्ष २२ अर्ब ६० करोड डलरले बढेर शुक्रबारसम्म उनको सम्पत्ति १ खर्ब ९९ अर्ब ५० करोड डलर पुगेको छ।

सन् २००२ देखि हालसम्म अमेजोन संस्थापक बेजोसले ३० अर्ब डलर बराबरको सेयर बिक्री गरेका छन्। जसमा उनले २०२० र २०२१ मा मात्रै २० अर्ब डलरको सेयर बिक्री गरेका थिए।

खासगरी उनले उपहारको रुपमा सेयर दिइरहेका छन्। उनले नोभेम्बरमा गैर-नाफामुखी संस्थाहरूलाई करिब २३ करोड डलर बराबरको सेयर दान गरेका थिए।