आईपीओले विद्यार्थीलाई बनाउँदै आत्मनिर्भर, पढ्दै कमाउँदै तिर्छन् कलेजको फी

अन्जना सुवेदी
२०८० माघ २७ गते १९:१७ | Feb 10, 2024
आईपीओले विद्यार्थीलाई बनाउँदै आत्मनिर्भर, पढ्दै कमाउँदै तिर्छन् कलेजको फी

काठमाडौं। ठमेल बस्ने मनोज महर्जनले भर्खरै पब्लिक युथ क्याम्पस क्षेत्रपाटीबाट बीबीएस सके। उनी अहिले चौथो वर्षको परीक्षाफल कुरेर बसिरहेका छन्। ३ वर्षदेखि महर्जन सेयर बजारमा सक्रिय छन्।

Tata
GBIME
Nepal Life

साथीहरूले ‘आईपीओ भर्नुपर्छ फाइदा हुन्छ’ भन्दै गर्दा उनी स्नातक दोस्रो वर्षमा पढ्दै थिए। साथीहरूकै कुरा सुनेर उनलाई आईपीओ भरिदिउँ न त भन्ने लाग्यो।

डिम्याट खाता खोलेर महर्जनले आईपीओ भरे पनि। पहिलो आईपीओ थियो नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को। पहिलो पटक भरेको आईपीओ पर्‍यो पनि। आईपीओमा ५ गुणासम्म मूल्य आएपछि बिक्री गरे। त्यसपछि उनलाई सेयर बजारमा आकर्षण गर्‍यो।

‘साथीहरूको कुरा सुनेर भरेको निफ्राको आईपीओ ६०० हाराहारीमा बेचेँ। पैसा आयो, निकै खुसी भएँ। लगातार आईपीओ आउन थाल्यो, भर्दै गएँ। बेचेको पैसाले सुरुदेखि नै कलेजको शुल्क र आफ्नो खर्च पनि पुग्थ्यो। पछि टेक्निकल/फन्डामेन्टल एनालाइसिस नै सिकेँ। सिक्नका लागि ब्रोकरकोमा गएर इन्टर्न गर्दै काम नै गरेँ,’ महर्जनले भने।

मनोज महर्जन

आईपीओपछि उनी ५० हजार लिएर पहिलो पटक दोस्रो बजार छिरे। अहिले सेयर बजारमा १० लाखसम्मको कारोबार गर्ने गरेको उनी बताउँछन्।

सेयर बजारबाट राम्रो कमाइ भएपछि केही रकम घर खर्चको लागि पनि दिन्छन्। केही रकमले आफ्नो व्यक्तिगत खर्च टार्छन्। उनले अहिले आफ्ना अन्य साथीहरूलाई पनि सेयर बजारमा बुझेर लगानी गर्न प्रोत्साहन गरिरहेका छन्।

निमी नोर्वु शेर्पाको पुरानो घर दोलखा हो। सानैदेखि काठमाडौँमै पढे, यतै हुर्किए। उनका बुबा वैदेशिक रोजगारीमा गएका छन् भने आमा गृहिणी हुन्। हेराल्ड कलेजमा स्नातक पहिलो वर्षमा बीआईटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) पढ्दै गरेका शेर्पा अहिले सेयर बजारमा सक्रिय छन्। शेर्पा सेयर बजारमा ‘सिक्दै,पढ्दै र कमाउँदै’ छन्।

आईपीओमा फाइदा भएपछि प्लस टु पढ्दादेखि नै शेर्पा दोस्रो बजारमा पनि सक्रिय छन्।

‘२ वर्ष भयो दोस्रो बजारमा कारोबार गर्न लागेको। पहिलोचोटी सेकेन्डरी मार्केटमा कारोबार गर्न नबिल बैंकको सेयर किन्छु भनेर घरमै पैसा मागेको हो, दिनुभयो। पहिलो कारोबार नबिल बैंकको गरेको थिएँ। झन् अब राम्रो भएपछि क्यापिटल पनि बढाइदिन्छु भन्ने कुरा गर्नुभएको छ घरबाट,’ शेर्पा भन्छन्।

दोस्रो बजारमा ६० हजारबाट लगानी गर्न सुरु गरेका शेर्पा अहिले ट्रेडिङ गर्नेभन्दा पनि लङ टर्मलाई सोचेर लगानी गरिरहेका छन्।

निमि नोर्वु शेर्पा

‘मेरो ७० प्रतिशत इन्भेष्ट हुन्छ। ३० प्रतिशत मात्र सेयर ट्रेडिङ हुन्छ। मेरो भिनाजु मर्चेन्ट बैंकमा हुनुहुन्छ। कम्पनीको बारेमा राम्रोसँग ब्यालेन्स सिट हेर्न उहाँले पनि सहयोग गरिदिनुहुन्छ। कम्पनी हेरेर अलिअलि एनालाइसिस गरेर नै किन्छु,’ उनले भने।

सेयर बजारबाट भएको आम्दानीबाट नै शेर्पा आफ्नो पकेट खर्च चलाइरहेका छन्।

++++

कञ्चनपुर घर भएका तीर्थराज जोशी कीर्तिपुर बस्छन्। केही महिनाअघि मात्र जोशी पढाइको सिलसिलामा काठमाडौं आएका हुन्।

एनआरआइसीको आईपीओ आएको समयमा उनका काका महेशराज जोशीले डिम्याट खाता खोल्न भनेका थिए। उनले त्यो कुरा मनमा लिइरहे। केही समयपछि तीर्थराजले डिम्याट खाता र मेरो सेयर खोले। र भरे अजोड इन्स्योरेन्सको आईपीओ।

तीर्थराज त्रिभुवन विश्वविद्यालयमा एमबीएस अध्ययन गर्दैछन्। आईपीओ भरेको ३/४ महिनापछि उनले दोस्रो बजारमा पनि कारोबार सुरु गरे।

तीर्थराज जोशी

‘आईपीओ भरेको ३/४ महिनापछि दोस्रो बजारमा पनि सुरु गरिहालेँ। आईपीओको पैसाबाट नै दोस्रो बजारमा लगानी सुरु गरेको हो। २५ हजारको एनएमबि बैंकको सेयर किनेको थिएँ,’ जोशीले भने।

जोशी अहिले सेयर बजारमा धेरै ट्रेड गर्छन्। अन्य कुनै काम गरेका छैनन्।

‘एउटा सामान्य विद्यार्थीलाई नियमित आईपीओ भरिरह्यो भने त्यसले पनि काठमाडौंमा बस्न आफ्नो खर्च पुग्छ। विद्यार्थीहरूले आईपीओबाट नै सुरु गरेर २/४ वर्ष फन्डामेन्टलदेखि बजार के हो भन्ने कुरा बुझेर कारोबार गर्न सक्यो भने राम्रो हुन्छ,’ उनले भने।

उनले आईपीओ बिक्री गरेको पैसा दोस्रो बजारमा लगानी गर्दै पोर्टफोलियो बढाएका हुन्। आफू मात्र हैन आफ्ना साथीहरूलाई पनि उनी आईपीओ भर्न र कारोबार गर्न सुझाउँछन्।

जोशीले सेयर बजारमार्फत नै आफ्ना भाइ/बहिनीको फी र सामान्य खर्च उठाउने गरेको बताए।

‘बढ्दै गरेको समयमा लगानी गरेको थिएँ। त्यो बेला फन्डामेन्टल नै धेरै हेर्थेँ। त्यसरी नै बैंकको सेयरमा लगानी गरेको थिएँ। सुरुमा थाहा हुँदैन थियो यसरी घट्दो रहेछ मार्केट भन्ने। लङ टर्म स्टक भनेर मजाले हेरेर बस्थेँ। बैंकहरुको सेयरबाट मलाई धेरै लस पनि भएको थियो। अहिले ठिकै चलिरहेको छ,’ उनले सुनाए।

आईपीओबाट सेयर बजारमा प्रवेश गरेका जोशी अहिले ५/६ लाख सम्मको कारोबार गर्छन्।

++++

दीपनव श्रेष्ठ र मणिराज पाण्डे एउटै क्याम्पसमा पढ्ने दौँतरी हुन्। भर्खरै स्नातक सकेर बसेका दुवै जना बजारमा सक्रिय छन्।

, दीपनव श्रेष्ठ

दीपनव बजारमा आएको धेरै भएको छैन। स्नातक पढ्दै गर्दा उनलाई जागिर खानुभन्दा आफूसँग भएको रकम सेयरमा लगानी गर्ने सोच आयो। अहिले उनले टेक्निकल एनालाइसिसका आधारमा लगानी गर्छन्। जलविद्युत् क्षेत्रका कम्पनीहरूमा लगानी गर्ने गरेको उनी बताउँछन्।

‘जागिर खानुभन्दा आफूसँग भएको क्यापिटल इन्भेष्ट गर्ने भनेर लगानी सुरु गरेको। पहिला त आईपीओ नै भरेको हो। मैले सुरुमा ९ हजारबाट सुरु गरेँ। अहिले चाहिँ ३/४ लाख एउटा स्क्रिप्टमा लगानी गर्छौँ। मेरो नजरमा विद्यार्थीहरूले थोरै-थोरै रकमबाट कारोबार गर्दा हुन्छ। ठूलो रकम लिएर चाहिँ नआउन भन्छु,’ उनी सुझाउँछन्।

उनले स्टक मार्केटबाट गरेको आम्दानीबाट आफ्नो पकेट खर्च उठाइरहेका छन्।

उनका साथी मणिराज भने ६/७ वर्षदेखि नै बजारमा सक्रिय छन्। सानो-सानो रकम जम्मा गरेर आईपीओ भर्न सुरु गरेका मणिराज अहिले बजारमा ट्रेडिङ गर्छन्। विद्यार्थीका लागि दोस्रो बजारभन्दा प्राइमरी मार्केट ठिक हुने उनी बताउँछन्।

मणिराज पाण्डे

अहिले सेयर बजारमा करिब दश लाख विद्यार्थी सक्रिय छन्। १ हजार रुपैयाँको आईपीओ भर्नेदेखि लाखौँको कारोबार गर्ने विद्यार्थी सेयर बजारमा छन्।

सीडीएससीले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा धितोपत्र बजारमा ६१ लाख ४१ हजार डिम्याट खाता खुलेका छन्। तीमध्ये ९ लाख २८ हजार ३८ जना विद्यार्थी हुन्। जसमध्ये ३ लाख ८६ हजार ७३६ जना छात्रा छन् भने ५ लाख ४१ हजार ३०२ जना छात्र छन्।

सीडीएससीको तथ्याङ्क हेर्दा पछिल्लो ५ वर्षमा डिम्याट खाता खोल्ने विद्यार्थीहरूको संख्या निरन्तर रूपमा बढेको छ।

आर्थिक वर्षपुरुषमहिलाकुल विद्यार्थी संख्या
०७६/७७१४७,११०१११,०६४२५८,१७४
०७७/७८२९८,८५२२२१,७७०५२०,६२२
०७८/७९४३०,६८६३१७,०५३७४७,७३९
०७९/८०४८८,१७३३५४,१२९८४२,३०२
०८०/८१ पुससम्म५४१,३०२३८६,७३६९२८,०३८
स्रोत: सीडीएससी