
काठमाडौं। करिब डेढ दशकअगाडि अष्ट्रेलियाबाट सेवा सुरु गरेको ‘द मुगलान’ रेष्टुरेन्टले भक्तपुरमा २ करोड रुपैयाँ लागतमा आउटलेट विस्तार गरेको छ। १४ वर्षअगाडि स्थापना भएको रेष्टुरेन्टले पोखरापछि भक्तपुरमा व्यावसायिक योजना अनुसार आउटलेट विस्तार गरेको हो।
दरबार स्क्वायर क्षेत्रमा लाइभ म्युजिक, आतिथ्यता तथा स्वस्थ र स्वादिस्ट परिकार पस्किने उद्देश्यले भक्तपुरमा सेवा विस्तार गरिएको आउटलेटका प्रबन्ध निर्देशक विजय लामाले बताए।

‘रेष्टुरेन्ट सेवा सँगै भक्तपुरमा रात्रिकालीन पर्यटन प्रवर्धन गर्ने मुल उद्देश्य लिएका छौँ। हालका लागि जिल्ला प्रशासन र नगरपालिकाको स्वीकृति लिएर राति ९ बजेसम्म लाइभ म्युजिक समावेश गरेका छौँ,’ प्रबन्ध निर्देशक लामाले भने, ‘बिस्तारै थप समय पाउने विश्वास हामीले लिएका छौं।’
लामाका अनुसार रेष्टुरेन्टमा २ सय जनाभन्दा बढी ग्राहकले एकै पटक सेवा लिन सक्नेछन्। ग्राहकले रेस्टुरेन्टमा बियर गार्डेन, रुफटप बारसँगै करिब ८० जना र ३० जना क्षमताको छुट्टाछुट्टै सभाहलको सेवा लिन सक्ने उनले जानकारी दिए।
यसैगरी, एकोमोडेसनका लागि १२ वटा डिलक्स रुमको समेत सुविधा रहेको रेष्टुरेन्टले जनाएको छ।

रेस्टुरेण्टले खानाका पारखीहरुलाई अष्ट्रेलिया र पोखराकै गुणस्तरमा सेवा उपलब्ध गराउने उनले जानकारी दिए। उनका अनुसार रेष्टुरेन्टले पर्यटकको माग अनुसार मुलुकको रैथाने परिकारदेखि कन्टिनेन्टल परिकार पस्किनेछ।
भक्तपुरको प्रमुख पर्यटकीय क्षेत्र दरबार स्क्वायर नजिकै विस्तार गरिएको यो आउटलेटमा बिहीबारदेखि शनिबारसम्म ग्राण्ड ओपनिङको तयारी रहेको द मुगलान होटल एण्ड रेष्टुरेन्टले जनाएको छ। यस अन्तर्गत लाखेनाच, मारुनी, तामाङ सेलो, कुमारी नाच, धिमी, चर्चित कलाकारबाट सांगीतिक प्रस्तुति आयोजना गरिने जनाइएको छ।

भक्तपुरमा विस्तार गरिएको यो आउटलेट मुगलान अन्तर्गत छैठौं रहेको जनाइएको छ। रेष्टुरेन्टका अनुसारमुगलान अन्तर्गत अष्ट्रेलियामा चार ओटा र पोखरामा एउटा आउटलेट सञ्चालनमा आइसकेका छन्।
निकट भविष्यमै काठमाडौंलगायत विभिन्न सहरमा आउटलेट विस्तार गर्ने तयारी रहेको जनाइएको छ।