दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि आवेदन माग, सात दिनभित्र दाबी पेस गर्नुपर्ने

बिजमाण्डू
२०८० माघ १४ गते ०८:२३ | Jan 28, 2024
दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि आवेदन माग, सात दिनभित्र दाबी पेस गर्नुपर्ने

काठमाडौं। नेपाल दूरसञ्‍चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार दरखास्त आह्‍वान गर्दै सूचना प्रकाशित गरेको हो।

Tata
GBIME
Nepal Life

अध्यक्ष पदका लागि दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्नेछ। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव प्राप्त गरेको व्यक्ति हुनु पर्ने सूचनामा उल्लेख छ।

तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।

आवेदन दिने व्यक्ति प्रचलित कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने बताइएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, बायोडेटा, शैक्षिक प्रमाण पत्र, अनुभव खुल्ने प्रमाणपत्र, व्यावसायिक कार्ययोजना, दुई प्रति फोटोसहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको दबाब खेप्न नसकेपछि कार्यकाल ७ महिना बाँकी छँदै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पुस २४ गते राजीनामा दिएका थिए।

राजीनामासँगै क्याबिनेटले सञ्चार सचिवको संयोजकत्वमा नयाँ अध्यक्ष सिफारिस समिति गठन गरेको थियो। प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोर्ड सदस्यसमेत रहेका नवराज अधिकारीलाई दिइएको छ।