
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका क्रममा भएको नेपाल-भारत हवाई रुट विस्तार गर्ने सहमतिको प्रक्रिया करिब ८ महिनापछि अगाडि बढेको छ। गत जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हवाई रुट विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो।
दुई प्रधानमन्त्रीको भेटघाटमा सहमति भएलगत्तै नेपालको तर्फबाट गरिएको पत्राचार बेवास्ता गरेको भारतले पुनः यसबारे चासो देखाएको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए।
एक साताअगाडि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतले परराष्ट्र मन्त्रालयमार्फत हवाई रुट विस्तारका विषयमा पर्यटन मन्त्रालयलाई सुझाव प्रतिक्रिया मागेको उनले जानकारी दिए।
‘हामीलाई परराष्ट्रले विभिन्न विषय माग गरेको थियो। हाम्रो मन्त्रालयले हवाई रुट विस्तारको विषय पेस गरेका थियौँ,’ उनले भने, ‘यसअन्तर्गत महेन्द्रनगर प्रवेश विन्दु, नियर बोर्डर अपरेसन लगायत विषय पेस गरेका छौँ। यसमा केही सकारात्मक प्रतिक्रिया आउँछ भन्ने आशामा छौँ।’
गत जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाललाई नयाँ हवाई रुट दिन भारत तयार भएको भनिएको थियो। दाहालसँगको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमै हवाई रुट उपलब्ध गराउने बताएका थिए।

त्यसको दुई सातापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले जनकपुर, लुम्बिनी, नेपालगन्ज र महेन्द्रनगरबाट हवाई रुट दिन परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको थियो। तर भारतले त्यो पत्रको जवाफ दिनै आलटाल गर्दै आएको थियो।
नेपालले मागेको हवाई रुट प्रयोग गर्न दिँदा आफ्नो एयरबेसमा असर पर्ने भारतीय अधिकारीको बुझाइ छ।
नेपाललाई भारतले हाल एउटा मात्र हवाई रुट उपलब्ध गराउँदै आएको छ। विभिन्न मुलुकबाट आउने उडान सिमरा नजिकैको रोमियो विन्दुबाट मात्र नेपाल प्रवेश गर्छन्। यो प्रवेश विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजका लागि मात्र उपयुक्त हो।
जानकारहरुका अनुसार महेन्द्रनगर प्रवेश विन्दु गौतम बुद्ध, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजका लागि उपयुक्त हुन्छ। त्यसैले नेपालले थप हवाई रुट उपलब्ध गराउन भारतसँग लामो समयदेखि अनुरोध गर्दै आएको छ।