राजनीतिबाट विरक्तिएर ‘फुल टाइमर’ किसान बनेका उमेश, जो प्रतिफल स्थानीयलाई बाँड्न चाहन्छन्



ऋषिकेश दाहाल
२०८० पुष २३ गते ०८:४७ | Jan 8, 2024
राजनीतिबाट विरक्तिएर ‘फुल टाइमर’ किसान बनेका उमेश, जो प्रतिफल स्थानीयलाई बाँड्न चाहन्छन्

काठमाडौं। एक वर्षअघि उमेश श्रेष्ठ विकट गाउँमा स्थानीयसँग भलाकुसारी गर्दै मत मागिरहेका थिए। चितवन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फका उम्मेदवार श्रेष्ठलाई बोल्ने फुर्सद पनि थिएन।

Tata
GBIME
Zonsen

गठबन्धन उम्मेदवार श्रेष्ठलाई आफ्नै पार्टी नेपाली कांग्रेस र अरु दलका कार्यकर्ता मिलाउनदेखि जनताको घरदैलोमा पुग्न हम्मेहम्मे थियो। भरतपुर महानगरपालिका कल्याणपुरमा रहेको फार्म हाउसमा उनले चुनावी समय गुजारे।

ठ्याक्कै एक वर्षपछि उनै श्रेष्ठ ललितपुर झम्सिखेलको निवासमा थिए। र, उनलाई भेट्न प्रतीक्षामा बस्ने पनि बाक्लै थिए। चुनावको चटारोजस्तै श्रेष्ठलाई भेट्न युवा समूह लाइनमा थिए।

चार जनाको युवा समूहसँग श्रेष्ठ गफिइरहेका थिए। यो दुवै दृश्य उस्तै देखिएपनि भेटघाटको उद्देश्य भने नितान्त फरक थियो।

अहिले उनलाई खेती किसानी गर्ने समूहको भेट्ने लाम लाग्ने गरेको छ। जुम्लामा व्यावसायिक रूपमा स्याउ खेती गरेका हुन् वा दोलखाका किबी, श्रेष्ठका भेटघाट गर्ने समूह यस्तायस्तै हुन्छन्।

उनीसँग हामीले खेती किसानीकै कुरालाई जोड्दै सोध्यौं- ‘एक वर्षअघि तपाईँलाई चुनावी अभियानमा भेटेको। त्यतिखेर यतिधेरै व्यस्त हुनुहुन्थ्यो। एक वर्षपछि तपाईँ जुम्लाको स्याउ फार्ममा पुग्नुभयो। यो परिवर्तन के हो?’

नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत, हस्पिटालिटी क्षेत्रमा स्थापित व्यवसायी उमेशसँग आफ्नो बायोडेटामा देखाउन पूर्व सांसदसँगै ‘पूर्व मन्त्री’ पद पनि छ। उनको आँखामा ‘भंग भएको राजनीतिक मोह’ छ भने कृषितिर बढ्दो ‘सम्भावना’ पनि।

चितवनको बहुचर्चित निर्वाचन क्षेत्रको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग नमिठोगरि पराजय भोगेपछि श्रेष्ठको जीवनमा एकाएक ‘प्याराडाइम सिफ्ट’ देखियो।

चुनावी राजनीतिको ‘खर्चिलो ज्ञान’ लिएपछि उनी एकाएक कृषितिर तानिए। जुम्ला सन्दर्भको प्रश्न त्यसैसँग जोडिएको हो। नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत, हस्पिटालिटी क्षेत्रमा स्थापित व्यवसायी उमेशसँग आफ्नो बायोडेटामा देखाउन पूर्व सांसदसँगै ‘पूर्व मन्त्री’ पद पनि छ। उनको आँखामा ‘भंग भएको राजनीतिक मोह’ छ भने कृषितिर बढ्दो ‘सम्भावना’ पनि।

उमेशले आफूलाई ‘गाउँ कन्दरा’ को मान्छे भनेर चिनाउन चाहे। बाउन्न वर्षअघि एसएलसी पास गरेपछि करिअर बनाउन उनी भोजपुरबाट काठमाडौं आएका हुन्।

जागिरे हुनुभन्दा व्यवसाय गर्‍यो भने सफलता हासिल गर्न सकिन्छ भन्ने ठम्याइपछि उनले शिक्षा क्षेत्रमा हात हाले। यसका दुइटा आयाम थिए– पहिलो उनी इन्टर्पेनियरसीपमा जोडिँदै थिए। दोस्रो भने शिक्षामा सुधार भयो भने देश सुध्रिन्छ भन्ने आदर्श।

तीन दशकभन्दा धेरै समय विद्यालय सञ्चालक र प्रिन्सिपल रहे उनी। पछि उनले आफ्नो लगानीका दायरालाई बिस्तार गरे– स्वास्थ्य, हस्पिटालिटी, जलविद्युत लगायतका क्षेत्रमा।

उनको खातामा मात्रै ९ वटा जलविद्युत छन् धेरैमा उनको ‘मेजोरिटी सेयर’ छ। तीमध्ये ८ वटाले त बिजुली उत्पादन थालिसके। ५७ मेगावाटको प्रोजेक्ट सकिने सुरसारमा छ। तर, पछिल्लो एक वर्ष भने उनी कृषितिरै सबैभन्दा धेरै होमिएका छन्।

‘हामीले चार खर्बको एग्रो प्रडक्ट खरिद गर्दा रहेछम्, यो थाहा पाउँदा कस्तो नमिठो लाग्यो,’ उनले कृषितिर बढ्दो झुकावको कारण सुनाए, ‘आलुमात्र ८ अर्बको, प्याज ७ अर्बको, लसुन एक अर्ब २५ करोडको…।’

आफूले भर्खरै किनेको अस्पताल कोभिड १९ संक्रमणले आपत् खेलाइरहेको बेलामा टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई सुम्पेर समाजसेवा गरेका थिए उनले। पछि तिनै लामिछाने उनी उम्मेदवार भएको जिल्लामा एकाएक आइपुगे। चर्चित लामिछानेका अगाडि श्रेष्ठ उम्दा ठहरिन सकेनन्। हार बेहोरे। उनका लागि एकखाले झड्का नै भयो- चुनावी राजनीति।

एक हिसाबले राजनीतिबाट रन्थनिएका उनलाई लाग्यो– अब कुनै पदमा जान्न।

‘मैले पार्टी सभापतिलाई अब केही वर्ष डेभलपमेन्टको काममा लाग्छु भनेँ,’ उनले सुनाए, ‘ठिक छ जाउ भन्नुभयो।’

उनले त्यसको नाफाघाटाको पनि हिसाब तत्कालै निकालिहाले– एउटा बोटमा कम्ति फल्यो भने पनि ३० किलो स्याउ फल्छ। २ लाख बोटमा फल्दा ६० लाख किलो। एक किलोको २ सय रुपैयाँ मूल्य तोक्ने हो भने अर्बभन्दा माथिको कमाइ!

कांग्रेस सभापति शेरबहादुर देउवाले उनको रुचिलाई रोकेनन्। तर, उप निर्वाचन होस् या पछिल्लो समय राष्ट्रिय सभामा जानुपर्ने भन्दै ‘उचाल्न’ आउनेहरु टन्नै। देउवाले पनि उनको इच्छा बुझ्न खोजे। ‘म ‘म्यान अफ प्रिन्सिपल’। नपुग्ने केही छैन। लिनुपर्ने केही छैन,’ उनले सुनाए, ‘सभापतिलाई हात जोडेर राष्ट्रियसभामा जान्न भनेँ।’

उनको चुनावी पराजयले कति आर्थिक क्षति भयो आफैं नै जानुन् तर त्यसले एउटा राम्रो परिणाम दिएको संकेत हो– जुम्लातिर उनी पुगेको तस्बिर।  

+++

जुम्लामा एउटा स्याउ फार्मसँग जोडिएका छन् उमेश। स्थानीय भीमबहादुर भण्डारीले स्याउ फार्म सुरु गरेको तर समस्यामा परेको थाहा पाए उनले। स्याउ फार्म त सुरु भयो तर ‘फाइनान्सियल प्रब्लम’ ले असहज अवस्थामा पुगेको चाल पाएपछि उमेशले ठम्याए– एकपटक नहेरी त निर्णय गर्न सकिन्न। उनी पुगे जुम्लाको गुठीचौर।

जुम्लाको स्याउ यसै पनि स्वादिलो। बजारको सम्भावना पनि उत्तिकै। तर नेपालमा आयात चाहिँ अर्बौं रुपैयाँसम्मको। ठाउँ देख्‍नासाथ उनले सम्भावना आकलन गरे। त्यस्तै आकलन जुन ललितपुरमा भाडाको घरमा स्कुल थाल्दा सुरु गरेका थिए। त्यही ‘लिटिल एन्जल्स’ अहिले आफ्नै सयौं रोपनीमा फैलिएको छ।

भीमबहादुर भण्डारी संघर्ष गरिरहेका थिए। उनले ३८ हजार बोट स्याउ रोपिसकेका रहेछन्। तत्कालै उमेशले ५० हजार बोट पुर्‍याउने र दीर्घकालीन हिसाबले फार्ममा २ लाख बोट पुर्‍याउने निर्णय नै गरिहाले।

उनले त्यसको नाफाघाटाको पनि हिसाब तत्कालै निकालिहाले– एउटा बोटमा कम्ति फल्यो भने पनि ३० किलो स्याउ फल्छ। २ लाख बोटमा फल्दा ६० लाख किलो। एक किलोको २ सय रुपैयाँ मूल्य तोक्ने हो भने अर्बभन्दा माथिको कमाइ!

स्याउको सम्भावना जुम्लामा जस्तै मुस्ताङमा पनि देखेका छन् उनले। जुम्ला र मुस्ताङ एकै भेग एकै मौसम पनि।

उनको स्याउ फार्म मुस्ताङमा पनि अघि बढ्दैछ। जुम्लामा उनले स्याउ खेतीमा लगानी थपेका छन् तर जग्गा भने किनेका छैनन्। उनकै शब्दमा उनीसँग ‘चाहिँदो छ’ सम्पत्ति। स्थानीयलाई नै फार्ममा जोड्दै साझेदार बन्ने उनको रणनीति छ। त्यहीँ उनी स्याउका लागि विशेष कोल्ड स्टोर बनाउने छन्।

‘मैले सबैको ऋण तिर्छु। थप लगानी पनि गर्छु। ३० वर्षको सम्झौता गरौं- सबै खर्च कटाएर आम्दानी आधा आधा गरौं,’ उमेशले सर्तसहित राखेको प्रस्ताव अस्वीकार गर्नुपर्ने कारण रहेन।

कृषितिर आकर्षित भएपछि उनले देश दौडाहा नै गरे। सम्भावनाहरु खोतले। एक वर्षकै अन्तरालमा जुम्ला त तीनचोटि पुगिसके। किसानको समस्यालाई नजिकबाट निहालेका छन् उनले।

यसबीच कृषिमा अथाह सम्भावना देखेका छन् उनले। किसानको अथाह पीडा पनि।

‘बिरुवा रोपेको पाँच वर्षपछि फल लाग्छ। तर बैंकले पहिलो वर्षदेखि नै ताकेता गर्न थालिहाल्छन्,’ ऋण लिएर कृषिमा लगानी गर्नेको समस्या उनले सुनाए।

+++

दोलखा यतिखेर किवीको पकेट क्षेत्र नै बनेको छ। धेरैले ऋण गरेर किवी रोपेका छन्। त्यहीँ हो उमेशले थाहा पाएको ५ लाखदेखि ५ करोडसम्म ऋण लिएर डुबेकाहरुको कथा।

विदेश पढेर फर्केका युवाहरु गाउँमा केही गरौं भनेर जुटेको देखे। तिनीहरु नै ऋणमा फसेको देखेपछि उनको ध्यान खिच्यो। उनीहरुको ऋण तिर्न तयार भए।

‘मैले सबैको ऋण तिर्छु। थप लगानी पनि गर्छु। ३० वर्षको सम्झौता गरौं- सबै खर्च कटाएर आम्दानी आधा आधा गरौं,’ उमेशले सर्तसहित राखेको प्रस्ताव अस्वीकार गर्नुपर्ने कारण रहेन। त्यसैको प्रभाव- दोलखामा एक हजार ५० रोपनी जग्गामा फार्म सुरु भइसकेको छ। श्रेष्ठका अनुसार ५ सय रोपनीमा किवी छ भने बाँकीमा अन्य बाली।

उनले बाँझो जग्गा पनि उत्तिकै देखे। साझेदार भएर काम नगर्नेको जग्गा भाडामा लिएर काम गर्ने रणनीति पनि उनले लिएका छन्। उनको यो मोडलले पनि केही स्थानमा काम गरेको छ। यसले खेती नभइरहेको जग्गा उपयोग हुने भयो भने खेतीपातीले उर्वरता नाश हुन नदिने भयो।

‘मैले भाटभेटेनीसँग कुरा गरेको छु। जुम्लाको स्याउ, भोजपुरको कागती भनेर ब्रान्डिङ गरेर ल्याउँछु तपाईँकोबाट बेच्नुपर्‍यो,’ उनले सुनाए, ‘मीनबहादुरजीले खुसीका साथ हुन्छ भन्नुभएको छ। खजुरी उत्पादन गर्ने …लाई पनि भनेको छु।’

देशव्यापी दौडाहापछि उनले विचौलियाको रजगज पनि अनुभव गरे। उत्पादक किसानको दु:खको कथा पनि सुने।

‘दोलखामा १० रुपैयाँमा बिक्री हुने मुला काठमाडौंमा ४० देखि ५० रुपैयामा बिक्री हुने,’ उनले सुनाए, ‘त्यसमाथि किसानले बेचेको उत्पादनको पैसा तत्काल नपाउने। कम्तिमा तीन/चार महिनापछि मात्रै उनीहरुको हातमा पर्ने।’

पुँजी, प्रविधि, बिउबिजन र मलखादमा लगानी गरेर किसानलाई उनीहरुकै खेतबाट उत्पादनमात्र होइन त्यसको बजारीकरणको नमुना नै तयार पार्ने रहर छ उमेशको। दोलखामा एउटा घर नै किनिसकेका छन्– किसानको सामान किन्नका लागि। किसानलाई हातहातै पैसा दिएर उनीहरुका उत्पादन किन्ने र बजारमा पुर्‍याउने उनको लक्ष्य असम्भव भने छैन। त्यसका लागि उनले नेटवर्क नै बनाउने रणनीति लिएका छन्।

‘मैले भाटभेटेनीसँग कुरा गरेको छु। जुम्लाको स्याउ, भोजपुरको कागती भनेर ब्रान्डिङ गरेर ल्याउँछु तपाईँकोबाट बेच्नुपर्‍यो,’ उनले सुनाए, ‘मीनबहादुरजीले खुसीका साथ हुन्छ भन्नुभएको छ। खजुरी उत्पादन गर्ने …लाई पनि भनेको छु।’

किसान उद्योग र बजारलाई जोडेर ‘डेमोन्स्ट्रेटिभ’ काम गर्न सकियो भने ‘क्रान्ति’ नै हुनसक्ने उनको आकलन रहेछ।  

‘तीन प्रतिशत जनतालाई कृषिमा लगाएर इजराइलले संसारलाई पालिरहेको छ। हामीले नसक्ने भन्ने कुरै छैन,’ उनले भने। पछिल्लो एक वर्ष कृषिमा मात्र फोकस भएपछि उनको ठम्याइ छ-  गरिबले मात्र खेती गरेर हुँदैन। व्यावसायिक हिसाबले नगर्ने हो भने सधैं परनिर्भर रहिन्छ। किसानको समस्या पनि जहीँको तहीँ रहन्छ।

दोलखामा यूभीए ग्रुप खडा गरेका उनले सात महिना भित्र एक हजार रोपनीभन्दा धेरै जमिनको जोहो गरेका हुन्। तीमध्ये ५ सय रोपनीमा किवी, २ सय रोपनीमा आलु, १ सय ५० रोपनीमा साग, मुला उत्पादन गरिरहेका छन्। साथै लेयर्स कुखुरा र गाईपालन पनि छ। कुरिलो खेती र बेसिजनका तरकारीका लागि टनेल पनि राख्दै छन्।

+++

ठाउँ-ठाउँमा कोल्ड स्टोरेज बनाउनु पर्छ भन्ने उनलाई लाग्छ। उत्पादनलाई लामो समय टिकाउन सक्यो भने त्यसबाट किसानले मुनाफा पाउनेछन्। कोल्ड स्टोर बनाउने योजनालाई भने उनले तत्काल थाँती राखे किनकि स्थानीय तहले ठाउँ-ठाउँमा कोल्ड स्टोर त बनाइरहेकै छ। त्यसले बजारमा कस्तो प्रभाव पार्‍यो त?

यसैबीच कृषि कर्मकै ज्ञान बटुल्न उनी लागे चीन, अमेरिका, क्यानडा र भारत। खेतीका अनेक आयाम बुझ्नु उनको उद्देश्य थियो। विरुवा कसरी रोप्ने, हुर्काउने, उत्पादन सुरक्षित रुपमा कसरी भण्डारण गर्ने भन्ने बुझे। ती मुलुकमा प्रशोधनका प्रविधिबारे जानकारी लिए।

उनको यात्राले निकालेको निचोड हो- नेपालमा बनेका कोल्ड स्टोर त काम लाग्ने छैनन्। सबैभन्दा ठूलो कुरा त उत्पादन हो। उत्पादन नै नहुने हो भने कोल्ड स्टोरको उपादेयता के? दोस्रो नेपालमा बनेका अधिकांश कोल्ड स्टोर चिस्याउन माथिबाट एमोनिया प्रयोग हुने खालका मात्र छन्।

‘नेपालका ९५ प्रतिशत कोल्ड स्टोर काम लाग्दैन। ह्युमिडिफायर मल्टी च्याम्बर कोल्ड स्टोर बनाउनुपर्ने रहेछ,’ उनले त्यसको जस्टिफिकेसन दिए, ‘सबैलाई एकैखाले कोल्ड स्टोरमा राखेर हुँदैन। स्याउलाई अलग हिसाबले राख्‍नुपर्छ भने आलुलाई अलग। प्याजलाई पनि अलग। कुनैले कार्बनडाइअक्साइड चाहन्छ त कुनैले अक्सिजन।’

कृषिका लागि भन्दै १ खर्ब ५० अर्बको सहुलियत ऋण प्रवाह भएको छ। अनि उत्पादन चाहिँ खोइ त? यही प्रश्नले उनलाई कृषितिर लाग्न प्रेरित गर्‍यो। सहुलियत ब्याजको ऋण लिएकाले कृषि कर्म गरेको भएको आयात हुने खाद्यान्नको परिमाण हरेक वर्ष किन बढिरहन्छ त?

स्याउ स्टोर गर्दा अक्सिजन फालेर कार्बनडाइअक्साइड च्याम्बरको कोल्ड स्टोर चाहिने रहेछ। स्याउलाई वर्ष दिनसम्म ताजा राख्‍न यसखाले कोल्ड स्टोर नभइ नहुने उनको बुझाइ छ। त्यसैले मोडलका रुपमा स्थापित गर्नेगरी कोल्ड स्टोर बनाउने उनले जनाए।

‌त्यसो त व्यावसायिक पहिचान बनाउनु अघिदेखि नै उमेश श्रेष्ठ माटोसँग जोडिएका रहेछन्। निजी क्षेत्रमा विद्यालय विस्तार गरिरहँदा त्यसबाट भएको नाफा उनले अन्यत्रतिर फैलाइरहे।

हाइड्रो होस् या हस्पिटल अथवा हस्पिटालिटी किन नहोस्- लगानी गरिरहे। एकै ठाउँको लगानी कुनै पनि जोखिमपूर्ण हुनसक्ने उनको बलियो बुझाइ थियो। यी सबै चलिरहँदा उनले भोजपुरको डाँडाबोखिममा एक हजार रोपनी जग्गामा खेतीकर्म थालिसकेका थिए।

उनको फाइनान्सियल पोर्टफोलियोमा लामो समय गुमनाम थियो जन्मथलोमा भएको लगानी। त्यहाँ कागती खेती गरेका थिए उनले। खेती गरे पनि समय दिन सकेका थिएनन्।

समय थिएन अथवा धेरै मुनाफा दिने कम्पनीहरुले उनलाई त्यता जान रोकिरहेका थिए। ‘भोजपुरको फार्मलाई अलिक नेग्लेट गरेँ। मेरो जन्मथलोमा अब केही गर्छु। डल्ले खोर्सानी, सिट्रस फ्रुट एभोकाडो खुबै हुन्छ,’ उनले सुनाए।

यसअघि नै उमेशसँग सगरमाथा टी स्टेट र चन्द्र अलैंची जोडिसकेका थिए। भोजपुरमा डाँडाबोखिममा इन्ट्रिग्रेटेड फार्मलाई ध्यान दिन थालिसके। त्यहाँ सल्लाको रुखबाट रिसोर्ट पनि बनाउँदैछन्।

+++

कृषिका लागि भन्दै १ खर्ब ५० अर्बको सहुलियत ऋण प्रवाह भएको छ। अनि उत्पादन चाहिँ खोइ त? यही प्रश्नले उनलाई कृषितिर लाग्न प्रेरित गर्‍यो। सहुलियत ब्याजको ऋण लिएकाले कृषि कर्म गरेको भएको आयात हुने खाद्यान्नको परिमाण हरेक वर्ष किन बढिरहन्छ त? ‘मैले यसमा अनुभव लिनुपर्छ भन्ने लाग्यो,’ उनले सुनाए। कृषिका लागि लिएको ऋण अन्यत्रै लगानी भइरहे।

किसानले उत्पादन गरेको आधारमा ऋणको व्यवस्था गर्ने हो भने समस्या समाधान हुने उनको बुझाइ छ। उनी ब्याजमा अनुदान दिए पुग्ने बताउँछन्। लगानी गरिसकेपछिमात्र अनुदान दिने मेकानिजम बनाउने हो भने अहिलेको समस्या सुल्टिने उनको बुझाइ छ।

चुनावको पराजयपछि पूरै नेपाल घुमेर सम्भावनाको खोजीको कारण के त? उनले जवाफ दिए, ‘सबै कमाउने होडबाजीमा मात्र दौडिएका छन्। यसरी गर्न सकिन्छ भनेर देखाउने भएनन्। म देखाउने गरी काम गर्न हिँडेको हुँ।’

राजनीतिमा ‘जति पाए पनि पाइन’ भन्नेहरुको भिडमा अलग देखिए उमेश। नेपाली कांग्रेसबाट पटक पटक पाएको सुनाए। ‘धेरै पाएको छु। अब मैले अरुलाई अवसर दिन छाड्नुपर्छ भन्ने भयो,’ उनले सुनाए।

व्यवस्थापकीय क्षमताका कारण उमेश श्रेष्ठको व्यावसायिक क्षेत्रमा नाम छ। पहिचान पनि। कृषिमा लाग्न थालेको थाहा पाउनासाथ उनीकहाँ किसानहरु भेट्न आइरहन्छन्।

उनलाई थाहा छ– एक दुई रोपनीमा गरेको उत्पादनले लागत समेत उठाउन सक्दैन। बजार र ‘बाइ ब्याक ग्यारेन्टी’ नभए किसानको हालत सधैं दु:खी नै रहने छ। खेतीका लागि पाँच लाख ऋण लिनेहरु नै लिलामीको सूचीमा चढेको देखेका छन्।

उमेरले सत्तरीको हाराहारीमा पुग्दा उनी नयाँ ऊर्जाका साथ कृषितिर तानिएका छन्। अब उनी कम्तिमा दुई वर्ष त पूर्णकालीन कृषक हुनेछन्। हिमाली, मध्य पहाडी र तराईमा ‘हाइ भ्यालु क्रप्स’ उनको लगानी बढ्नेछ। मास प्रडक्सन उनको नीति हुने छ।

उनलाई थाहा छ– एक दुई रोपनीमा गरेको उत्पादनले लागत समेत उठाउन सक्दैन। बजार र ‘बाइ ब्याक ग्यारेन्टी’ नभए किसानको हालत सधैं दु:खी नै रहने छ। खेतीका लागि पाँच लाख ऋण लिनेहरु नै लिलामीको सूचीमा चढेको देखेका छन्। काम गर्ने मानिस नपाउने अवस्था पनि उत्तिकै देखेका छन्– पलायनको असर तीव्र छँदैछ।

दोलखाबाट उनको फार्म यात्रा रामेछाप, खोटाङ, भोजपुर, धनकुटा हुँदै संखुवासभासम्मै पुर्‍याउने लक्ष्य छ। मध्य पहाडीबाट रौतहटतिर बिस्तार गर्ने योजना पनि बनेको छ। कृषिसँग जोडिएका उद्योग र खपत हुने सहरसँगको कनेक्टिभिटीलाई ध्यान राखेर तराईमा उनी लगानी बढाउने तयारीमा छन्।

उमेश श्रेष्ठले जहाँ हात हाले त्यहाँ सफलता हासिल गरेका छन्, तर चुनावी राजनीति उनका लागि फलदायी रहेन।

उनले त्यसको छिटो ‘असेसमेन्ट’ गरेको अनुभूति भने हाम्रो रह्यो। कृषि क्षेत्रका समस्या समाधानमा उनले देखाएको तत्परता व्यवहारमा नै लागू भएर नमुना बन्न सक्यो भने नेपालको कृषि क्षेत्रमा ठूला लगानीकर्ता तानिन सक्छन्। यसले कृषि क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने नै छ। र, बिहान नै कृषिका कुरा लिएर उनको निवासमा पुगेका मानिसको भिड देखेपछि हाम्रो ठम्याइ रह्यो– निजी शिक्षाको क्षेत्रमा जस्तै केही गरेर देखाउन सक्छन् उनले। त्यसको प्रतिफल स्थानीय किसानले पाउने नै छन्।