
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। गत शुक्रबार जारी भएको सूचनामा रहेका बुँदाको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल दरखास्त आह्वान रद्द गर्न निर्देशन दिएका थिए।
छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने उल्लेख थियो।
सो बुँदाले योग्य व्यक्ति उपकुलपति बन्ने बाटोबाट बञ्चित भएको भन्दै आलोचना भएको थियो। त्यसपछि प्रचण्डले पदाधिकारीमा ३ वर्षे अनुभव नराख्न निर्देशन दिएका थिए। प्रधानमन्त्री त्रिविका कुलपति हुन्।
विज्ञापनमा तोकिएको उक्त योग्यताले पूर्व पदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउने प्रचण्डको भनाइ छ। प्रचण्डले त्रिविको उपकुलपतिमा राजनीतिक नियुक्ति नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।