मल्टी कुजिन परिकार पस्कँदै पुल्चोकको घाङ्ग्री क्याफे, खानपिन पारिवारिक सत्कारसँगै

वसन्तराज उप्रेती
२०८० पुष १४ गते १९:०० | Dec 30, 2023
मल्टी कुजिन परिकार पस्कँदै पुल्चोकको घाङ्ग्री क्याफे, खानपिन पारिवारिक सत्कारसँगै

काठमाडौं। डेढ दशकयता घर बाहिर गएर खानपिन गर्नका लागि कुनै विशेष अवसर कुरेर बस्नुपर्ने अवस्था छैन। कारण हो रेष्टुरेन्ट व्यवसायको बग्रेल्ती विस्तार। यो अवधिमा कति रेष्टुरेन्टले आफ्नो ख्याति कमाउँदै निरन्तर अगाडि बढे त कति पलायन भए। सेवा र गुणस्तर एकैनास निरन्तर दिने रेष्टुरेन्ट उपत्यकामै कमै भेटिन्छन्।

Tata
GBIME
Nepal Life

दुई दशक अघिदेखि सञ्‍चालनमा रहेको ‘घाङ्ग्री क्याफे’, जसले आफ्नो आउटलेट तेस्रो ठाउँमा स्थानान्तर गरे पनि उसको सत्कारसहितको खानपिन सेवा लिन नयाँ पुस्तादेखि पुराना ग्राहक अहिले पनि खोजी-खोजी पुगेका छन्।

सञ्‍चालक सुरज राजकर्णिकार

‘मान्छेलाई राम्रो व्यवहार गरियो भने भोलिका दिनमा कहीँ कतै देखियो भने कति खुसी लाग्छ। आतिथ्यता सेवाको मेरुदण्ड भनेकै होम्ली इन्भारोन्मेन्टसहितको खानपिन सेवा,’ सञ्‍चालक सुरज राजकर्णिकारले भने, ‘सोफा, एसी लगायत उपकरण भन्दा पनि रेष्टुरेन्टमा आतिथ्यतासहितको सेवाको ठूलो भूमिका हुन्छ। आउनुहुने प्रत्येक पाहुनालाई पारिवारिक शैलीमै खानपिन सेवा दिन जनशक्तिलाई ग्रुम गरेका छौं। यसैकारण हामीलाई अगाडि बढ्ने ऊर्जा मिलेको छ।’

उनका अनुसार हाल रेष्टुरेण्टमा ३५ जना जनशक्ति कार्यरत छन्। जसले पाहुनाको अर्डरअनुसारका परिकार सर्भ गर्छन्। रेष्टुरेन्टमा यतिखेर नयाँ पुस्तासँगै दुई दशक अगाडिदेखिका ग्राहक सम्झी-सम्झी आउने गरेको राजकर्णिकारले बताए।

‘दुई दशक अवधिमा कतिपय पाहुना स्वदेशको विभिन्‍न ठाउँ अनि विदेशमा रहँदै आउनुभएको छ। उहाँहरु आउनुहुँदा ‘ए भाई तिमीहरु अहिलेसम्म सेवा दिइरहेको छौ!’ भनेर खुसीका साथ प्रस्तुत हुनुहुन्छ,’ उनले सुनाए, ‘यो भनेको त हामीले पस्किएको पहिलो आतिथ्यता र स्वादको परिणाम हो नि। अधिकांशले त्यो बेला र अहिलेको सत्कार र स्वाद उही रहेको बताउनुहुन्छ।’  

रेष्टुरेन्टले भारतीय, चिनियाँ र कन्टिनेनटल परिकार पस्किँदै आएको छ। अधिकांश पाहुना रेष्टुरेन्टको सिग्नेचर डिसअन्तर्गत ओपन मम खानका लागि आउने गरेको उनले बताए।

‘ओपन ममले नै हाम्रो पहिचान अपूर्व हुन गएको हो। यो मम बनाउन गाह्रो पनि छ। र जहाँ कहीँ पाउन पनि गाह्रै छ,’ उनी सहर्ष भन्छन्।

साधारण एम्बियन्स, परिकारमा बेजोड स्वाद

रेष्टुरेन्टले एम्बियन्स साधारण तयार गरे पनि परिकारको स्वाद र आतिथ्यतामा भने अत्यधिक मिहिनेत गर्दै आएको उनी बताउँछन्।

‘परिकारसँगै एम्बियन्सको पनि उत्तिकै भूमिका हुन्छ। हामी एम्‍बियन्सभन्दा परिकार र आतिथ्यतालाई प्राथमिकता दिन्छौं। स्वास्थ्यवर्धक र स्वादिलो परिकार भएपछि हामीलाई ठाउँले फरक पार्दैन नि,’ उनी भन्छन्।

सन् २०१८ बाट दमकलचोक छेउमै रहेको करिब १०० वर्ष अगाडिको पुरानो शैलीको घरमा स्थान्तरण गरिएको रेष्टुरेन्टको एम्बियन्स डिजाइन वरिष्ठ आर्किटेक्ट सिद्धार्थ गोपालनले गरेका हुन्।

रेष्टुरेन्ट प्रवेश गरेलगत्तै करिब एक शताब्दी अगाडिको कपुरको रुख, बायाँपट्टि भित्तामा रहेको लहरे बिरुवा, हरेक टेबुल छेउमा रहेका आकर्षक बिरुवाले प्राकृतिक वातावरण सिर्जना गरेको छ। बार अगाडिको ओपन स्पेस, पारिवारिक जमघटका लागि छुट्टै कक्ष, २५ जना सम्मका लागि छुट्टै कक्ष समावेश गरिएको रेष्टुरेण्टमा एक पटकमा १०० जनाले सेवा लिन सक्ने उनले जानकारी दिए।

रेष्टुरेन्ट परिसरमै जोडिएको खाली जग्गामा २० वटाभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन र २० वटा भन्दा बढी दुईपाङ्ग्रे सवारी पार्किङ सुविधा रहेको उनले बताए।

यस्ता छन् विशेष परिकार

विदेशमा पनि माग भएको सोमाइ ओपन मम

रेष्टुरेन्टले आफ्नो सुरुवातदेखि नै पस्कँदै आएको सोमाइ ओपन ममको माग अझै अत्यधिक छ। प्रबन्धक रमेश थपलिया भन्छन् ‘यो धेरैका लागि अझै नौलो छ।’

फूल आकारको मम भेज, चिकेन र बफ गरी तीन प्रकारका पाइन्छ। यहाँ मममा तीनवटा ससको प्रयोग गरिएको छ। बदाम, गोलभेँडा र हरियो खुर्सानीको ससमा एकैपटक मम चोबेर खाइन्छ। यसको मूल्य प्रति प्लेट ३५०, ४०० र ३७५ रुपैयाँ छ।

यसको स्वाद लिनकै लागि पनि विदेशबाट आउने पाहुनाले प्री-अर्डर गर्दै आएको उनले जानकारी दिए। यो मम नेपालबाट दुबई, कतार, भारत लगायत मुलुकमा फ्रोजनको रुपमा लाने गरेको उनले बताए।

चिकेन कर्डन ब्लु

कुखुराको ब्रेस्ट पिसलाई च्याउ, ससेज र चिजले स्टफिङ गरेको यो परिकार र्‍यापिङ गरेर फ्राइ गरिन्छ। यसमा प्रयोग गरिएको इन्ग्रिडियन्ट्स थप पौष्टिक छ। प्राय स्नयाक्सको रुपमा लिइने यो परिकार समूहमा आउने पाहुनाले मन पराउने गरेका छन्। यो परिकारको मूल्य ६६० रुपैयाँ छ।

चिकेन ललिपप

चिकेन विङ्सलाई फ्राइ गरेर पाहुनाको स्वाद अनुसार गुलियो, पिरो स्वाद दिइएको छ। यो परिकार प्राय युवा वर्गले मन पराउँदै आएको उनले जानकारी दिए। ६ पिसको पोर्सन रहेको यो परिकारको मूल्य ४४० रुपैयाँ छ।

चिजबल

चिजको प्रयोग गरिने चिजबलको ८ पिसको पोर्सन यहाँ पाइन्छ। यसको मूल्य ४५० रुपैयाँ छ।

खाद्य सामग्रीका लागि एउटै भेण्डर

रेष्टुरेन्टले आफूले पस्कँदै आएको परिकारमा उही स्वाद कायम गर्नका लागि सुरुवातदेखि नै एउटै भेण्डरसँग सहकार्य गर्दै आएको सञ्‍चालक राजकर्णिकार बताउँछन्। कुनै समयमा नजिकैको भेण्डरसँग सहकार्य गर्न खोज्दा स्वादमै परिवर्तन आएपछि रेष्टुरेन्टले राम्रो पाठ लिएको उनले जानकारी दिए।

‘हामीले बीचमा नजिकैको भेण्डर प्रयोग गर्ने योजना अगाडि बढायौं। उही सेफ उही परिकार तर स्वाद बेग्लै भएको कम्प्लेन आयो। कारण एउटा जिरामा देखियो,’ उनले भने, ‘त्यसपछि पुरानै भेण्डरबाट खाद्य सामाग्री लिन थाल्यौं। इन्ग्रिडियन्टसँग खेलवाड गर्नुहुँदैन भन्‍ने पाठ सिक्यौं।’

यसरी भयो ‘घाङ्ग्री’ नामाकरण

तिब्बती शब्द घाङ्ग्री अर्थात नेपालीमा हिमाल। हजुरआमा तिब्बती र हजुरबुबा नेवार। तेस्रो पुस्ता अन्तर्गत रहेका उनले नेवारी र तिब्बती संस्कृतिलाई मध्यनजर गर्दै रेष्टुरेण्टको नाम नै घाङ्ग्री राखिएको बताए।

बुबाको पालादेखि सुरु गरिएको रेष्टुरेन्ट व्यवसायलाई पछ्याउँदै उनले दुई दशक अगाडि घाङ्ग्री सञ्‍चालनमा ल्याएको बताए। सुरुमा न्युरोडबाट सुरु गरिएको घाङ्ग्रीको आउटलेट तेस्रोपटक स्थानान्तर भइसकेको छ। अहिले पनि यहाँ पाक्दै आएको परिकारको स्वाद लिन दुई दशक अगाडिका ग्राहक आइरहने गरेको उनले जानकारी दिए।

‘न्यूरोड पहिलो आउलेट हो। भूकम्पपछि झम्सिखेल आयौं। त्यसपछि मागअनुसार सेवा दिने उद्देश्यले चार वर्षयता पुल्चोक दमकलचोक छेउमा आएका छौं,’ उनले भने, ‘यसरी स्थानान्तर भइरहँदा पनि हाम्रो सेवालाई माया गरेर २० वर्ष अगाडिदेखिका पाहुनादेखि नयाँ पुस्ताका ग्राहक धेरै हुनुहुन्छ।’      

सबै वर्गलक्षित सेवा

रेष्टुरेन्टले सबै वर्गका पाहुनालाई मध्यनजर गर्दै उही अनुसारको वातावारण, परिकारको मेनु समावेश गर्दै आएको उनले जानकारी दिए।

‘कतिपय रेष्टुरेण्ट उमेर समूहअनुसार वर्गीकृत भएर सञ्‍चालित छन्। घाङ्ग्रीमा युवा वर्ग, कर्पोरेट व्यक्तित्व, परिवार लगायत सबै वर्गलाई समावेश गर्न सफल भएका छौं,’ उनले भने, ‘यसको मुख्य कारण भनेको स्वस्थ, गुणस्तरको खानपिन हो। र, हामी भ्यालु फर मनीमा केन्द्रित छौं।’

रेष्टुरेन्टमा अधिकांश जनशक्ति र खाद्य सामग्री सञ्‍चालन सुरुवात अवधिदेखिकै प्रयोग हुँदै आएका कारण क्वालिटी कन्सिस्टेन्सी र सर्भिसमा एकरुपता रहेको उनले बताए।

पछिल्लो समय रेष्टुरेन्ट व्यवसाय विस्तार भएसँगै बाहिर गएर खानपिन गर्नेको जमात पनि वृद्धि हुँदै गएको उनी बताउँछन्। सर्वसाधारणको मागलाई मध्यनजर गर्दै रेष्टुरेन्टले साना-साना पार्टी इभेन्टका लागि २५ जनासम्मलाई सेवा दिँदै आएको उनले जानकारी दिए।

घाङ्ग्रीको आफ्नै किसिमको आतिथ्य, सत्कारअनुसार पाहुनाको चहलपहल हुँदै आएको उनी बताउँछन्।

उनले भने, ‘सबै हस्पिटालीटी क्षेत्रको सिद्धान्तअनुसार अतिथि देवो भवः अन्तर्गत सेवा दिँदै आएका छौं। सबै पाहुनाको आ-आफ्नै स्वाद हुन्छ। हामी पनि भिन्‍न छौं होला। पाहुनालाई पारिवारिक सत्कारसहितको खानपिनमा सन्तुष्ट बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो।’