किसानको धान खेतबाटै बिक्री, व्यापारीले दिए सरकारी कम्पनीले तोकेभन्दा बढी मूल्य

बिजमाण्डू
२०८० मंसिर २५ गते १६:३८ | Dec 11, 2023
किसानको धान खेतबाटै बिक्री, व्यापारीले दिए सरकारी कम्पनीले तोकेभन्दा बढी मूल्य
पर्साका खेतमा व्यापारीलाई बेच्न ठिक्क पारिएको धान

वीरगंज। पर्साका ग्रामीण भेगका किसानले यसपालि खेतबाटै धान बिक्री गरेका छन्। उनीहरुले सरकारी कम्पनीको दररेटभन्दा महँगो मूल्यमै धान बिक्री गरेका हुन्। व्यापारीहरु किन्न खेतमै पुगेकाले किसानले यसपालि वीरगंज धाउनुपरेन

Tata
GBIME
NLIC

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि सूचना निकालेको थियो। कम्पनीले मंसिर २२ देखि सोना मन्सुली र जीरा मसिनो धान खरिद गर्न खोजेकामा किसान नै अनुपस्थित भएका छन्।

कम्पनीका वीरगंजका प्रमुख पंकज झाले किसानहरु नआएकाले धान किन्न नसकेको बताए। ‘किसानहरू धान बेच्न आएकै छैनन्, जसका कारण हामीले किन्न सकेका छैनौं,’ उनले भने।

कम्पनीले पोहोर धान खरिद गर्न सूचना निकाल्दा पावर हाउसदेखि कम्पनीको कार्यालयसम्म किसानको लाइन लागेको थियो । यसपालि कम्पनीले तोकेभन्दा बढी मूल्य किसानले आफ्नो खेतमै व्यापारीबाट पाएका छन्।

कम्पनीले सोना मन्सुली धानको मूल्य प्रति किलो ३३.६२ रुपैयाँ तोकेकामा किसानले गाउँमै ३५.३६ रुपैयाँका दरले बेचिरहेका छन्। यस्तै जिरा मसिनो धानको मूल्य किसानले व्यापारीबाट प्रति किलो ४५ रुपैयाँ पाएका छन्। जबकि कम्पनीले ३५ रुपैयाँ मात्र तोकेको छ।

पर्साका खेतमा व्यापारीलाई बेच्न ठिक्क पारिएको धान

भारत सरकारले धानको कोटा दिन आनाकानी गरेपछि अभाव हुने त्रासमा पर्सा र बाराका राइस मिल सञ्चालकले खेत खेतमै पुगेर बढी मूल्यमा किनिरहेका हुन्। वीरगंजको रूँगटा समूहले सोना मन्सुली धान प्रति किलो ३८.५० रुपैयाँका दरले किनिरहेको छ।