काठमाडौं। लामो समयदेखि ओरालो लागिरहेको सेयर बजारमा आइतबार हरियाली छायो। बजारमा तीनपटक सर्किट ब्रेक लाग्यो। ९ मिनेटको कारोबारमा १११ अंकको उछालपछि नेप्से परिसूचक १९६३.९८ बिन्दुमा पुग्यो। लगानीकर्ताले यसलाई मौद्रिक नीतिमा अपनाइएको लचकताको नतिजा भनेका छन्।
मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले लगानीकर्ताको मनोबल बढेको छ। राष्ट्र बैंकले शुक्रबार समीक्षामार्फत सेयर धितो कर्जामा जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झार्नुका साथै ऋणको ब्याजदर घटाउने गरी नीतिगत दरहरु घटाएको थियो।
त्यसकै प्रभावले आइतबार सेयर बजार सुरुदेखि नै बढेको हो। कारोबार सुरु भएको ५ मिनेटमा नै पहिलो सर्किट ब्रेक लाग्यो। त्यसपछि बजार २० मिनेटका लागि बन्द भयो।
२० मिनेटपछि खुलेको बजारमा पनि उछाल रोकिएन। २ मिनेटमै बजार ५ प्रतिशतले बढ्यो। दोस्रो सर्किट ब्रेकपछि कारोबार ४० मिनेटका लागि बन्द गरियो। त्यसपछि खुलेको बजारमा मात्र २ मिनेट कारोबार भयो। किनभने नेप्से ६ प्रतिशतले बढ्यो। त्यसपछि सर्किट लागेर बजार दिनभरका लागि नै बन्द भयो।
कारोबारमा आएका दुई लघुवित्त कम्पनीबाहेक सबैजसो कम्पनीको सेयर मूल्य बढेको छ। एक दर्जनभन्दा बढी कम्मपनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यो उपसमूहको सूचक ८ प्रतिशतभन्दा धेरै बढेको छ।
लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले मौद्रिक नीतिमा गरिएको खुकुलो व्यवस्थाले नेप्से बढेको बताए।
‘बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थपिदै जाँदा राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक देखियो। कर्जा प्रवाहलाई सहज गरिदिन जोखिम भार घटायो। यस्तै ऋणको ब्याजदर पनि घट्ने देखिन्छ। यसले लगानीकर्ताको मनोबल बढ्दा त्यसको प्रभाव बजारमा देखिएको हो,’ उनले बिजमाण्डूसँग भने, ‘सेयर बजार सधैं बढ्ने भन्ने हुँदैन। तर अहिले निकै तल रहेकाले लचिलो व्यवस्था आउँदा बढ्नु स्वाभाविक हो। नेप्से अब माथि जान्छ।’
यस्तै लगानीकर्ता तुलसीराम ढकालले पनि राष्ट्र बैंकले लगानीकर्ताको माग सम्बोधन गर्न सुरु गरेकाले नेप्से उकालो लागेको बताए।
‘केन्द्रीय बैंकले लगानीकर्ताको हितमा केही काम गरेको छ। मौद्रिक नीतिमा अपनाइएको लचकताले लगानीकर्ताको कन्फिडेन्स बढ्दा नेप्से ६ प्रतिशत बढेको हो, ‘उनले भने, ‘आज लगानीकर्ताको जुन खालको सक्रियता देखिएको छ यसले बजार अब सकारात्मक बाटोमा जान्छ भन्ने संकेत गरेको छ।’
वित्तीय विश्लेषक अनलराज भट्टराई नेप्सेको आइतबारको वृद्धिलाई स्वाभाविक भन्छन्। राष्ट्र बैंकले कर्जाको माग बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएकाले त्यसको प्रभाव बजारमा परेको उनको बुझाइ छ।
‘यसपालि बैंक तथा वित्तीय क्षेत्रमा एनपीएल बढेर एक किसिमको डर थियो। यो अवस्थामा मौद्रिक नीतिमा धेरै सुधारात्मक कुरा आएका छन्। ब्याजदर घट्ने व्यवस्था लगायत कारण बजारमा पोजेटिभ तरंग आएको हो,’ उनले भने, ‘२ वर्षदेखि नेगेटिभ कुरा मात्र आइरहेको बजारमा पोजेटिभ कुरा आउँदा यो किसिमको छलाङ नेचुरल नै हो। बजार अब उकालो लाग्ने आश गर्न सकिन्छ।’
लगानीकर्ताले आइतबारको सर्किटलाई बुलको संकेतका रुपमा लिएका छन्।
नेप्सेले पनि आइतबारको वृद्धिलाई राष्ट्र बैंकको कोर्स करेक्सनलाई नै कारण मानेको छ। नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले सेयर धितो कर्जाको जोखिम भार घटाइनु, नीतिगत दर पनि घटाइनुलगायतलाई नेप्से उकालो लाग्नुको कारण भने।