
काठमाडौं। शिवशिखर बहुउद्देश्यीय सहकारीको महेन्द्रनगर शाखा कार्यालयबाट पनि बचतकर्ताको रकम हिनामिना भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित चार जनामाथि अनुसन्धान सुरु गरेको छ।
प्रहरीले शर्मासहित उनकी श्रीमती गीता तथा पुष्कर मल्ल र अमिस राजभण्डारीलाई काठमाडौंबाट कञ्चनपुर लगेर अनुसन्धान सुरु गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले शर्मालाई असार १२ गते पक्राउ गरेको थियो।
तीन हजार ६७१ बचतकर्ताले रकम फिर्ता माग गर्दै प्रहरीमा उजुरी दिएका थिए। ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ हिनामिना भएको उजुरी परेको हो।
सहकारीको विनियममा नियामक निकायबाट स्वीकृत प्राथमिक सेयर पुँजी ६ लाख २८ हजार रुपैयाँ उल्लेख रहेकोमा सहकारी ऐन २०७४ दफा ५०(७) विपरीत पुँजी र बचत संकलन गरी रकम दुरुपयोग गरेको आरोप उनीहरूमाथि लगाइएको छ। संकलित रकमबाट ४६ वटा कम्पनी खोलेको पनि प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
संकलित १० अर्ब २९ करोड २९ लाख २६ हजार २६० रुपैयाँ बचत दुरुपयोग भएको अनुसन्धानमा देखिएको छ।
शिवशिखरले देशभर ३६ वटा शाखाबाट विभिन्न चरणमा ठगी गरेको खुलेको छ। प्रकरणमा यसअघि प्रहरीले काठमाडौं र ललितपुरमा भने मुद्दा दायर गरिसकेको छ।