काठमाडौं। काठमाडौं महानगरपालिकाले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण गर्ने भएको छ। यसका लागि २ सय ९ गणक र २१ जना सुपरिवेक्षक माग गरेको छ।
गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न करारमा लिने भएको हो। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्वीकृत बजेट तथा कार्यक्रम छ।
काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्यांक संकलन ट्याबलेटमार्फत गरिने महानगरपालिकाद्वारा शनिबार प्रकाशित सूचनामा उल्लेख छ।
तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका योग्यता पुगेका इच्छुक नेपाली नागरिकसँग २१ दिनभित्र अनलाइन दरखास्त मागेको छ। दरखास्त onlineapplication.kathmandu.gov.np मार्फत मात्र लिइने सूचनामा छ। मासिक ३६ हजार ७ सय ३० रुपैयाँ पाइने सुपरिवेक्षकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्यांक शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने योग्यताको मापदण्ड छ।
गणक भने तथ्यांक शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने योग्यताको मापदण्ड छ। गणकले मासिक ३४ हजार ९ सय २ रुपैयाँ पाउने छन्।
प्राप्त दरखास्तमा मापदण्डको आधारमा सर्टलिस्ट तयार गरी अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ।
काठमाडौँ महानगरपालिकाको बासिन्दालाई प्राथमिकता दिइने, यस्तै प्रकृतिका जनगणना वा विभिन्न सर्वेक्षणमा कम्तीमा एक महिनाभन्दा बढी अवधि काम गरेको र महानगरपालिकाबाट विगतमा यही कार्यक्रमबाट छनोट भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।